काठमाडौँ – काठमाडौँ मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी प-यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे ।

चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो ।

विशेषगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न तेस्र्याउँदै उपभोक्ताले चासो राखे । जाडोको समयमा सकेको जति बिजुली चलाऊ भन्दै आएको प्राधिकरणले किन बिजुली काटियो भन्ने बारेमा उपभोक्तालाई जानकारी त दियो, तर सबैले थाहा पाउन सकेनन् । वर्षात्का काराण बुधबार २०० मेगावाट बराबरको बिजुली प्रणालीले उपलब्ध गराउन कठिनाइ भयो । त्यसकारण उपभोक्तामा के भएको होला वा के गरेको होला भनेर चिन्ता वा चासो व्यक्त हुनु स्वभाविक नै थियो ।

आम रूपमा चासो व्यक्ति भए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने “एकै पटक धेरै स्थानमा ट्रान्सफर्मरहरूमा समस्या देखा परेकाले केही जटिलता पैदा भयो । पानीका कारण कतिपय स्थानमा समयमै मर्मत गर्न पनि कठिनाई भयो । त्यसकारण उपभोक्ताको तहबाट चासो हुनु स्वभाविक नै हो ।”

उनले बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको जानकारी दिए । प्राधिकरणको आग्रह अनुसार नै बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा केही स्थानमा समस्या उत्पन्न भएको र त्यो समस्या आजदेखि समाधान हुने उनको भनाइ छ ।

उनले बिजुलीको आपूर्ति नभएर वा नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि उपलब्ध गराउन सक्ने अवस्थामा प्राधिकरण रहेको बताए । उनले काठमाडौँ उपत्यका भित्रको बिजुलीको माग व्यवस्थापनका लागि विभिन्न स्थानमा नौ वटा सबस्टेशन निर्माणको क्रममा रहेकाले ती सम्पन्न भएपछि दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध गराउन सकिने तथ्याङ्क पेश गरे।

“दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकामा २ हजार मेगावाट बराबर बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ”, उनले भने, “केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले समस्या आइलागे ।” उनले पछिल्ला केही दिनदेखि आपूर्ति व्यवस्थापनमा समस्या आएको जनगुनासो आएको र त्यो देशभर नभई काठमाडौँमा मात्रै भएको दावी गरे ।

उनले भन, “यो सप्लाइको कारणले उत्पन्न भएको समस्या होइन । सप्लाई नपुगेकाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौँका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो ।” उहाँले साँझको समयको अधिकतम माग हाल एक हजार ७०० मेगावाट र बिहान एक हजार ५५० मेगावाटदेखि एक हजार ६०० मेगावाटको हाराहारीमा रहेको जानकारी दिए ।

माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बिहान र बेलुकाको अधिकतम माग व्यवस्थापनमा सहज भएको जानकारी दिँदै उनले बढी माग हुने साँझ बिहानको समयमा व्यवस्थापन गर्न सहज भएको बताए । राजधानीमा जाडो बढेपछि बिजुलीको माग बढ्नु स्वभाविक रहेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उपत्यकामा नै ८० देखि १०० मेगावाट बराबरको माग बढ्न गएको उनले विवरण पेश गर्नुभयो । वर्षातका कारण केही स्थानमा बिजुलीको माग अप्रत्यासित रूपमा वृद्धि भएकाले केही जटिला देखिनु स्वभाविक रहेको उनको भनाइ छ ।

प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ७०० वटा ट्रान्सफर्मर छन् । हाल मुख्यगरी वितरण ट्रान्सफर्मरमा समस्या देखिएको हो र ओभरलोड भएको हो । उनले भने “लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मर पछि पनि घरमा लगिएका तारमा आगलागी भएकाले समस्या देखा प¥यो ।”

उनले काठमाडौँ उपत्यकामा ट्रान्सफर्मर परिवर्तन भइसक्ने हुनाले बिजुलीको समस्या नहुने जानकारी दिए । जग्गाको अभाव तथा केही स्थानमा स्थानीयले सबस्टेशन राख्न नदिएको तथा ट्रान्सफर्मर समेत राख्न नपाएकाले पनि समस्या पैदा भएको उनको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर