![](https://setomato.com/wp-content/uploads/2022/06/Anubad-kabita.jpg)
✍️ निदा फाजली
हिन्दी र उर्दू भाषाका मूर्धन्य कवि तथा गजलकार निदा फाजली (ई.सं. १९३८-२०१६) को पूरा नाम मुक़्तदा हसन निदा फाजली हो । उनको बाल्यकाल भारतको ग्वालियरमा बित्यो । फाजलीका पिता पनि शायर थिए । उनले सानै उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । निदाको अर्थ स्वर, आवाज हो । फाजिला कश्मीरको एक इलाका हो । जहाँबाट निदाका पुर्खा दिल्लीमा बसाइँ सरिआएका थिए । यसकारण उनले आफ्नो नामको पछाडि फाजली उपनाम जोडे ।
उनको सरल र प्रभावकारी लेखनशैलीले चाँडै नै उनलाई सम्मान र लोकप्रियता दिलायो । सन् 1998 मा भारतको प्रतिष्ठित साहित्य एकेडेमी पुरस्कारबाट सम्मानित निदा फाजलीका प्रमुख कृतिहरू आँखों भर आकाश, मौसम आते जाते हैं, खोया हुआ सा कुछ, लफ़्ज़ों के फूल, मोर नाच, आँख और ख़्वाब के दरमियाँ र सफ़र में धूप तो होगी आदि हुन् ।
उनी साधारण मानिसहरूका कवि थिए । उनका कविताहरूले हाम्रो विचारलाई झनै चहकिलो र ओजपूर्ण तुल्याउने काम गरेका छन् । उनका कविताहरू पढेर मानिसहरू प्रेममा पर्न सक्छन् । उनका कविताले सुन्दर तस्विरहरू दिएका छन् । फाजलीका कविता पढ्दा, सुन्दा र गाउँदा आत्मिक आनन्द प्राप्त हुन्छ । निदा फाजलीको काव्यमा उच्चता छ । र, छ – सुखद अनुभूति पनि ।
निदा फाजलीका तीन कविताहरू
रिसाएको मानिस
उसले समुन्द्रलाई आफ्नो हत्केलामा समेट्न चाह्यो
समुन्द्र ! समेटिनै सकेन उसको हत्केलामा
उसले रिसाएर
समुन्द्रसँग मुख मोडिदियो ।
उसले आकाशलाई छुन चाह्यो
आकाश १ झर्दै झरेन आफ्नो उचाइभन्दा तल
उसले रिसाएर
आकाशसँग सम्बन्ध तोडिदियो ।
उसले संसारलाई जित्न चाह्यो
संसारले
उसलाई मुकुट पहिर्याएन
उसले रिसाएर
संसारको साथ छाडिदियो ।
फेरि ऊ
समुन्द्र, आकाश र संसारमा
कसैको भएन
तर उसलाई यो जानेर दुःख लाग्यो
कि ऊ बिना पनि
समुन्द्र यत्तिकै छचल्किँदै बगिरह्यो
आकाशले यत्तिकै रङ बदलिरह्यो
संसारको सिलसिला
यत्तिकै चलिरह्यो ।
ईश्वर म आफैंभित्र थियो
मलाई याद छ
मेरो गाउँका सबै रूखहरू,
पर्वतहरू,
हावा,
चराहरू
मसँगै रुन्थे, हाँस्थे ।
मेरो दुस्खमा
नदी बगरमा शीर ठोक्थ्यो
मेरो खुशीमा
फूलमा शीतको मोती चम्किन्थ्यो
यहीँ सात ताराको समूहमा
विना आकृतिको
शीतल प्रकाश जो थियो
त्यहीँ थियो – जुनकिरीका बत्तीहरूको,
बिरालोका आँखाहरूको ज्योति ।
नदी मभित्रबाटै बग्दथ्यो
आकाश…!
आँखाको कुनै भ्रम थिएन यो ।
ती दिनका कुरा हुन् यी
जब यस धरतीमा
पूजाघरको जरुरत नै थिएन
ईश्वर म आफैंभित्र जो थियो ।
निन्द्रा पूरा ओछ्यानमा निदाउँदैन
निन्द्रा पूरा ओछ्यानमा निदाउँदैन
ऊ खाटको एउटा कुनामा
दायाँ
वा बायाँ
कुनै खास सिरानीको
छेउकुनामा लुकेको हुन्छ
जब सम्झौता हुन्छ
सिरानी र शीर बीच
तब निदाउँछ मानिस
आरामका साथ ।
(मूल हिन्दीबाट नेपालीमा कवि सिजन श्रेष्ठद्वारा अनूदित)
प्रतिक्रिया
-
४