तनहुँ – कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थालेका हुन् ।

करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गरेका उनले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिकरूपले उखु र मेवा खेतीतर्फ लागेका हुन् ।

व्यास नगरपालिका–११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक रु डेढ लाख भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गरेका हुन् ।

करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको किसान उनले बताए ।

सुरुमा रु नौ लाख लगानी गरी व्यवसाय थालेको बताउनुहुने लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिए ।

पाँच महिनाको अवधिमा उखु करिब रु डेढ लाख र मेवा रु ५० हजारभन्दा बढीको बिक्री गरिसकिएको उनको भनाइ थियो । चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ ।

उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ ।

किसान लामाको व्यास नगरपालिका–३ अनशन चौतारीमा लामा फलफूल तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ ।

सुरुमा दुई हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ ।

एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुई वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिए ।

फार्ममा रहेका कामदारलाई काम गर्न सिकाउनाका साथै आफू पनि दैनिक काम खट्ने गरेको उनले बताए । अहिले दैनिक चार कामदारले रोजगारी पाइरहेका छन् ।

बाबु जयबहादुरले भने, “फार्मको रेखदेखदेखि काम गर्नेसम्मका जनशक्ति राखिएको छ ।” दुई छोरामध्ये एउटा छोरा होटल र अर्का छोरा फलफूल तथा जुस पसल सञ्चालन गर्दै आएपछि फार्म आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएको उनले बताए ।

उखु प्रतिढकको रु ५० र मेवा प्रतिकिलो रु ८० मा बिक्री गर्ने गरिएको छ । उखु धादिङको नौबिसे र मेवा भारतबाट ल्याएर व्यावसायिक रुपमा खेती गरिएको हो ।

उक्त रेडलेडी नाउँको मेवाको बीउ एक किलोग्रामको रु एक लाखसम्म मूल्य पर्ने भएकाले महँगो रहेको जयबहादुरको भनाइ थियो ।

उखु जन्डिस रोगका लागि उपयुक्त हुने भएकाले त्यसलाई पेलेर करिब एक सय लिटर खुदो बनाएर राखिएको छ ।

लामाले भने, “खुदो प्रतिमाना रु ६०० मा बिक्री गर्ने गरिएको छ ।” फार्ममा उखु र मेवाको खेतीका साथै भैँसी कुखुरा र पानीहाँस पाल्ने कार्य पनि अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर