
काठमाडौँ – दिपा मेवाहाङ राईको पहिलो एकल कृति ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रमकाबीच उनको कविता सङ्ग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको हो ।
कार्यक्रममा साहित्यकार तथा लेखकहरू विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति राई र अर्पण उत्कर्षले कृतिको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै कवि प्रतीकले प्रेमका विविध पक्षलाई कविले भावमा प्रस्तुत गरेको र सङ्ग्रहका कविताहरू प्रेमिल रहेको बताए । त्यस्तै, बिना थिङले कवितामा कुनै वादहरू नमिसाइएको र कसैलाई प्रहार नगरिएको कारणले कविले वादहरूभन्दा माथि उठेर कविता लेखेको बताइन् ।
दिपाको कविता सरल र हृदय छुने र सम्बन्धहरूलाई जोड दिइएको पशुपति राईको भनाई छ । उनले भनिन् “यादको सन्दुकमा सम्बन्धनका कुरालाई जोड दिइएको छ । मायाको कुरा उठाइएको छ । आमाको प्रेम, बहिनीको प्रेम, प्रेमीको प्रेम, आफन्तको प्रेम, सम्बन्धका प्रेम समेटिएको छ ।”
नेपाली साहित्यको आन्दोलनलाई योगदान पुर्याउने कृति आएको भन्दै अर्पण उत्कर्षले सङ्ग्रहमा भएका छोटा कविताले मन, मुटु, मस्तिष्क जता पनि छुने बताए । फिनिक्स बुक्सले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहमा ४८ वटा कविता समावेश छन् ।
प्रतिक्रिया
-
४
-
१०