✍️ मनु विद्रोही

दुई दशकदेखि साहित्यमा कलम चलाइरहेकी जीविका अश्रु मूलतः गजलकारको रूपमा परिचित छन्। स्कुले जीवनदेखि नै कविता विधाबाट साहित्यमा प्रवेश गरेकी अश्रुको औपचारिक रूपमा वि.सं २०५३ साउन महिनाको ‘अनुसन्धान साप्ताहिक’ पत्रिकामा कविता प्रकाशित भएपछि लागेकी हुन् । साहित्यमा लाग्नुको प्रेरणाको स्रोत आफ्नो परिवार साथै पत्रमित्र प्रभात सुबेदीलाई मान्ने उनी कविता,गजल र मुक्तक विधामा कलम चलाउछिन् ।

सिक्किममा गजल अभियन्ताको रूपमा काम गरिरहेकी अश्रु ‘कवि गजल मञ्च सिक्किम’की अध्यक्ष हुन् । साथै हिन्दी साहित्य समितीकी संस्थापक सदस्य, अभियान साहित्य समितिकि सक्रिय सदस्य गरी छ सात वटा साहित्यिक संस्थामा आवद्ध हुनुहुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी एक दर्जनजति सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छन् । गजल सङ्ग्रह ‘अक्षर प्रेम’ (२०७३) संयुक्त गजल सङ्ग्रह ‘शब्द शिविर’ (२०७४) र
भोकको भाइरस (२०७८) प्रकाशित भइसकेको छ भने गजल सङ्ग्रह ‘भाडाका मलामी’को सन् २०२२मा प्रकाशनमा ल्याउने तयारीमा छन् ।आजको आँगनमा हामीले उनै लेखक जीविका अश्रुसँग भलाकुसारी गरेका छौँ । हेर्नुस् सम्पादित अंश:

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

गृहिणी हुँ। घरधन्दा र सामान्य पठनपाठनमा नै ब्यस्त रहन्छु।

तपाईंको विचारमा साहित्य के हो ?

साहित्यको परिभाषाबाट अहिले जोकोही अनभिज्ञ छैनन् भन्ने लाग्छ मलाई। त्यसैले खासै साहित्य के हो भन्ने कुरा भनिरहनु पर्दैन जस्तो लाग्छ। तैपनि तपाईले सोध्नु भयो मैले उत्तर दिनुपर्ने हुन्छ । अतः सबैको हित हुने खालका लेख रचनाको सिर्जना नै साहित्य हो। कला, साहित्य बिनाको जीवन अपुरो भएझैं लाग्छ मलाई ।

तपाईंको विचारमा पहिला असल पाठक बन्नु पर्छ कि कुशल पाठक किन ?

असल भन्नू र कुशल भन्नुमा खासै फरक देख्दिनँ म। असल पाठक नै काफी छन् अहिलेको यो समयका लागि। सिक्किममा नेपाली साहित्यका असल पाठक पाउन नै मुस्किल भएको बेला कुशल, दक्ष पाठक खोज्नु भनेको गाह्रो बिषय हो जस्तो लाग्छ।

तपाईंलाई कस्ता-कस्ता पुस्तक पढ्न मनपर्छ ? पढेको मध्य तीन उत्कृष्ट पुस्तक तपाईंको नजरमा कुन कुन हो ?

प्रायः सबैखाले पुस्तक पढ्न मन लाग्छ। हुन त म कवि हुँ तैपनि कविताका किताब साथसाथै आख्यान तर्फ मन जान्छ। कथा, उपन्यास आदि अलिक बढी मन पर्छ पढ्नलाई। तीनवटा उत्कृष्ट पुस्तक छान्ने हिम्मत मैले गर्न सक्दिनँ किनकी सैयौं उत्कृष्ट पुस्तक छन् मैले पढेका। म ति पुस्तकबाट एक,दुई र तीन भन्न पटक्कै सक्दिनँ।

सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?

चर्चामा आएका सबै पुस्तक चर्चा भएजस्तो उत्कृष्ट नहुन पनि सक्छन्। तर, सबै उत्कृष्ट नै हुन्छन् या उत्कृष्ट हुदैनन् भन्न सक्किन्न। अर्कोकुरा पाठकको दृष्टिमा पनि भर पर्छ। फेरि साहित्यमा एउटा यस्तो समूह छ जो आँखा चिम्लेर प्रचार प्रसारमा लाग्छ जो आफ्नो गुठको छ। गुठबन्दीले गर्दा कुशल सर्जक तथा राम्रा पुस्तक ओझेलमा परेका कुराहरू पनि सुन्नमा आउछन् बेलाबखत । त्यसले गर्दा फेरि पनि भन्छु चर्चामा आएका सबै किताब उत्कृष्ट हुदैनन् ।

साहित्यलाई समाजको ऎना मानिन्छ, कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

साहित्य समाजको ऐना मानिन्छ, र हो पनि। समाज परिवर्तनका लागि सामाजिक विसङ्गति, यथार्थमा आधारित, जहाँ सम्बन्धित निकायको नजर परेको छैन त्यस्ता विषयको उठान गरिएका रचनाहरू समाज सामु ल्याउन सके राम्रो हुनेछ भन्ने लाग्छ।

साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका साहित्यले निभाउने भएकोले साहित्यिक कार्यक्रमहरु राष्ट्र र राज्य स्तरबाट जातजाति विशेष, भाषा विशेष ,भेषभुषा विशेष कार्यक्रमहरू गर्नु गराउनु साथै अन्य कर्मचारी, पत्रकार, मिडियाकर्मीलाई झैं साहित्यकारलाई साहित्यकार परिचयपत्र र सरकारबाट पाइने स्वास्थ, शिक्षा साथै प्राथमिक सुविधाहरू पाएदेखि केही हदसम्म राहत महसुस हुने थियो।

पुस्तकहरूको भिडमा कविता सङ्ग्रह ‘भोकको भाइरस’ कसरी पृथक छ ?

अन्य कविता सङ्ग्रह जस्तै भोकको भाइरस्पनि सामान्य नै छ। मलाई मेरो कविता सङ्ग्रह पृथक छ झैं लाग्दैन। कस्तो छ ? के छ भन्नलाई त तपाईं पाठकमा जिम्मा लगाएकी छु। यहाँहरूले पढेपछि पाठकीय प्रतिक्रिया आउने छन् र त्यसपछि मात्र केही भन्नेछु।

तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?

भन्नलाई बाँकी कुरा बहुत छन् ।यस छोटो बातचितमा सबै कहाँ समेट्न सकिन्छ र यद्यपि साहित्यमा राजनीति, गुठ उपगुठ नभएर निष्पक्ष रूपमा अघि बढेमा साँच्चै नै साहित्यले समाज परिवर्तन गर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर