गौरादह – विश्वप्रसिद्ध अमेरिकी नाटक ‘टुवेल्भ एङ्ग्रीमेन’ को नेपालीकरण ‘बाह्र दुर्वासा’ नाटकले पूर्वी नेपालका रङ्गमञ्च पारखीहरूको मन जित्दै गएको छ । झापाको दमकस्थित कदम थिएटरले यो नाटक भदौ १० गतेदेखि मञ्चन गरिरहेको छ ।
भदौ २६ गतेसम्म दैनिक मञ्चन हुँदै आएको नाटक विद्यार्थी तथा कर्मचारीका लागि लक्षित गरी शुक्रबार र शनिबार दिउँसोसमेत देखाइने गरेको नाटकका निर्देशक सिजन दाहालले जानकारी दिए ।
दमकको वडा नं ९ स्थित निर्मार्णाधीन स्थलमा बनाइएको अस्थायी टहरालाई नाटकघरको स्वरूप दिएर यो नाटक देखाउन थालिएको हो ।
यसअघि समेत थिएटरले देखाएका नाटकले दमकमा क्रमिकरूपमा नाटकसँगै सिर्जनशीलताको विकास गर्दै आएको वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराईले जानकारी दिए। रेगाल्ड रोजको कथालाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गरेका हुन् ।
यसअघि मण्डला थिएटरमा पनि मञ्चन भइसकेको नाटकलाई स्थानीयकरण गरी सिजन दाहालले निर्देशन गरेका हुन् ।
नाटकमा व्यावसायिकरूपमा कलाकारितामा अभ्यस्त नभएकाहरू पात्रको रूपमा उभिएका छन् ।
नाटकमा दमक नगरपालिकाका पूर्वनगरप्रमुख रोमनाथ ओलीको चरित्रले ध्यान खिचेको छ । उनको अभिनय पनि व्यावसायिक कलाकारको भन्दा कम नदेखिएको नाटक हेरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
काठमाडौँको तुलनामा स्रोत साधन, नाटकघर, बिजुली, सजावट, कलाकार आदिको अभावका बीच पनि उत्कृष्ट नाटक हेर्न पाएको उनले बताए। चुनावी माहोलको व्यस्त समयमा पनि नाटक हेर्नकै लागि काँकडभिट्टाबाट दमकसम्म आएको महामन्त्री शर्माले जनाए।
दशकौँ चलचित्रमा खलनायकको अभिनय गरेर स्थापित हुनुभएका हेमन्त बुढाथोकीको अभिनयसँगको कारुणिक दृश्यले नाटकको बिट मार्दा धेरैका परेला भिज्ने गरेका छन् ।
नाटक हेरेपछि अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रञ्जित तामाङले नाटक अवधिभरि आफूलाई पात्र, विषय र प्रस्तुतिले बाँधेर राखेको प्रतिक्रिया दिए ।
कलाकार र रङ्गकर्मीहरूको यो प्रयासलाई स्थायी बनाउन सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने र आफूहरूले पनि ध्यान दिने नेताहरु शर्मा तथा तामाङले बताए ।
नाटकमा अनुभवी कलाकारहरु जीवन बराल, मौसम राना, सुवास खरेल, बलु राईसँगै सन्तोष दुलाल, राजेन्द्र अधिकारी, सुमन लिङ्देनलगायतको पनि अभिनय छ । यस्तै थिएटरका पूर्णकालीन कलाकार मनिक शङ्कर, सुजन भण्डारी, नवीन रिजाल पनि मञ्चमा उत्रिएका छन् ।
अभाव छिचोल्दै अभ्यास
नाटकघर तथा थिएटरका लागि दमक नगरपालिकाले जमिन उपलब्ध गराएको हो । स्थायी नाटकघर निर्माण सुरु भएर अलपत्र छ । कलाकारले महिनौँ खटिएर अस्थायी संरचना बनाएका हुन् ।
त्यसैमा दिनभरि कलाकार अभ्यास गर्छन् भने साँझमा नाटक देखाउँछन् । हरेक पेशा र क्षेत्रमा सङ्घर्ष, दुःख हुने नै भएकाले अहिले प्रारम्भिक चरणमा आफूहरूले कुनै दुःख नमानेको नाटक निर्देशक दाहालको भनाइ छ ।
तर तीनै तहका सरकारबीच समन्वय भएमा र स्रोत, साधन प्राप्त भएमा चाँडै निर्माणाधीन संरचना पूरा गर्ने आशा लिएको उनले बताए।
निरन्तर नाट्य अभ्यास र प्रस्तुति, कला शिक्षण, आवासीय अभ्यास तथा सुविधा, साहित्यिक एवं सिर्जनशील गतिविधि गर्ने लक्ष्यसहित थिएटर स्थापना गरिएको कलाकार एवं थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले बताए ।
प्रतिक्रिया
-
४
