काठमाण्डौ – युवा कवि प्रज्वल अधिकारी कविता वाचनका लागि युएई जाने भएका छन् । युएईमा रहेको सगरमाथा साहित्य प्रतिष्ठानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको “कविता समारोह युएई -२०२३” मा प्रमुख कविको रुपमा अधिकारीलाई निमन्त्रणा गरिएको हो । कार्यक्रममा अधिकारीसँगै युएईमा रहेर साहित्य सिर्जनामा सक्रिय रहँदै आएका अन्य सर्जकहरुको पनि विशेष प्रस्तुति रहने जनाइएको छ ।

आगामी जनवरी ८ तारिख (२४ पौष २०७९) आइतबार युएईको दुबई सहरमा हुँदैछ उनको कविता वाचन कार्यक्रम हुने भगको हो । दुबई स्थित नशा दोहोरी क्लवमा बिहान ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ ।

युएईमै रहेको सिर्जना वाचन डबली र अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स) सह-आयोजकको रुपमा सहयोग गर्नेछन ।

नेपालका विभिन्न स्थानमा भएका एकल र सामूहिक कविता वाचन तथा विभिन्न प्रतियोगितामा भेटिईरहने कवि अधिकारीको यो पहिलो विदेश भ्रमण हो ।

कार्यक्रममा दुई साहित्यिक कृतिहरुको लोकार्पण गर्ने कार्यक्रम पनि रहेको छ ।  कवि तथा प्राज्ञ वसन्तराज अज्ञातको हाइकु सङ्ग्रह “साँझको जून” र कथाकार सुनिता कन्दङ्वा राईको कथा सङ्ग्रह “तिउरी” विमोचन गरिने आयोजक प्रतिष्ठानका महासचिव डि एल घिमिरेले जानकारी गराए ।

“नेपाली भाषा साहित्यको संरक्षण, संवर्धन र विकासका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ २०६९ सालमा सगरमाथा साहित्य प्रतिष्ठान युएईमा स्थापना भएको थियो । स्याङ्जा स्थायी घर भई हाल दक्षिण कोरियमा रहँदै आउनु भएका कवि अजित उत्सव प्रतिष्ठानका अध्यक्ष हुन् ।

त्यसैगरी सिर्जन वाचन डबली पनि लामो समयदेखि युएईमा साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको अनौपचारिक साहित्यिक समूह हो । शाखाको रुपमा गत साल नोभेम्बरमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाज(ईन्स) गैर-साहित्यिक संस्था भए पनि यहाँको साहित्यिक गतिविधिमा सहकार्य गर्दै आएको छ । प्रतिष्ठानको मिडिया पार्टनरको भूमिकामा रहेको सेतोमाटो मिडिया प्रा. लि. यस कार्यक्रमको पनि मिडिया पार्टनरको रुपमा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर