काठमाडौँ / मुक्तककार के.बी पारखीको मुक्तक कृति ‘मनको मन्दिर’ लोकार्पण भएको छ। काठमाडौँमा नेपाल मुक्तक प्रतिष्ठानको ब्यानरमा आयोजित समारोहमा प्रमुख अतिथि प्राज्ञ विवश पोख्रेल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार किशोर पहाडी ,प्रतिष्ठानका महासचिव रमेश पौडेल,मुक्तककार सुनिल अधिकारी ,मुक्तकसागर सम्पादक निशा के.सी,मुक्तककार तथा अनेसास पोर्चुगल अध्यक्ष साबी श्रेष्ठ लगायतका अतिथिहरूले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

प्राज्ञ विवश पोख्रेलले मनको मन्दिर मुक्तक सङग्रहले मानव जीवनका आरोह अवरोह ,प्रेम, बिछोड, जीवन दर्शन, बैदिशिक रोजगारभित्रका पिडा, रेमिट्यान्स, सामाजिक विकृति विसङ्गतीलगायतका सबै बिषयबस्तुलाई अटाएर लेखिएको मुक्तक सङग्रह नेपाली मुक्तक साहित्यमा एक उत्कृष्ट कृति बन्ने कुरामा विश्वास गरे।

मुक्तककार सुनिल अधिकारीले पारखीका मुक्तकहरूको पान्डुलिपी हेरेर मुक्तकहरू काँटछाँट गरी मुक्तक कृति प्रकाशनमा यो भूमिकामा रहन पाएकोमा खुशी ब्यक्त गर्दै मुक्तकहरू वजनदार,सुन्दर साथै उत्कृष्ट रहेको विचार ब्यक्त गरे।

साहित्यकार किशोर पहाडीले मुक्तक लेखनमा पारखीको उपस्थितिले मुक्तक कृतिमा नयाँ आयाम थप्नेछ भन्दै निरन्तर लेखनको शुभकामना ब्यक्त गरे।

प्रतिष्ठानका महासचिव रमेश पौडेलले रेडियो कार्यक्रम संञ्चालनको दौरानमा पारखी जस्ता मुक्तककार पाउन सफल भएकोमा गर्व गर्दै मुक्तकिलो बधाई दिए।

प्रतिष्ठानका सदस्य साहित्यकार राधेश्याम लेकालीले आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै मुक्तककार पारखीलाई बधाई दिए।

अर्की अतिथि मुक्तकसागर सम्पादक निशा केस्सीले पारखीको मुक्तक लेखन र समग्र मुक्तक विधाप्रतिको लगाब उत्साहप्रद रहेको समथै मुक्तकसागरको जापान प्रतिनिधिको रूपमा पाउँदा खुशी हुँदै शुभकामना ब्यक्त गरिन्।

हजार सपनाहरू पालेर हिँडेको छु यो शहरमा
आफैलाई भित्रभित्रै गालेर हिँडेको छु यो शहरमा
यो रहरको अनि यो शहरको तुलना गर्दा गर्दै मैले
निचोरेर कयौपटक मुटु फालेर हिँडेको छु यो शहरमा।

विकृति अनि विसङ्गतिलाई जरैदेखि तोडन पाए
सत्य र न्यायको फूलबारीको झार गोडन पाए
धेरै धनसम्पत्तिको लोभ,मोह छैन हजुर
बाँचुञ्जेल मित्रता र मर्दा मलामी जोडन पाए।

कार्यक्रममा मुक्तककार साबी श्रेष्ठ र कवि तथा मुक्तककार अमृत भटराईले कृतिबाट आफुलाई मनपरेका मुक्तकहरू वाचन गरेका थिएँ।

मुक्तककार केस्बी पारखीले मुक्तक प्रतिष्ठानको ब्यानरमा आफु नेपाल आउँदा यसरी विमोचन गर्न पाउँदा गौरवको अनूभुति भएको बताए।मुक्तक लेखनको अनुभव सुनाउँदै सकेसम्म मुक्तकमा आफ्नोपन दिन खोजेको र कृति पढेर सल्लाह सुझावलाई आत्मसाथ गर्दै अबको मुक्तक लेखनयात्रा बढने कुरा ब्यक्त गरे।

कार्यक्रमका सभापति तथा मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले कार्यक्रममा उपस्थिति महानुभावलाई धन्यवाद ब्यक्त गर्दै जापानलाई कर्मथलो बनाएर लामो समयदेखि मुक्तक लेखनमा सक्रिय पारखीको कृति प्रकाशनको दृष्टिकोणले ढिला आए पनि सुन्दर तथा उत्कृष्ट बनेर आएको भन्दै कृतिगत सफलताको शुभकामना ब्यक्त गरे।

कार्यक्रम साहित्यकार दिप्स शाहले सञ्चालन गरेकी थिइन्।मुक्तककार स्वयम् प्रकाशक रहेको सो कृतिमा विभिन्न भाव र बिषयका १५२ मुक्तक समावेश भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर