✍️ भद्र घर्ती कान्छा

मुक्तक – एक

ख्यालै नगरी देशको हित , अहित अघि सरौला
निर्लज्ज भई बिदेशीहरू सामु लम्पसार परौला ।
एक जुट भएर जनता आन्दोलित छन् देश भर
खबरदार नेता१ राष्ट्रघाती सम्झौता पास गरौला ।।

मुक्तक – दुई

धुम्रपान होस् चाहे मद्यपान पिउँदै नपिउँनुस्
जान सक्छ अकालमै ज्यान पिउँदै नपिउँनुस् ।
जस्तै भद्रभलाद्मी भएपनि समाजको अगाडी
बनाइ हाल्छ यसले बेइमान पिउँदै नपिउँनुस् ।।

मुक्तक – तीन

घरी उकालो चढे जस्तो घरी ओरालो झरे जस्तो लाग्छ
जिन्दगीले गर्नुसम्म खेलाँची मै माथि गरे जस्तो लाग्छ ।
जतिसुकै परिश्रम गरेपनि मेरो प्रगति हुँदै भएन साथी
सारा समस्याहरुको चाङ मेरै भागमा परे जस्तो लाग्छ ।।

मुक्तक – चार

आँखामा सजाउ मुटुमा बसाउ तिम्रो मर्जी
शिरमा चढाउ पाउमा खसाउ तिम्रो मर्जी ।
तिमी त मेरो आफ्नै मान्छे जे गर्दा नि हुन्छ
अँगालो लगाउ या छुरी धसाउ तिम्रो मर्जी ।।

मुक्तक – पाँच

छिनमै रुवाउने छिनमै हसाउने कुरा गर्दै नगर
त्यो दिल भित्र अरुलाई बसाउने कुरा गर्दै नगर ।
मोहित भएर तिम्रो प्यारमा म त डुबि नै सकेको छु
मन्त्रमुग्ध पारेपछि फेरी फसाउने कुरा गर्दै नगर ।।

प्रतिक्रिया

सम्बन्धित खवर