भक्तपुर – कृषि मल तथा बीउविजन बिक्रीमा कृषि सहकारी तथा व्यवसायीले मनोमानी मूल्य लिएको पाइएको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वले आज मल तथा बीउविजन पसलमा गरेको अनुगमनका क्रममा व्यवसायीले मनोमानी मूल्य लिएर बिक्री गरिरहेको पाइएको हो ।

समितिले स्थानीय भुवनेश्वर कृषि सहकारी संस्था, सिद्धि कृषि सहकारी संस्था, न्हुन्छेभक्त कुटुवाजू, पासा कृषि सामग्री तथा बीउविजन भण्डार, ह्युमिक गोल्ड मल, छुमा गणेश कृषि सेवालगायतमा अनुगमन गरी पसलमा मूल्य सूची राखेर नगरपालिकाले निर्धारण गरेकोभन्दा बढी मूल्य नलिन र तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिएको संयोजक गोराले जानकारी दिए ।

अनुगमनमा ह्युमिक गोल्ड मल पसलमा मिसावट गरेको मल बिक्री गरेको पाइएको छ । उक्त पसलमा मिसावट १३ किलो मल, म्याद नाघेका कृषि बीउ एवं औषधि निम, एग्रिनिम, आक्ट, अल्गा, विन चि विन, डिफेन्स, एग्रोमिक्स, चुगंस्टोप, कार्बन, अग्रीसिन, डेभिस्टिन, स्टिको गम, सैजोक्स, नेमोकोल, ऊर्जा मल, मुरियम तानलगायत दर्जनौँ पाकेट जफत गरी नष्ट गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा चार वटा मल तथा बीउविजन पसलमा अनुगमन गरेको थियो ।

मल खुद्रा बिक्री गर्दा महङ्गो गरी बढी मूल्य लिएको र म्याद नाघेको बीउविजन र विषादी बिक्री वितरण गरेको गुनासो आएकाले बजार अनुगमन गरेको उनको भनाइ छ । म्याद नाघेको विषादी कम्पनीले फिर्ता नलिने र नष्ट गर्न पनि समस्या भएकाले सरकारले म्याद नाघेको विषादी नष्ट गर्न पहल गर्नुपर्ने गुनासो मल तथा बीउविजन पसलेको छ ।

समितिले माजसु कृषि सहकारी संस्था, छुमा गणेश एग्रो सेन्टर, प्रगति एग्रो बीउ भण्डार, जय महाकाली बीउविजन भण्डारलगायत अनुगमन गर्दा मल बिक्री गर्दा बिल नदिने, नवीकरण नगरेको, नगरपालिकाले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको, म्याद नाघेका मल, बीउविजन र विषादी बिक्री गरेको पाइएको जनाएको छ ।

अनुगमनमा, म्याद नाघेको बीउविजन, मल र विषादी ग्रास, धानको बीउ डि वाइ १८, धनीयाँ, चमसुरको बीउ, मार्फा रायोको बीउ, फर्सीको बीउ, एसिमेटाप विषादी, जेमिन, साइबोल्ट, कोनिका, उथान एम ४५, जि तुफान, रोकोलगायत जफत गरी नष्ट गरिएको पनि संयोजक गोराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर