✍️ सिजन श्रेष्ठ
पानीमा मात्र देखिने
पानीका अनुहारहरूलाई थाहा छ –
दुर्गम इलाकाकी एउटी आमा
माघको हिउँ परिरहने जाडोमा
आफ्नै छायाँको बर्काे ओढेर
टाढाको बजारमा दिनहुँ साग बेच्न जान्छिन्
त्यतिन्जेल बादलमा जगर हल्लाएर
हिनहिनाइरहन्छन्- घोडाका आकृतिहरू
उनको छोरा दिनभरि हिउँको मट्याङ्ग्राले
तिनै बादलका घोडाहरू झारिरहन्छ
आमा पहाडी खोंचहरूमा
सिस्नो र मरङ्गेको गीत सुन्दै
बाटो काट्छिन्
घरमा छोरा गइसकेको दसैं सम्झेर
मस्कौटोले निधारभरि रातोमाटोको टीका लाउँछ
र, कानमा वनमाराको जमरा सिउरिन्छ
फर्कंदा साग बेचेको पैसाले आमा
दिनहुँ छोरालाई बेलुन किन्दिन्छिन्
उनको छोरा
आकाशको नीलो क्षेत्रफलमा
उडिरहेको बेलुनभित्र हरेक दिन
सागहरूको हरियो देश हाँसिरहेको देख्छ ।
प्रतिक्रिया
-
४