काठमाडौँ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीमा पदरम विश्वकर्मा निर्वाचित भएका छन् । समाजका पूर्व अध्यक्ष समेत रहेका साहित्यकार पदम विश्वकर्मा अमेरिकाको कोलोराडो निवासी हुन् । विश्वकर्मा र वासिंगटन डिसीमा रहेकी साहित्यकार सीता पाण्डेबीच ट्रष्टीको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो ।

अनेसासको बोर्ड अफ ट्रष्टीमा कूल १२२ सदस्य रहेका छन् । जसमध्ये डिसेम्वर १२ र १३ मा भएको भर्चुअल मतदान प्रक्रियामा ११४ जनाले भाग लिएका थिए । जसमध्ये विश्वकर्माले ९५ र पाण्डेले १८ मत प्राप्त गरेकी थिइन् भने एक मत बदर भएको थियो ।

अनेसासको विधानको सातौँ संशोधन २०२१ अनुसार नौ सदस्यीय ट्रष्टीको कार्य समितिको उपाध्यक्षमा जापानका विष्णुप्रसाद घिमिरे र अमेरिकाका तीर्थ पाण्डे निर्वाचित भएका छन् । यसैगरी महासचिवमा अमेरिकाकै प्रकाश नेपाल,सचिवमा अमेरिकाकै नारायण अधिकारी र सदस्यहरुमा अमेरिका निवासी रश्मी भट्ट र धर्मराज कोइरालासहित नेपालका ऋषिराम बराल चयन भएका छन् । बोर्ड अफ ट्रष्टीको कार्यकाल चार वर्षको हुनेछ ।

उपाध्यक्षमा निर्वाचित दुई उपाध्यक्ष मध्ये एक जनाले प्रतिष्ठानको जिम्मेवारी सम्हाल्नेछन् । घिमिरेले यो जिम्मेवारी सम्हाल्नेछन् भने अर्का उपाध्यक्ष पाण्डेले पुरस्कार समितिको संयोजकको रुपमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । प्रतिष्ठान अन्तर्गत विभिन्न अनुवादक कृति प्रकाशन र अन्य जिम्मेवारी पर्दछन् भने पुरस्कार उपाध्यक्षले अनेसासले वितरण गर्ने विभिन्न पुरस्कारको व्यवस्थापन संयोजन गर्नेछन् । पाण्डे यस पहिले पनि अनेसासले वितरण गर्ने विभिन्न पुरस्कार समितिको जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।

हाल अनेसासको केन्द्रीय कार्य समितिको अध्यक्ष गोवर्द्धन पूजा रहेका छन् । अनेसासले विश्वका विभिन्न ४६ देशमा आफ्ना च्याप्टरहरु स्थापना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर