✍️ भद्र घर्ती कान्छा

     मुक्तक – एक
हात जोड्छन् पाउ पर्छन् हेर्दै जानुहोला
आकर्षक नारा तय गर्छन् हेर्दै जानुहोला ।
विगतको चुनावमा जस्तै यी नेताहरूले
यसपाली पनि भ्रम छर्छन् हेर्दै जानुहोला ।।

    मुक्तक – दुई

गर्छ घात, लगाउछ दिलमा चोट नदिनुहोला
देख्दादेख्दै उसको, हजारौ खोट नदिनुहोला ।
थोरै विवेक नपुर्याउँदा देश भ्रष्टाचारमा डुब्यो
यसपालि भ्रष्टाचारी नेतालाई भोट नदिनुहोला ।।

         मुक्तक – तीन

बाँड्छन् आश्वासन गर्छन् बेइमानी जानिराखौँ
अपनाउनुपर्छ यसपाली सावधानी जानिराखौँ ।
फेरि पनि भ्रष्ट नेतालाई जिताएर पठायौँ भने
देश र जनतालाई हुनेछ नोक्सानी जानिराखौँ ।।

         मुक्तक – चार

माने मान्नुस् नमाने पनि नमान्नुस् यत्ति चाहिँ भन्छु
असल वा खराब आफैंले जान्नुस् यत्ति चाहिँ भन्छु ।
चुनावमा भोट कसलाई हाल्ने तपाईंको बिचार हो
तर सोचेर स्वस्तिक छाप हान्नुस् यत्ति चाहिँ भन्छु ।।

         मुक्तक – पाँच

आशीर्वाद दिनुस्, भलाई चिताउनुस् यत्ति भन्न आको
समृद्धिको नारा सुन्दै दिन बिताउनुस् यत्ति भन्न आको ।
पाँच वर्षपछि अचानक गाउँमा किन आयो भन्नुहोला
यसपाली पनि मलाई नै जिताउनुस् यत्ति भन्न आको ।।

प्रतिक्रिया

सम्बन्धित खवर