✍️ अरूण नदी खत्री

कोभिडको कारण सरकारले लकडाउन गरेको थियो तैपनि किशोर एकाबिहानै साइकल लिएर रत्नपार्कतिर गयो । रत्नपार्कमा पुगेपछि प्रहरीले सोध्यो, “लकडाउनको बेला तपाईँ किन बाहिर निस्किनुभएको नि ? साइकल लिएर कहाँ जान लाग्नुभयो ?”
“म साइकल लिएर सङ्कटा मन्दिरको दर्शन गर्न जान लागेको हुँ ।” किशोरले भन्यो ।

“लकडाउनको समयमा यसरी साइकल लिएर हिँड्न पाइँदैन भन्ने कुरा थाहा छैन तपाईँलाई ?” प्रहरीले भन्यो ।
“म हिँडेको कहाँ छु र साइकल चलाएर जाँदै पो छु त ।” किशोरले जवाफ दियो ।

“तपाईँ जहाँबाट आउनु भएको हो त्यहीँ फर्कनुस् । साइकल चलाएर पनि कतै जान पाइँदैन ।” प्रहरी अलि कडा भयो ।
“आज राति सुतेको बेला मैले सङ्कटा मन्दिरमा गएर भगवान्लाई ढोगेको सपना देखेको थिएँ । सपना पुरा गर्नका लागि म सङ्कटा मन्दिर जान लागेको हुँ । मन्दिरमा पुगेर भगवान्को दर्शन गर्नासाथ म आफ्नो घर फर्कन्छु ।” किशोरले भन्यो ।

“अर्कोदिन फेरि तपाईँले गाडी चलाएको सपना देख्नुभयो भने नि ! लकडाउनको समयमा गाडी चलाएर कतै जान सक्नुहुन्छ नि !” प्रहरीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर