काठमाडौँ – कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै रु ३५ करोड ८० लाख घर कर्जा प्रवाह गरेको छ ।

घर कर्जाअन्तर्गत सञ्चयकर्ताको घर निर्माण तथा मर्मतका लागि यो कर्जा प्रवाह गरिएको कार्यालयले जनाएको छ ।

यो कर्जाअन्तर्गत घर निर्माणका लागि २१५ सञ्चयकर्तालाई रु ३२ करोड ६६ लाख प्रवाह गरेको छ भने घर मर्मत सापटीतर्फ २६ सञ्चयकर्तालाई रु तीन करोड १३ लाख ८५ हजार प्रदान गरिएको हो ।

धनगढी शाखाका प्रमुख राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको आवास व्यवस्था गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले घर सापटी प्रवाह गरिरहेको बताए ।

शाखाले कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा घरजग्गा धितो लिइ घर सापटी प्रदान गर्ने गरेको छ ।

सुदूरपश्चिम क्षेत्रका अन्य जिल्लामा समेत घर सापटीको क्षेत्र विस्तार गर्ने कोषको योजना रहेको छ । उनले भने, “क्षेत्र विस्तार गर्ने योजना रहे पनि चाहिने जनशक्ति नहुँदा योजना कार्यान्वयन हुन सकिरहेको छैन ।”

कोषले सञ्चयकर्ताको पति वा पत्नीका नाममा रहेको जग्गा र उक्त जग्गामा रहेको घरसमेत धितो राखी घर निर्माण गर्न, घर खरिद गर्न वा तल्ला थप गर्ने वा घर मर्मत गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्ने गरेको छ ।

घर सापटीका लागि खरिद लागत र धितो मूल्याङ्कनमा नबढ्ने गरी बढीमा १५ वर्षको तलवमान बराबरको रकम वा अधिकतम रु एक करोडसम्म सापटी लिन सकिने बताइएको छ ।

त्यस्तै घर मर्मतका लागि अधिकतम् रु २५ लाखसम्म सापटी पाइने व्यवस्था कोषले गरेको छ । पति र पत्नी दुवै जना सञ्चयकर्ता भई एउटै धितोले खाम्ने अवस्थामा पति, पत्नी दुवै जनाको तलवमानबाट सापटी दिन सकिने प्रावधानसमेत छ । घर मर्मतका लागि अधिकतम रु २५ लाखसम्म सापटी पाउने व्यवस्था छ ।

“कर्जाको दुरुपयोग नभएको दाबी गर्दै न्यून बेतनभोगी कर्मचारीको घर बनाउने सपनालाई कोषको सापटीले पूरा गरेको छ”, केसीले भने, “लकडाउनको समस्याका बीच पनि ७० प्रतिशतभन्दा बढी साँवा ब्याज असुल हुनुलाई सकारात्मक मान्न सकिन्छ ।”

कर्जा लिने ऋणीले गत आर्थिक वर्षमा रु २८ करोड ६५ लाख ६१ हजार साँवा ब्याज बुझाएको बताइएको छ ।

सामाजिक सुरक्षा सुविधाबाट एक हजार ४०० लाभान्वित

कोषले प्रसूति तथा शिशु स्याहार खर्चवापत एक हजार ३३५ जना सञ्चयकर्तालाई रु एक करोड १२ हजार ५०० प्रवाह भएको जनाएको छ ।

दुर्घटना क्षतिपूर्ति वापत आठ जनालाई रु १६ लाख भुक्तानी गरिएको छ भने सेवा अवधिमा मृत्यु भएका ६९ जना सञ्चयकर्ताका परिवारलाई काजकिरिया अनुदानवापत रु २७ लाख ६० हजार प्रदान गरिएको छ ।

आव २०७७/०७८ मा सेवा अवधिमा मृत्यु भएका निजामती तर्फका २४ जना सञ्चयकर्ताका हकवालालाई कल्याणकारी रकमवापत रु ३६ लाखसमेत प्रदान गरिएको छ । यस अवधिमा दुई हजार १७४ जना अवकास प्राप्त सञ्चयकर्तालाई रु ३८ करोड ९५ लाखसमेत भुक्तानी गरिएको छ ।

कोषले वार्षिक बचतबाट सञ्चयकर्ताका लागि विभिन्न सामाजिक सुरक्षासम्बन्धी सुविधा प्रदान गर्नुका साथै आर्थिक आवश्यकता पूरा गर्न सापटी प्रदान गरिरहेको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत काजकिरिया अनुदान खर्च, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु हेरचाहलगायतका शीर्षकमा खर्च उपलब्ध गराइरहेको छ ।

सञ्चयकर्ताको स्वास्थ्योपचार शीर्षकमा साधारण रोगको उपचारका लागि प्रत्येक आर्थिक वर्षमा रु एक लाखसम्म र घातक रोगको उपचार गर्न सेवा अवधिमा अधिकतम रु १० लाखसम्म सोधभर्ना प्रदान गरिरहेको छ ।  कोषले सञ्चयकर्तालाई सहुलियत दरमा विषेश सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटीलगायतका कर्जा प्रदान गरिरहेको छ ।

सामाजिक सुरक्षा सुविधाका रुपमा काजकिरिया खर्च, दुर्घटना क्षतिपूर्ति कर्मचारी कल्याण बीमा, सुत्केरी तथा शिशु स्याहार सुविधा, स्वास्थ्योपचारलगायत सेवा प्रदान गरिहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर