सउल – अनेसास कोरिया च्याप्टरले आयोजना गर्दै आएको नियमित रचना वाचन कार्यक्रम ‘गजल मुशायरा’ सम्पन्न भएको छ । अनेसास कोरिया च्याप्टरले ‘काव्य –सुधा’ अन्तर्गतको १५१ औं शृङ्खला ‘गजल मुशायरा’ सम्पन्न गरेको हो ।
पाँच उत्कृष्ट गजलकारहरूका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको आयोजकले जनाएको छ । लामो समयपछि भौतिक रूपले सम्पन्न सो मुशायरामा आर.एन. अधिकारी, निर्दोष शिव, डीआर सूर्य, सुमन तिमलसिना र धीरेन्द्र स्पन्दनले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए ।
करिब ३ घण्टा लगातार सम्पन्न सो कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष ह्यारी बोण्डले गरेका थिए भने दक्षिण कोरियाका लागि श्रम सहचारी रमा भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले कोरियाको साहित्यिक माहोल उर्वर रहेको बताउँदै स्रष्टाहरूको सिर्जनाको तारिफ गरेकी थिइन् । सुशील अर्यालको संयोजनमा सम्पन्न सो कार्यक्रम च्याप्टरका महासचिव लोकराज न्यौपानेले सञ्चालन गरेका थिए ।

कोरिया च्याप्टरले च्याप्टरका संस्थापक तथा सल्लाहकार प्रमोद साराङ्गलाई अनेसास सम्मान, निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार डी।आर। सूर्यलाई अनेसास सक्रियता सम्मान तथा पुरस्कारका साथै च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार आर।एन। अधिकारीलाई अनेसास सम्मान अर्पण गरेको थियो भने वाचकहरूलाई प्रशंसाप्रत्र प्रदान गरेको थियो ।
कार्यक्रममा सुशील अर्याल, तिल्ता मगर, रुद्र कँडेल, विष्णु वाग्ले, महेश बिष्ट, अनुराग केसी, हिमलाल भट्टराई, कृष्ण भण्डारी, सागर रेग्मी लगायत अन्य साहित्यकारले पनि आआफ्नो रचना वाचन गरेका थिए ।
भाषासाहित्य, सङ्गीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले स्रष्टा सम्मान, भानु जयन्ती, लक्ष्मी जयन्ती, मोती जयन्तीलगायत विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा कविता प्रतियोगिताजस्ता सम्मेलनहरू गर्दै आएको छ ।
प्रतिक्रिया
-
४
