तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान वापत रु १८ लाख वितरण गरिएको छ ।

उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीतिबमोजिम गाउँपालिकाले प्रोत्साहनस्वरुप सो रकम प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए। सो सहकारी संस्थामार्फत दूध बिक्री गर्ने १५२ कृषकले अनुदानवापतको रकम प्राप्त गरेका छन् ।

सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गरेका छन् भने सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् ।

सो सहकारीबाट वार्षिक १३ लाख लिटर दूध बिक्री भएको थियो । “कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हौँ, यस कार्यक्रमले यहाँका कृषक उत्साहित छन्”, उनले भने ।

सहकारीका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत बन्दीपुरका अलवा आँबुखैरेनी र गोरखाको पालुङ्टारका कृषकले पनि दूध बिक्री गर्दै आएको जानकारी दिए ।

गाउँपालिकाले बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने ६१ कृषकलाई यसअगाडि रु एक लाख ६० हजार वितरण गरिसकेको छ ।

उक्त सहकारीमार्फत दूध बिक्री गर्नेले रु पाँच हजारदेखि रु २६ हजारसम्म अनुदान रकम पाएका छन् । उक्त सहकारीमार्फत व्यास र भानुका कृषकले पनि दूध बिक्री गर्दै आएका छन् ।

उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाउनुभएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताए ।

“गाईपालनमा ठूलो लगानी गरेका छौँ, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ”, उनले भने ।

याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताए ।

“कृषकलाई प्रोत्साहन गर्न र अन्यलाई यसतर्फ आकर्षित गर्न गाउँपालिकाले ल्याएको योजना सकारात्मक छ, अनुदानको रकम अझ वृद्धि गर्नुपर्छ”, उनले भने ।

बन्दीपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ ।

पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर