सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायु न्यायका लागि रणनीति ढङ्गले काम गर्ने भएको छ । जलवायु न्यायका लागि जनजागरण ल्याउने, अनुकूलनका कार्यक्रमका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँपालिका अध्यक्ष मिङमारछिरी शेर्पाले हिमालमा हिउँ कम पर्न थालेको, खानेपानी सङ्कट देखिएको, बालीनालीमा समस्या भएको भन्दै अनुकूलनका कार्यक्रम जरुरी भएको बताए। उनले स्थानीयमा देखिएको समस्या हल गर्न गाउँपालिका तहबाट विभिन्न काम हुँदै आएको जानकारी गराउँदै साझेदारी संस्थासँग मिलेर परिणाममूलक काम गर्नेसमेत जानकारी दिए।

यसका लागि गाउँपालिकाले जलवायु न्यायमा काम गर्दै आएको संस्था साथसाथैसँग काम गर्दै आएको छ । खुम्जुङमा आयोजित एक कार्यक्रममा गाउँपालिकाले साझेदारी संस्थासँग भएको समझदारीपत्रमा हस्ताक्षर गरी आदान–प्रदानसमेत गरेको छ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर नेतृत्वको टोलीबीच गाउँपालिकाले साझेदारी गरेको हो ।

सम्झौतापत्रमा गाउँपालकाका तर्फबाट उपाध्यक्ष टासिल्हमु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरेका छन्। जलवायु परिवर्तनले स्थानीयमा पु¥याएको असर विषयमा अध्ययन, अनुसन्धान र विकासका काममा सहकार्य हुने सम्झौतापत्रमा उल्लेख छ ।

सोलुको उच्च हिमाली भेग खुम्जुङमा आयोजित उक्त कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले गाउँपालिकाले स्थानीय जनतालाई जलवायु न्यायका लागि रणनीतिक काम थालेकामा प्रशंसा गर्दै त्यसको कार्यान्वयनका लागि संसद्बाट खेल्नुपर्ने भूमिकाका लागि आफू सदैव तयार रहेको बताए ।

जलवायु परिवर्तनले सर्वोच्च शिखर सगरमाथालगायत हिमालमा हिउँको मात्रा क्रमशः कम हुँदै गएको, त्यसले पर्यटन र कृषि क्षेत्रमा असर पु¥याएपछि गाउँपालिकाले रणनीतिक विकासको कामलाई अघि बढाएको छ ।

सोलुखुम्बुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मानवीर राईले जलवायु परिवर्तनले यस क्षेत्रमा विविध समस्या देखिएको र त्यसले स्थानीयवासीलाई प्रत्यक्ष प्रभाव पारेकाले जलवायु न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। “यो खुम्बुवासीको मात्र दुःख होइन, यसले देशलाई नै असर पार्ने भएकाले विकासका लागि साझेदारी हुनुुपर्छ”, सांसद राईले भने।

गाउँपालिका उपाध्यक्ष शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्ने बताए ।

जलवायु परिवर्तनले स्थानीय जनजीवन खासगरी महिलामा पारेको असरमा अध्ययन गर्दै आएको संस्था साथसाथैकी अध्यक्ष कार्कीले खुम्बु क्षेत्रको समस्यालाई गहनरूपमा अध्ययन गरी सङ्घीय सरकार र अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे ध्यानाकर्षण गरिने दृढता राखिन् ।

त्यस क्षेत्रमा जलवायु परिवर्तनका असरलाई स्थलगत बुझ्न र प्रभावित बासिन्दाका समस्या केलाउन साथसाथैले नारी दिवसका सन्दर्भ पारेर लुक्लाबाट खुम्जुङसम्म छ दिनको पदयात्रा गरेको हो ।

पदयात्रामा उपसभामुख रानामगर, निवर्तमान परराष्ट्रमन्त्री एवं राष्ट्रियसभा सदस्या डा विमला राई पौडेल, कृषि मन्त्रालयका सहसचिव डा सवनम शिवाकोटी, विज्ञहरू डा माधव कार्की, डा यमुना घले, सरु श्रेष्ठ जोशी, दिपीका दाससहित १६ जनाले पदयात्रा गरेका हुन् ।

समझदारीपत्रमा खुम्बु क्षेत्रमा जलवायु परिवर्तनले पारेका असर विषयमा अध्ययन, अनुसन्धान र विकासका कामका साथै जलवायु परिवर्तनले पु¥याएको हानी–नोक्सानी, जलवायु न्याय, शिक्षा, स्वास्थ्य, स्थानीय पर्यटन, महिला, बालबालिकासहित जनजीवनमा पारेको असरबारे सहकार्य हुने उल्लेख छ ।

जलवायु न्यायका लागि जनजागरण ल्याउने, प्रचार–प्रसार गर्ने अनुकूलनका कार्यक्रमका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत काममा सहकार्य हुने उल्लेख छ ।

यसअघि नै साथसाथै संस्थाले सिन्धुपाल्चोकको विकट हेलम्बु गाउँपालिकासँग सहकार्य गरी जलवायु न्यायका विभिन्न काम गर्दै आएको छ । केही महिनाअघि इजिप्टमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय महासम्मेलनमा साथसाथै संस्थाले नेपालमा हेलम्बुसहितका क्षेत्रमा भएका विपत्तिबारे विशेष प्रस्तुति राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर