काठमाडौँ / २०७८ सालको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यले प्राप्त गर्ने भएको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि कवि, गीतकार तथा रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई छनोट गरेको हो ।
शनिबार बसेको गुठीको बैठकले जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरेको छ । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन्। २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको हो ।
यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका आठ कृतिको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।
गत वर्ष नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा-श्री सम्मान प्रदान गरिएको थियो। त्यस्तै, लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार पाएका थिए।
मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा सम्पन भयो।
गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम चार हजार रुपैयाँ रहेकोमा २०७५ सालदेखि चार लाख रुपैयाँ भएको थियो ।
२०१३ सालमा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए।
गुठीले २०४५ सालमा स्थापना गरेको एक लाखको सम्मान ‘जगदम्बा–श्री’ सोही बर्षबाट प्रदान गर्न शुरू भएको हो।
‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई सम्मान गरिने पुरस्कार हो भने ‘जगदम्बा(श्री’ नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार हो।
प्रतिक्रिया
-
४
