गलेश्वर – म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् ।

गाउँकै माटोमा तरकारी, फलफूल र पशुपंक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी घिमिरे दाजुभाइमात्र होइनन्, जिल्लामा कैयौँ युवाहरू छन् ।

रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौँ युवा विदेशी भूमिमा जाने गर्दछन् ।

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् । तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ ।

आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ४७ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् ।

पाँचवटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् ।

काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा रु चार लाखभन्दा बढी कमाई गर्दै आएको बताए ।

“विदेशबाट फर्किएको ९ वर्ष भयो । त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भएँ”, उनले भने, “आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ ।”

गाउँमै तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गरेको घिमिरेले बताए ।

“आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन”, उनले भने ।

त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन पनि गरेका छन् ।

१० रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको घिमिरेले बताए ।

तरकारीसँगै उनले गाउँमा धान, गहुँ, मकै, कोदोआदि पनि गरेको बताए ।

उनले भने, “१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ, तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ ।”

अहिले मानिसहरूले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको घिमिरेको भनाइ छ ।

आफ्नो गाउँ ठाउँमा कृषि गर्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

गत वर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा पैसा तिरेर टनेल बनाएको हो, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको घिमिरेको गुनासो छ ।

स्वदेशमै केही गर्न चाहने मानिसहरूका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने किसानको भनाइ  छ ।

त्यसैगरी १७ वर्ष भारतीय सेनामा काम गरी सेवा निवृत्त हुनुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले सुरु गरेको कालिजपालन यस क्षेत्रकै रहरलाग्दो व्यवसाय बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यावसायिकरुपमा नै कालिजपालन सुरु गरेका घिमिरेले एक वर्षको अवधिमा राम्रो आम्दानी मात्रै गरेका छैनन्, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन् ।

रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले २०० कालिज हुर्कंदै छन् भने यस अवधिमा उनले ६ सय वटा कालिज बिक्री गरिसकेको जानकारी दिए ।

लामो अध्ययनपछि उनले फापरखेतमा कालिज पाल्ने सोच बनाएका हुन् ।

“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ४० वर्षीय फरासिला घिमिरेले भने, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउँदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”

म्याग्दीमा २०० भन्दा बढी युवा विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।

“युवामा बल्ल व्यावसायिक कृषिका बारेमा नयाँ सोच आउँदैछ,  नयाँ योजनामा युवा किसान लागेका छन्, परिणाम आउन भने केही समय कुर्नैपर्छ”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भने।

विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले रु डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् ।

विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानामार्फत अक्षयकोषका लागि विद्यालयमा रु डेढ लाख सहयोग हस्तान्तरण गरेको हो ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा प्रजिअ ढकालले समुदायको सक्रियताले नै विद्यालय बन्ने बताए ।

ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचारबाहेक विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत साथ र सहयोग रहेको बताए ।

सोही अवसरमा १० हजारको स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । यसअघि सोही विद्यालयमा पत्रकार धु्रवसागर शर्माले आफ्नी स्व। छोरी विनिता शर्माको स्मृतिमा रु एक लाखको विनिता शर्मा स्मृति अक्षयकोष स्थापना गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक सङ्कलन अभियानका संयोजक कृष्ण थापालगायत स्थानीयवासीको उपस्थिति थियो ।

संस्थामार्फत यसअगाडि पाउद्वार माविमा समेत स्व। होमप्रसाद तिलिजाको स्मृतिमा एक लाख ५० हजारको कोष स्थापना गरेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर रिजाल, प्रधानाध्यापक छेमप्रसाद पुनलाई स्वागत र सञ्चालन शिक्षिका घनदेवी घर्तीले सञ्चालन गरेका थिए ।

२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर