काठमाडौँ – क्रान्तिकारी तथा देशभक्त प्रजातन्त्रवादी राजनीतिज्ञ एवं प्रथम नेपाली गद्यकवि गोपालप्रसाद रिमालको १०५ औँ जन्मजयन्तीका अवसरमा कवि तथा पत्रकार श्याम रिमालद्वारा लिखित कवितासङ्ग्रह ‘नदी बग्दैन’ पत्रकारमाझ बुधबार विमोचन गरिएको छ । वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमाल, राससका अध्यक्ष श्यामल अधिकारी, साहित्यकार युयुत्सु आरडी शर्मा, साहित्यिक पत्रकार प्रवीण जोशी, सञ्चारकर्मी श्याम गोयन्कालगायतले लोकार्पण गर्नुभएको कृति जीवन र जगत्, त्रिशूली र तीर्थादि तथा जेन र सुक्ति गरी तीन खण्डमा विभाजित छ जसमा १७७ कविता सङ्गृहीत छन् ।
सो अवसरमा इञ्जिनीयर तथा कलाकार रिमाल, साहित्यकार श्यामल र अनुवादक शर्मा, पत्रकार जोशी, नेपाल ललितकला पत्रकार समाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायतले राजनीतिज्ञ तथा कवि रिमालको योगदानको प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले पत्रकार श्यामका कवितामा राष्ट्रियता र प्रगतिशील दृष्टिकोण व्यक्त भएको बताउनुभयो । पत्रकार श्यामका यसअघि ‘एउटा काँडा बिझ्दा’ गीत सङ्ग्रह(२०४८) तथा ‘त्रिशूलीको किनाराबाट’(२०६६) र ‘बारपाक’(२०७४) कवितासङ्ग्रह प्रकाशित छन् ।
राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसादका कृतिहरूको समग्र प्रकाशन गर्ने तयारी उहाँका सुपुत्र मदनले गरिरहनुभएको तथा पत्रकार जोशीले साहित्यिक पत्रिका ‘शृङ्खला’को गोपालप्रसाद विशेषाङ्क प्रकाशन गर्ने योजना बनाउनुभएको थाहा भएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर