काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।​

हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । एलपी ग्याँसको मूल्य भने घटेर आएको हो ।​

निगमकाअनुसार समायोजनपछि १५ दिनको जम्मा घाटा करिब २ अर्ब ६० करोडबाट ३७ करोडले घट्नेछ । यद्यपि समायोजनपछि पनि अझै करिब २ अर्ब २३ करोड रुपैयाँ निगमलाई घाटा हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको छ ।

यता मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ, आन्तरिक हवाई इन्धनतर्फ १०.५० रुपैयाँ तथा बाह्य हवाई इन्धनतर्फ ३२.७२ रुपैयाँ फाइदा रहेको छ । एलपी ग्यासमा भने प्रति सिलिन्डर ५६०.०९ रुपैयाँ घाटा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर