काठमाण्डौ – युवा लेखक यात्रीप्रकाश पाण्डेद्वारा रचित सईन उपन्यासमाथि काठमाण्डौमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठानमा साहित्यकारद्वय नयनराज पाण्डे र निलम कार्की निहारीकाले पुस्तक माथि परिचर्चा गरेका हुन् ।

कार्यक्रमका वक्ता नीलम कार्की निहारिकाले उपन्यासमाथि टिप्पणी गर्दै उपन्यास निकै सशक्त रहेको बताईन । दशवर्षे सशस्त्र द्वन्दको समयमा सुरक्षाकर्मी र छापामार दुवै पक्ष तर्फको पात्रको कथालाई तटस्थ बिन्दुमा बसेर कुनै पक्षको विरोध र समर्थनमा नरही शान्तिको पक्ष र द्वन्दको विरुद्धमा सइन उपन्यास लेखिएको उनले बताइन

उपन्यासमा सुरक्षाकर्मी युवक र छापामार युवतीको निकै कष्टप्रद तर उल्लेख्य प्रेम छ । भाषा, शैली, शिल्प र भावपक्षमा निकै सबल “सइन” उपन्यास विगत द्वन्दको ऐतिहासिक दस्तावेजको रुपमा आएको र उपन्यासका हरेक हरफहरुले पाठकको मन जित्ने कुरा उल्लेख गर्दै पुस्तक पुरै पढिसक्दा आफुले कतैपनि कमजोर पक्ष नभेटेको कार्कीको जिकीर थियो ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता नयनराज पाण्डेले लेखकले सइन उपन्यास लेखेर द्वन्द्वकालिन घटनाको भित्री मर्मलाई निकै मिहिन ढङ्गबाट प्रस्तुत गर्न सफल भएको बताए । निकै मनछुने हरफहरू कथाको सन्दर्भ सँग जोडेर प्रस्तुत गर्ने लेखकको लेखकिय शैलीले आफुलाई निकै तानेको र नेपाली उपन्यासका असल पाठकहरुले धेरै लामो समयदेखि खोजिरहेको उपन्यास बनेर सइन उपन्यास आएको भन्दै प्रशंसा गरे ।

कार्यक्रमको सहजीकरण कवि हेमप्रभास अधिकारीले गरेका थिए । उपन्यासलाई साँङ्ग्रिला पब्लिकेशनले बजारमा ल्याएको हो ।

 

कार्यक्रममा बोल्दै उपन्यासकार यात्री प्रकाश पाण्डे 

सइनमाथि गरिएका केही टिप्पणीहरू –

-आफू हारेर पनि प्रेमलाई जिताउँछन्, जितेर पनि प्रेमलाई हराउँदैनन् !

प्रेम गरेर पनि एकअर्कालाई गोलि हान्छन्, गोलि हानेर पनि एकअर्कालाई प्रेम नै गर्छन् !

एकअर्काविरुद्द नै युद्द गर्छन्, देखावटी रुपमा मार्न खोज्छन् ! थाहै नदिइ एकले अर्कालाई बचाउँछन् तर दुवैले दुवैलाई थाहा दिदैंनन् ,

प्रेम गरिसकेपछि प्रेमिले प्रेमिकालाई वा प्रेमिकाले प्रेमिलाई मार्न सजिलो होला तर माया मार्न निकै कठिन हुने रहेछ !

— समथरहरुमा लर्बराउँदै हिँड्नेहरुभन्दा भीर र पहराहरुमा सम्हालिएर हिँड्नेहरु नै सुरक्षित हुँदा रहेछन् !

— दुस्मननै भएपनी कसैलाई घात गरेर बाँच्नु र देशलाई घात गरेर मर्नु एउटै हो, जसकारण आत्मामा कहिल्यै शान्ति मिल्दैन !

— लड्ने आँट र साहस हुँदाहुँदै पनि लडाइँमा गोलि सकिँदाजती मर्नु कहिल्यै नलाग्दोरहेछ

सडकमा हिँड्दैगर्दा लाग्यो- मैले फेर्ने सासले पनि कतै सुराकी त गरिरहेको छैन? आफैंलाई न्यानो स्पर्श गरिरहेको घामले पनि कसैको एजेण्टको काम गरिरहेको त छैन ? चरीहरु पनि कतै मेरै सुराक गर्दा आकासमा ओहोरदोहोर गरिरहेका त छैनन् ? – युद्दमा दुश्मन त परको कुरा आफ्नाहरुकै भर नलाग्ने रहेछ ! 

प्रतिक्रिया

सम्बन्धित खवर