-धनराज गिरी

“दर्द पराया जाने न कोई” आफ्नो प्रिय अनुज गोपालले मनको पीर आफ्नो सामुन्ने राखेपछि प्रोफेसर विवेककुमार आनन्दले सानो प्रतिक्रिया दियो र भन्यो,” पख अनुज,म यसमाथि एक लघुकथा लेख्नेछु।”

भयो के भने जसरी छन्द कविता लेख्ने र गद्य कविता लेख्नेहरूको बीचमा एक किसिम को दूरी छ,त्यसैगरि स्वदेश र विदेशमा बस्ने नेपालीहरूको बीचमा पनि नजानिदो शीत युद्ध भएजस्तो लाग्छ।

नेपालमा रहेर जागिर खान अनुकूल मिलेका वा केही कारोबार गर्न पनि,बाहिरी रूपमा भए पनि सफल भएकाहरू विदेश जानेहरूलाई अपराधी जस्तो मानेको पनि पाइन्छ।

विदेशमा रहेको गोपाललाई एक कविको यस्तै नादानीले छोएछ। आफ्नो साहित्यिक दाजी आनन्दशीत गुनासो गर्न आयो, प्रविधि मार्फत।

“गोपाल, हो प्रतिभा पलायन मुलुकको लागि शुभ संकेत होइन, म पनि भित्र भित्र नमज्जा मान्ने नि, मेरा मेधावी चेलाचेली हरू धेरैले गोजीमा राहदानी हाले, मलाई नमज्जा लाग्यो। त्यो १७ जना इन्जिनियरहरूको कहानी अध्ययन गरेपछि त म झन झस्किएको नि, अरू त अरू, मेरा तीन लायक र इमानदार सन्तानहरू पनि सात सिन्धु पारि, मेरो मन भत्कियो।

तर, तर, जब मलाई पनि गिजोले, बिथोले, राज्यव्यवस्था नै अराजक भयो, तब मैले सोच परिवर्तन गरेँ। यो धरती साझा घर हो, जहाँ गए पनि हुन्छ। जीवन जहाँ सहज हुन्छ, त्यहीँ जाने हो। मानिस यायावर हो। हाम्रो पुर्खा पनि कहाँबाट कहाँ पुगेको कहानी छ।

मान्छेको जात अचम्मको हुन्छ। सबै कुरा अरूको सापेक्षमा सोच्दैन,अरूको भित्री वेदना बुझ्दैन। विदेश धेरैको रहर होइन। आफ्नो देश भनेको आफ्नै देश हो। थाहा छ। तर के गर्ने? जिउने आधार त चाहियो नि। खोइ देशमा अवसर?
भन्न दिने, दुनियाँ यस्तै हो। एउटा लीकमा त चलेको छ जिन्दगी यो परदेशमा,कमसेकम सिस्टम त छ।”

“दाजी, विदेशबाट विप्रेषण नगए नेपाल चल्छ? बुझी बुझी बुझ पचाउने? हामीलाई माया छैन र देशको? जो जो विदेश आउन पाएनन्  वा सकेनन्, तिनीहरूको मनको जलन हो यो। पाए,अनुकूल मिले, सबै अमेरिका जान रेडी । को बस्न तैयार छ? बाह्र पास भएपछि मनमा विदेश।बाध्यता होइन यो?”

“देशमा हुनेले कुन गुल खिलाए? एनआरएनए ले कम सहयोग गरेको छ नेपाललाई? हचुवाको आरोप हो। इग्नोर इट!आफ्नो काम गर्ने,यो अर्को एम सी सी हो। केही नबुझी प्याच्च बोल्ने। फराकिलो सोच हुनेले यस्तो कुरा गर्दैन। सोच नदीको पानी हो, परिवर्तन हुन्छ।

लौ त गोपाल, तिम्रो माग पूरा गर्नु छ। यहाँ नातिनी शकुन्तलालाई गीत सुनाउने बेला भयो, आफ्नो आफ्नो घाउ, आफ्नो आफ्नो मलम, हाम्रो मलम यही कलम।”

गोपाल आफ्नो कामतिर लाग्यो, प्रोफेसर कथा लेख्न थाल्यो औजीको मुलुकमा बिहानै छ बजे।

***

प्रतिक्रिया

सम्बन्धित खवर