✍️ अमीरो खुसरो
अनुवाद : सिजन श्रेष्ठ
समवेत
म ‘तिमी’ भएँ, जसरी तिमी भयौ ‘म’
देह हुँ म तिम्रो, तिमी मेरो सार ।
भन्न सक्दैन अब कसैले कहिल्यै कि
तिमी अरु नै कोही हौ
अथवा म तिम्रो उपस्थितिभन्दा केही कम हुँ !
अनौठा तरङ्गहरू
हे ! खुसरो, प्रेमको नदी
अनौठा तरङ्गहरू सिर्जना गर्दछ-
जो सतहमा छ डुब्दछ ऊ सधैं,
जब कि जो डुबेको छ, बाँच्दछ ऊ ।
अमीर खुस्रोको शोकगीत-आफ्नी आमाको लागि
जहाँ जहाँ झार्यौ तिमीले- तिम्रो पैतालाको धूलो
स्वर्गको अवशेष हो त्यो मेरो !
स्वर्ग
यदि पार्थिव स्वर्ग कहीँ छ भने,
त्यो यहाँ छ ! त्यो यहाँ छ ! त्यो यहाँ छ !
(माइकल आर. बर्चको अङ्ग्रेजी अनुवादबाट नेपालीमा कवि सिजन श्रेष्ठद्वारा अनूदित)
अमीर खुसरो उत्तर प्रदेश, भारतको एटा जिल्लाको पटियाली गाउँमा गंगा किनारमा जन्मिएका अबुल हसन यमीनुद्दीन मुहम्मद साहित्य लेखनमा अमीर खुसरोका नामले प्रसिद्ध भए । बाल्यकालदेखि नै उनलाई कविता लेखनमा गहिरो रुचि थियो । उनी आफ्ना पहेलीहरू र मुकरीहरूका लागि प्रख्यात छन् । चौधौं शताब्दीका एक प्रमुख कवि, शायर, गायक र सङ्गीतकार खुसरो हिन्दी शब्दको खुलेर प्रयोग गर्ने पहिलो मुस्लिम कवि थिए । उनी फारसी भाषामा पनि कविता लेख्थे । उनको परिवार पुस्तौं पुस्तादेखि राजदरबारसँग जोडिएको थियो । खुसरो स्वयंले ८ जना सुल्तानको शासन देखे । खुसरोले धार्मिक संकिर्णता र राजनीतिक छलकपटले उथलपुथल माहौलमा रहेर त्यो समय हिन्दु-मुस्लिम एवं राष्ट्रिय एकता, प्रेम, सौहार्द्रता, मानवतावाद र सांस्कृतिक समन्वयका लागि इमान्दारिता र निष्ठापूर्वक काम गरेका थिए ।
प्रतिक्रिया
-
४