काठमाडौँ – सगरमाथा साहित्य प्रतिष्ठानले कवि राजेन्द्र तारकिणीको सहयोगार्थ सुरु गरेको विश्वव्यापी अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म देशविदेशमा रहेका शुभचिन्तकहरुमार्फत करिब ३ लाख बराबर रकमको बोलकबोल आएको छ । यसमध्ये सम्बन्धित खातामा पठाउने क्रम पनि जारी छ ।
हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन तथा पत्रकारितामा विगत एक दशकदेखि सक्रिय छन् । उनको श्रवणशक्ति पुनः प्राप्तीका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कार्यसमिति युएईले “आर्थिक सहयोग संकलन अभियान” चलाएको हो ।
प्रतिष्ठानले उनको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ । यसअघि अभियान चलाउने समाचार प्रकाशित भएको थियो, त्यसयता ४ दिनको अवधिमा देश(विदेशमा रहेका ७० जनाबाट २ लाख ७५ हजारभन्दा बढी रकम बराबरको सहयोग बोलकबोल भएको हो ।
केही शुभचिन्तकले नाम उल्लेख गर्न नचाहेको र अन्य छुटेका तथा नयाँ आउने नामहरू क्रमशः अपडेट गरिँदै जाने प्रतिष्ठानले जनाएको छ । विभिन्न देशमा रहेका साहित्यप्रेमी तथा सहयोगी व्यक्तित्वहरुले यसबारे चासो राख्ने क्रम समेत बढेको छ ।
काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा।डा। रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उनको अप्रेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ ।
डा। प्रधानाङ्गका अनुसार कवि तारकिणीको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उनको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।
‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १९ लाखजति खर्च हुने बताइएको छ । यसमा नियामानुसार हुने सरकारी सहुलियतबाहेक करिब १२ लाख रकम अपुग भएकोले उक्त सहयोग अभियान सुरु गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले बताए।
सामान्य आर्थिक अवस्थाका तारकिणीले उक्त सबै खर्च धान्न नसक्ने भएका कारण आर्थिक सहयोगका लागि प्रतिष्ठानले अग्रसरता लिएको उनको भनाइ छ ।
यो प्रविधिबाट उपचार गराउँदा खर्चिलो रहेको बताइएको छ । तर यसबाहेक अन्य विकल्प पनि छैन । वार्षिक रूपमा नियमित म्यापिङ तथा अन्य थेरापी, मर्मत–सम्भारवापत कम्तीमा पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने त्रि.वि. शिक्षण अस्पतालकै मुख्य श्रवण विशेषज्ञ डा। सुरेश्वर लाल कर्णले बताएका छन् ।
कवि तारकिणीको श्रवणशक्ति प्राप्तिका लागि चालिएको यो अभियानमा स्वेच्छिक रूपमा सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाहरूले तल उल्लेखित विवरणमा सम्पर्क गर्न र सहयोग रकम पठाउन सकिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया
-
४
