पोखरा – नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आफ्नो प्रत्येक कार्यकालमा घरदेशमा पनि एउटा कार्यक्रम गर्ने नीति रहेको छ । त्यसै अनुरूप जेठ १५ गते साहित्यको उर्वरभूमि, मुक्तकको राजधानी मानिने सुन्दर शहर पोखरामा एक बृहत् कार्यक्रमको आयोजना गरी दुई कृतिहरूको लोकार्पण गरिएको छ।

पोखरा न्युरोडमा स्थित हिमालय रिडर्स कर्नरको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाका अध्यक्ष आर एन अधिकारीकृत मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र संस्थाकै पूर्व सहसचिव डीआर न्यौपाने ‘सूर्य’को ‘सम्बोधन’ मुक्तकसङ्ग्रहको लोकार्पण एवम् बृहत् मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक ह्यारी वोण्डको सभापतित्वमा सप्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ /साहित्यकार सरुभक्त श्रेष्ठ र विशेष अतिथिका रूपमा नेपाल मुक्तक प्रतिष्ठान काठमाडौंका अध्यक्ष रामकाजी कोने, वरिष्ठ लोकगायिका/ साहित्यकार हरिदेवी कोइराला र साहित्यकार महेन्द्रमान शाक्यको उपस्थिति थियो।

संस्थाका कोषाध्यक्ष आर पी सी संगमद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा दिपक राज बन्जाडेले स्वागत मन्तव्य दिनुभएको थियो। देशका विभिन्न ठाउँहरूबाट विशेष वाचकको रूपमा आएका मुक्तककारहरू रामचन्द्र शर्मा, भोजराज घोडासैनी, सरला लामिछाने सरु, अनिता दाहाल र कल्याण सापकोटाले आफ्ना दमदार मुक्तकहरू सुनाएर कार्यक्रमको शोभा बढाएका थिए । उक्त कार्यक्रममा कार्यक्रममा करिब ५० जना स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए भने करिब १०० जना स्रष्टाहरू प्रत्यक्ष उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि सरूभक्त श्रेष्ठले नेपाल मुक्तक प्रतिष्ठान कोरिया नेपाली मुक्तकको विकासमा दरिलो खम्बा भएको उल्लेख गर्दै मुक्तकको विकासमा युवाहरूले देखाएको योगदानको खुलेर प्रशंसा गरेका थिए । विशेष अतिथि रामकाजी कोनेले मुक्तक आफैमा सानो आकारको विधा भएर पनि अन्य विधा जत्तिकै ल्याकत राख्ने विधा भएको बताएका थिए । साथै दुई मुक्तक कृति र कृतिकारलाई बधाई दिएका थिए । हरिदेवी कोइरालाले परदेशमा रहेर पनि नेपाली मुक्तकको विकास र विस्तारमा निकै ठुलो योगदान गरिरहेको मुक्तक प्रतिष्ठान कोरियाको प्रसंशा गर्दै यी दुई कृतिले नेपाली मुक्तकको क्षेत्रमा ठुलो हलचल पैदा गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर