
✍️ केशवराज ज्ञवाली
रातभरि ऊ निद्रामा डुब्दै, उत्रँदै गरिरही । जब निद्रा परेजस्तो हुन्थ्यो, ऊ झल्याँस्स ब्यूँझिन्थी । मनमा प्रश्न उठथ्यो, ‘अब के गर्ने ?’
आफ्नै प्रश्नमा निरुत्तर भइरही ऊ ।
हिजो साँझ चामलको थैलोले रित्तो पेट देखाइदियो । थैलो रित्याएर पकाएको भात, भोलि बिहान छोरालाई पुग्ने जति छुट्याई । बाँकी बचेको आपूm र छोरालाई बाँडी । त्यत्तिबेला उसलाई रित्तो थैलो, आपूm केटाकेटी हुँदा सुनेको भूतजस्तो लाग्यो । भित्रैदेखि डराएर उसले सोधी फेरि आफैँलाई, ‘अब के गर्ने ?’
उसको काम रोकिएको झण्डै ३ महिना भयो ।
मोबाइलमा, रेडियोमा खबर आइरहन्छ,
‘मास्क लगाऔँ ।’
‘हात धोऔँ ।’
‘सकेसम्म बाहिर ननिस्कौँ । कोरोना जित्ने यही एउटा उपाय छ ।’
हो, यो खबरले ऊ डराएकी छ । आफ्नो लागि कम र आफ्नो छोराका लागि ज्यादा । छोरो नौ वर्षको । जसले बोल्न बिर्सेको छ, ठूलो दुर्घटनापछि ।
निकै बल गरेर ‘उ, उ, सम्म गर्छ । ऊ आमा हो । उसले बुझ्छे ।
‘उ, उ, मै भोक लागेको बुझ्छे । खुसी भएको बुझ्छे । दुःख भएको बुझ्छे । उसलाई छोराको कुरा बुझ्न गाह्रो छैन । डराउँछे, छोरो ठूलो हुँदै जाँदा संसारले बुझ्ने छैन छोराको कुरा ।
डाक्टर भन्छ, ‘बोलिरहेको बच्चा हो । अहिले बन्द भए पनि बोल्न सक्छ कुनै दिन । उपचार गरिरहनुपर्छ ।’
उसले अठोट लिएकी छ । जसरी पनि निको पानु पर्नेछ छोरालाई । ऊभित्र पीडाका पत्रैपत्र जमेका छन् । हरेक दिन नयाँ पत्रहरू थपिन्छन्, दुःखका । यतिबेला भने उसको दुःखको सर्वोच्च कारण त्यो रित्तो थैलो हो ।
ऊ आँखा चिम्लेर, त्यो थैलोको विकराल मुख कल्पना गर्छे । त्यही ‘आऽऽ’, गरेको थैलो भन्छ, ‘अब के गर्ने ? के खाने ? कसरी खाने ?’
ऊ कोल्टे फर्किन्छे, निद्रामा चल्दाचल्दै खाटको छेउमा पुगेको छोरालाई आफूतिर तान्छे ।
एकछिन अँध्यारोमा छोडिएपछि सोध्छे आफैँलाई, ‘के ऊ कसैसँग सहयोग माग्न सक्छे ?’
‘कोसँग ?’ उसले साँच्चै चिन्ने जम्मा दुई मान्छे छन् यो सहरमा ।
एउटी— जेनी, रत्नपार्कको आकाशेपुलमा उभिने उसकी साथी । उसको असल नाम जानकी हो । अब कसैले उसलाई वास्तविक नामले बोलायो भने, आफैँ झुक्किन्छे होला ।
अर्को— पल्लो कोठामा डेरा गरेर बस्ने दिदी । उनीसँगको चिनजान, यही डेरा सरेदेखिको हो । कतै काम गर्दिनन् । हप्ताको एकपटक कालो पोलिथिन लिएर एउटा मान्छे आउँछ । त्यो आउने मान्छे को हो ? उसले सोधेकी छैन, दिदीले पनि भनेकी छैनन् । दिदीले उसको कुरा बुझ्छिन् जस्तो लाग्छ । परेको बेलामा छोरालाई हेरिदिएर सहयोग गर्छिन् । उसलाई लाग्छ दिदीलाई थाहा छ उसको काम, तर सोध्दिनन् कहिल्यै ।
जेनी र दिदी दुवैले उसलाई अहिलेको समस्यामा सहयोग गर्न सक्लान् जस्तो लाग्दैन ।
यीबाहेक धेरै मान्छे चिन्दिन उसले । तर उसलाई चिन्ने मान्छे भने धेरै हुनुपर्छ यो सहरमा । झण्डै हरेक दिनजस्तो नयाँ मान्छे भेटिरहन्छे । हरेक दिन भेटिनेहरूलाई भने उसको वास्तविक नामसमेत थाहा छैन ।
ऊ आफ्नो नाम फेरिरहन्छे । कहिलेकाहीँ एकै दिनमा एकभन्दा बढी नाम फेर्छे । संसारमा कति मान्छेहरूलाई आफ्नो नाम नहुनुमा समस्या छ । ऊ भने आफ्नो नामसँग जोगिएर हिँड्छे । यसको मतलब यो होइन कि ऊ डराउँछे कसैसँग । डर त उसले धेरै पहिला बेचिसकी । बेच्न त उसले अरू पनि धेरै कुरा बेचिसकी । व्यापारको जमाना जो छ ।
एकदिन, एउटा लेखकसँग थिई ऊ । ह्वास्स गनाएको मुख नजिकै ल्याएर लर्बरिँदै त्यो लेखकले भन्यो, ‘व्यापारको जमाना जो छ । कतिले लिपिस्टिक लगाएको ओठ देखाएर, टुथपेष्ट बेच्छन् । कतिले तिघ्रा देखाएर मिनरल वाटर बेच्छन् । पाखुरा देखाएर टायर बेच्छन् ।’ एकैछिन रोकियो उसको खरिदकर्ता । चुरोटको लामो सर्को तान्यो र भन्यो, ‘बरु तिम्रो व्यापार प्रस्ट छ । तिमी जे देखाउँछ्यौ, त्यही बेच्छ्यौ ।’
सस्तो लजको मैलो तन्नामाथि उसलाई बिछ्याउँदै, उसको खरिदकर्ताले भन्यो, ‘मलाई भन तिम्रो कथा, म लेख्छु ।’
उसलाई कुराकानीमा खासै चासो थिएन र भनी, ‘लेखेर के हुन्छ ?’
‘म छाप्छु नि पत्रिकामा ! सबैले पढ्छन् तिम्रो कुरा ।’
‘पढेर के हुन्छ ?’
लेखकले उत्तर दिएन । उसले भनेन, ऊ चर्चित हुन सक्छ । पारिश्रमिक पाउन सक्छ । हुनसक्छ कुनै पुरस्कार नै पाओस् । लेखकले आफ्ना सारा कुरामाथि, मौनको मास्क लगाइदियो । उसले पनि थप केही भनेकी थिइन । लेखकको कुरा भने उसको मानसपटलमा पटक पटक आइरहन्थ्यो, ‘व्यापारको जमाना जो छ ।’
बिहानपख भएको हुँदो हो । उसलाई निद्रा लाग्लाजस्तो भयो । त्यसै तन्द्रामा उसले आफ्ना खरिदकर्ताहरूलाई सम्झी, नेता, अभिनेता, पुलिस, सिपाही, विद्यार्थी र भोलिपल्ट विदेश उड्न आँटेका कामदार सबै ।
तन्द्रामै सबैसँग हिँडेका दृश्यहरू दोहोरिएर आए । रत्नपार्कको आकाशे पुलदेखि कुनै लजमा । कुनै अँध्यारो कोठामा । कुनै ठूलो गाडीमा । ऊ जहाँतहीँ मास्क लगाएरै पुगी । त्यो मास्कले उसलाई कम र उनीहरूलाई बढी जोगायो ।
तन्द्रा र निद्राको दोसाँधमा पल्टिरहँदा ऊ सपनाको संसारमा पुगी । सपनामा उसका ग्राहकहरू एक एक गेडा चामलमा परिवर्तित भए । ऊ लजका अँध्यारा कोठाबाट, काला सिसा भएका गाडीबाट मुठीका मुठी चामल ल्याउँदै थैलोमा हाल्दै गरी ।
बिहानपाख निदाएकी हँुदी हो, सपनामा रित्तो थैलोले उसलाई लखेटी रह्यो ।
फोनको आवाजले उसलाई ब्यूँझायो । अँध्यारोमै छामेर फोन हेरी । जेनीको दुई वटा मिसकल थियो ।
बिहानको पाँच बजे । किन होला ? पक्कै कोही भेटेकी होली । भन्नेछ, ‘जान्छेस ? एउटा मान्छे छ ।’ अस्ति पनि त्यसै भनेकी थिई । उसको उत्तर उही छ, ‘यस्तोमा कसरी बाहिर जानु । कसैगरी रोगले समात्यो भने ?’ उसलाई आफ्नोभन्दा पनि छोराको चिन्ता छ ।
‘अहँ, हुँदैन । म त जान्नँ केटी, बरू तँ पनि नजा ।’ ऊ भन्छे ।
जानकी उर्फ जेनीलाई खासै फरक पर्दैन भन्छे, ‘भोकले मर्ने कि रोगले ? रोग लागे त बाँचिएला र भोकले नै सक्यो भने । जेसुकै होस् ।’
फोनमै कुरा गरेको भए पनि उसलाई लाग्यो । जेनीले त्यतिबेला एक सर्को धुवाँ आकाशतर्फ फाली होला ।
उसको फोन फेरि बज्यो । यसपटक भने कुनै समाचार थियो — सरकारले आज राहत बाँड्ने । मन्त्रीकै अगुवाइमा कार्यक्रम सुरू हुने ।’
खबरको विवरणमा राहत सामग्रीको पनि लिस्ट थियो ।
तीस किलो चामल
पाँच किलो दाल
एक लिटर तेल
दुई किलो चिनी
दुई डल्ला साबुन
एक बोटल स्यानिटाइजर
खबर पढेपछि ऊ अलि फुर्तिली भई ।
‘अब उठ्नुपर्छ ।’ बिहानको ६ बजेतिर उसले ओछ्यान छोडी । मुख खुला भएको चामलको थैलोलाई बन्द गरी ।
चियाको भाँडा बसालेपछि मात्रै थाहा भयो । चिनी सकिएको रै’छ । तातो पानी चिनीको भाडामा खन्याएर हल्लाई । गुलियो नलागेको टर्रो तातो झोल । साँझ डेरामा भित्रिन सक्ने चिनी सम्झिँदै पिई ।
‘आज दुई किलो चिनी पाएँ भने साँझ एक गिलास गुलियो चिया खानेछु ।’ सम्झाई आफैँलाई ।
छोरो चल्मलायो । उसले पटक–पटक घडी हेरिरही । मनमा हतार छ । कल्पना गर्छे, सायद लाइन होला लामो । ऊ उभिनुपर्छ सबभन्दा अगाडि ।
दोहो¥याएर तेहे¥याएर त्यो समाचार पढी । ‘दाल, चामल, नुन, तेल… ।’
कता होला ? ठाउँ भने लेखेको थिएन । पत्ता लगाउनु पर्नेछ । अलि छिटो निस्किन पाए… ।
झलमल्ल घाम लाग्यो छोरो उठ्दा । छोरो पनि खुसी भयो, आमाको उत्साह देखेर । सम्झाई, ‘म खानेकुरा खोज्न जान्छु । यी यहाँ भात छ खाएस् । पल्तिर दिदीकोमा जानू है ! म छिटो आउँछु ।’
छोरोले टाउको हल्लायो र उ, उ, ग¥यो । ऊ दौडिँदै पल्लो कोठामा पुगी । कोठाको ढोका हानी । ‘दिदी, मेरो छोरालाई आँखा लाइदिनू है ! क्यै खान दिनु पर्दैन । टिभी हेर्न दिनुहोला ।’
‘तिमी कता जाने ?’
‘राहत बाँड्दै छन् अरे । त्यही खोज्न । तपार्इँ पनि जाने हो ?’
‘होइन । मेरो पनि सकिएको छ तर साँझसम्म आइपुग्ला । दिनभरिको कुरा हो । ’
‘तिमीलाई ढिला हुन्छ कि ? अन्त पनि जानु छ ?’ दिदीले सरोकार देखाइन ।
‘था छैन दिदी । पाएँ भने सामान लिएर फर्किन्छु । दुःख दियो भने फोन गर्नू ।’
‘ल जाऊ पिर नगर । म हेर्दिम्ला ।’
गौशालाबाट हिँड्दै तिनकुनेसम्म आइपुग्दा झलमल्ल घाम लागेको थियो । अब कता जाने ? दुई वटा बाटो छुट्टिएको ठाउँमा उभिएर टोलाई एकैछिन । कति गहिरो सम्बन्ध छ उसको यो बाटोसँग । अलि थकाइ पनि लाग्न थालेको थियो । त्यही सडकपेटीमा बसेर छुट्टिएका बाटाहरू हेर्न थाली । सडकमा धेरै गाडीहरू थिएनन् । यत्तिको खाली सडक उसले काठमाडौँ आएदेखि देखेकी थिइन ।
बाटो मरेको कालो सर्पजस्तो पल्टिएको थियो । गौशालातिरबाट आएको बाटो च्यातिएर दुईतिर लागेको छ । एकातिर गयो भने ऊ रत्नपार्क पुग्छे । अर्कोतिर गयो भने अरू बाटोसँग जोडिँदै जोडिँदै गाउँसम्म पुग्छे । हो गाउँ, उसले छोडेर आएको गाउँ । छोडेरै आए पनि, त्यस्तो धेरै केही छुटेको थिएन । भूकम्पको बेलामा चलेको पहिरोले घरैसमेत बगाएपछि, उसले त्यही पहिरो छोडेर आएकी हो । पहिरोसँगै छुट्यो उसको लोग्ने ।
भर्खर बोल्न सिकेको छोराले घर बगेको र घरसँगै खुर्मुरिएको बा देखेर बेस्सरी डरायो । पहिरोले लगेको घर र त्यसमै पुरिएको लोग्नेलाई तीन दिनसम्म कुरी । खोज्न सघाएका गाउँलेहरूले भने, ‘अब निकाल्न सकिएलाजस्तो छैन ।’
घर र चिहान एउटै भएको ठाउँमा बस्न मन लागेन ।
गाउँलेहरूले चन्दा उठाएर दिएको पैसा थियो अलिकति । त्यही पैसा मुठीमा च्यापेर, कच्ची सडक समाती । कच्ची सडकले पक्की र पक्कीले काठमाडौँ पुग्ने मूलबाटोसम्म ल्याइदियो । काठमाडौँका लागि बस चढ्दा छोरालाई होइन, आफैँलाई भनी, ‘काठमाडौँ ठूलो ठाउँ हो । केही नभए भाँडा माँझ्न भए पनि पाइएला ।’
ऊ काठमाडाँै त आई, अब कता जाने ? काठमाडौँ आफैँ ज्यानभरि घाउ लिएर छटपटाइरहेको थियो । भत्केको धरहरा, भत्केका घरहरूले उडाएको धूलो र मान्छेको अनुहारभरि छाएको त्रास । सिङगै काठमाडौँ गुहार मागेजस्तो बिचरा भएको थियो । यस्तोमा उसको गुहार सुन्ने कान कहाँ पाउनु ?
केही दिनमा भूकम्पले उडाएको धूलो, फेरि जमिनमा फर्कियो । मान्छेहरूको अनुहारको डर पनि पखालिँदै गयो । धुलाम्मे काठमाडौँ बिस्तारै उठ्यो र काममा लाग्यो ।
ऊ पनि टाढाको दाइ पर्नेको डेराबाट निस्किने विचार गरेर भनी, ‘दाइ यतिका दिन सहारा दियौ । अब एउटा जस्तो भए पनि काम खोज्न मद्दत गर ।’
दाइले चिनेको र त्यो चिनेकोले पनि चिनेको मान्छेले उसलाई इँटा भट्टामा पु¥याइदियो । कामको नजिकै छिँडीमा डेरा भेटियो । मालिक दिनदिनै आउँथ्यो र भन्थ्यो, ‘सबै काठमाडौँ भत्केको छ । भत्केका सबै घर बनाउन, थुप्रै इँटा चाहिन्छ । मौका छ बेस्सरी काम गर । सकेसम्म धेरै कमाऊ ।’
मालिकले भनेको धेरै पैसा जम्मा भएर उसको हातमा पर्दा दिनको जम्मा जम्मी दुई सय जति हुन्थ्यो । त्यो एकदम धेरै हो कि थोरै थाहा भएन । दैनिक दुई सयमा भ¥याङमुनिको सानो कोठाको भाडा र खाने खर्च भने चलेको थियो ।
ऊ बिहानै छोरा लिएर जान्थी र दिनभरि इँटा बोकिरहन्थी । छोरो त्यहीँ यताउति खेल्थ्यो । साँझ पर्दासम्म दुवै धुलाम्मे हुन्थे । कहिलेकाहीँ ऊ सोच्थी, भूकम्पपछिको काठमाडौँ जस्तै देखिएकी होला ऊ । धुालाम्मे र बेवारिस ।
उसलाई ठूलो भुइँचालोपछि परकम्पहरू गएको थाहा थियो । तर उसको जीवनमा आउन आँटेका परकम्पहरू भने थाहा थिएन ।
छोरो राति राति तर्सिएर उठ्थ्यो । कहिलेकाहीँ कहालिएर रुन्थ्यो । कहिले यसै टोलाउँथ्यो धेरैबेर । बल्ल तल्ल डाक्टरकहाँ पु¥याई । डाक्टरको धेरै कुरा बुझिन । यति बुझी ‘थेरापी’ गर्नुपर्छ ।
‘कहाँ पाइन्छ त्यो ? कति पर्छ ?’
‘मेरो क्लिनिकमा । महिनाको एकपल्ट ल्याउने गर ।’
‘कति लाग्छ ?, प्रश्न मनभित्रै राखी । भनी, ‘हुन्छ ।’
उसको मन थरर्र काँप्यो, छोराले उपचार नपाउने डरले ।
एक साँझ साहूले भन्यो, ‘मेरो घरमा आउनू । एक–दुई जना पाहुना आउँदैछन् । भाँडा माझ्दिनू पैसा दिउँला ।’
ऊ घरमा पुग्दा त्यहाँ साहूजी एक्लै थियो । अगाडि थालभरि मासु र बियरको बोतल राखेर बसेको थियो ।
पिठ्यूँमा निदाएको छोरालाई बैठकको एक छेउमा सुताई ।
साहूले राता आँखा झिमझिम गर्दै भन्यो, ‘तिमीले खाइहाल । पछि मान्छे आउँछन् हतार हुन्छ ।’
पहिले छोरालाई खुवाई । कैयौँ दिनपछि मासु भातको स्वाद, छोराले निद्रामै पनि मीठो मानेर खायो । ऊ भाँडा माझ्दै थिई । पिठ्यूँमा हात सल्बलायो । पहिले ज्यानभरि आँखा सल्बलाएकै थिए । अब हात ।
ऊ काँपी, डरले होइन रिसले । इँटा भट्टाको मालिकको घरमा इँटा नहुने कुरै थिएन । उठाएर टाउकोमा बजारी । इँटा फुटेन, टाउको फुट्यो । रक्ताम्मे लडेको हातवालालाई त्यत्तिकै छोडेर ऊ बाहिर निस्की । निदाएको छोरो च्यापेकी थिई अँगालोमा । डेरासम्म आइपुग्दासम्म पनि ऊभित्रको परकम्पन थामिएको थिएन ।
उसलाई दैनिक खानु त छँदै थियो । छोरालाई खुवाउनु पनि थियो । भाँडा माझ्न खोजी । भाँडा जुठा पारेर दिनेहरूले, उसैलाई जुठो हाल्न खोजे । ढाड भाच्चिने गरी काम गर्न तयार थिई ऊ । काम दिनेहरूले भने उसको ढाडमा ¥याल चुहाइरहे ।
उसका कपडाहरू पार गरेर घोचिरहने आँखाहरूसँग आँखा जुधाएर उसले एकदिन भनी, ‘ल आऊ म बेच्छु ।’ आफ्नै आवाजसँग तर्सी र हल्लिई भित्रैसम्म । त्यही भूकम्पमा ऊभित्रको धरहरा गल्र्याम्म लड्यो ।
ढलेको धरहराजस्तो मन लिएर ऊ रत्नपार्कको आकाशे पुलमा उभिन पुगी । मनमनै फेरि दोहो¥याई आदिम व्यापारको घोषणा, ‘म तयार छु, आपूmलाई बेच्न । कसैको सहयोग लिने छैन । कुनै झुटको सहारा लिने छैन । बेच्ने छु आपूmलाई खुलम खुला र निर्धक्क ।’
एउटा मान्छे उसको सामुन्ने रोकियो । यताउति हे¥यो र भन्यो, ‘जाने हो ?’
उसले पनि तलदेखि माथिसम्म हेरेर भनी, ‘सक्छस् लैजान ?’
रोकिने मान्छेको घमण्डमै ठोकियो, उसको बोली ।
‘कति ?’ मान्छे पनि पछि हटेन ।
यो वाक्यपछि सुरू भयो, उसको व्यापार । उसले नयाँ नयाँ कुराहरू सिक्दै गई । नजानेका कुरा सिकाउन आइपुगी जेनी । उसले फरक किसिमले बोल्न सिकी । अर्कै कपडा लगाउन सिकी र सिकिरही अनेकौँ कुराहरू ।
मनभरि पुराना पाइलाहरूको डोब सम्झिँदा सम्झिँदै उसका खुट्टाहरू बानेश्वर चोकमा पुगे । त्यहाँ पुलिसहरूको एउटा समूह थियो । एक जना दौडिँदै आयो ऊतिर ।
‘लक डाउनमा कता ?’
ऊ चुपचाप हिँडिरही ।
‘बाटोबाट नहिँड् मन्त्रीको सवारी हुन लागेको छ ?’
ऊ रोकिई– ‘कताको ?’
‘यता नजिकैको स्कुलमा, राहत बाँड्न ।’
‘के राहत ?’
उसले बिहान पढेको खबर पुलिसले दोहो¥यायो ।
‘तीस किलो चामल, पाँच किलो दाल, साबुन र चिनी ।’
‘सबैलाई हो ?’
‘होइन, काँ हुन्छ सबैलाई ?’
‘अनि कसलाई त ?’
‘श्रमजीविलाई मात्रै ।’
उसका कान ठाडा भए । पुलिसको फोन बज्यो ।
ऊ पर्छे कि पर्दिन त्यसमा ।
फोनबाट आवाज आयो, ‘मन्त्रीजी हेलिकप्टरबाट जाने । बाटोमा केही गर्नुपर्दैन ।’ पुलिसको अनुहार उज्यालो भयो ।
फोनमा बोलिरहँदा पनि, पुलिसले उसलाई हेरिरहेको थियो ।
अझ नजिकै आयो र तलदेखि माथिसम्म घुरेर हे¥यो । उसले पनि ठिङ्ग उभिएर उसैगरी हेरी । के यो पुलिस पनि थियो ऊसँग कुनै दिन ?
‘के काम गर्ने हो र ?’
‘सरमजीवि ।’ यति भनेर हिँडी ऊ ।
‘त्यो स्कुल कता हो ?’
पुलिसले बाटो बतायो ।
अब उसलाई रोकिनु थिएन । गर्मी बेस्सरी चढेको थियो । बाटोका दुवैतिर अनेक रेष्टुरेन्टका साइनबोर्ड झुन्डिएका थिए । त्यसमा भएका अनेक खानेकुराहरूले उसको भोकको आगोमा घिउ थपिरहेका थिए ।
ऊ त्यही आगोमा तातेर स्कुलतिर लागी ।
ऊ झण्डै हस्याङ्फस्याङ गर्दै त्यहाँ पुगी । लामो लाइन थियो मान्छेहरूको । मास्कले मुख छोपेका उदास आँखाहरूको लाइन । ऊ जोडिई लाइनको पुच्छरमा । बिस्तारै बिस्तारै अघि बढ्दा थाहा भयो । लाइनको टुप्पोमा टेबल राखेर बसेको छ एउटा मान्छे । ऊ नाम सोध्छ, ठेगाना सोध्छ, पेशा सोध्छ ।
अझ नजिक पुगेपछि देख्छे । भित्र बाँड्न राखेका सामानहरूको थुप्रो छ । लाइन बसेका मान्छेहरू त्यहाँ पुग्छन्, एउटा पोको उठाउँछन् । त्यसको नजिकै उभिएको दौरा सुरुवाल लगाएको मान्छेलाई नमस्कार गर्छन् र अघि बढ्छन् । एउटा मान्छे फोटो खिचिरहन्छ ।
ऊ टेबलनजिकै पुगी ।
रजिस्टरमा घोप्टिएको मान्छेले उसको नाम सोध्यो । उसले आफ्नो पछाडि हेरी, ऊ पछाडिको मान्छे अलि परै थियो । धेरै लामो समयपछि उसको मुखमा आफ्नो नाम आयो ‘सावित्री’ ।
फोन नम्बर ?
सकिँदै गएको राहतको सामानमा आखा गाडेर उसले फोन नम्बर भनी ।
‘पेशा ?’
ऊ अल्मिलिई ।
‘सुन्नुभएन के काम गर्नुहुन्छ ?’ च्याँठिएको आवाजले सोध्यो ।
‘भारी बोक्ने हो ?’
‘हैन ।’
‘होटल, रेष्टुरेन्टमा काम गर्ने हो ?’
‘हैन, बेच्छु ।’
‘के बेच्ने’, सोध्नेको आवाजमा दिग्दारी मिसिएर आयो ।
‘आफ्नै ज्यान बेच्ने ।’ उसको आवाज अलि चर्को भयो । रजिस्टरमा घोप्टिएको टाउको ठडियो । उसको मुखमा क्वारक्वार्ती हेरेपछि भन्यो, ‘तपाईंको बारेमा सोध्नुपर्छ । लाइनबाट हट्नुस् ।’
धेरैबेर लाइनबाहिर उभिएपछि ऊ फेरि रजिस्टरअगाडि पुगी ।
उसलाई हेर्दै नहेरी मान्छेले भन्यो, ‘आजलाई सकियो । खाना मात्रै खाने भए गए हुन्छ ।’
ऊ रिसले उम्लिनै आँटेकी थिई । उसको मोबाइल बज्यो । छिमेकी दिदीको फोन थियो । हत्तपत्त उठाई, ‘के भयो ?’
‘बहिनी तिम्रो छोराले मलाई दिदी भन्यो ।’
‘कसरी ?’
‘टिभी हेरिरहेको थियो । एक्कासि दिदी भन्यो । ऊ अवाक भई । सबै आवाज घाटीमा आएर रोकियो ।’
फोनबाट फेरि आवाज आयो, ‘मम्मीसँग बोल ।’ एकैछिन चुपचापपछि मसिनो स्वरले अड्किँदै भन्यो– ‘भो…भोक लाग्यो ।’
उसको वरिपरि सबै चकमन्न भयो । केही सुनिन । मान्छेहरूको कोलाहल उसको कानमा पुगेन । मानाँै ऊ उभिएकी छ एकलास एकान्तमा,उसको कानभरि प्रतिध्वनित आवाज यति मात्रै छ ‘भो… भोक लाग्यो ।’
‘सुन्यौ’ फेरि दिदीको आवाज आयो ।
‘दिदी बाबुलाई केही नख्वाउनू । म आएर ख्वाउँछु ।’ उसलाई दौडेर डेरामा पुग्न मन लाग्यो ।
उसले फेरि दोहो¥याई, उसलाई केही नख्वाउनू । मनमा आपूmले छोरालाई काखमा राखेर ख्वाएको चित्र आयो । कल्पी, छोराले बिस्तारै भनेको,“आमा कहाँ गएकी थियौ ? कस्तो भोक लाग्यो ।”
‘ल छिटो आऊ ।’ दिदीले भनिन् ।
राहतको सामान सकिएकोले लाइन बसेका मान्छेहरू बिस्तारै पातलिँदै थिए । चौरमा अजङ्ग आवाज निकालेर हेलिकप्टर उड्यो । हेलिकप्टर उड्दा एक मुस्लो धूलो त्यहाँ खान बसेका मान्छेलाई छोप्दै उसको मुखसम्म आइपुग्यो ।
धूलो कम भएपछि उसले जेनीलाई फोन गरी–
‘केटी, कोही मान्छे छ ?’
‘भर्खरै आउन सक्छेस् ?’
‘आउँछु ।’
त्यति नै बेला म्यासेज आयो, ‘मसँग दुई पोका राहतको सामान छ । साँझ भेट्ने हो ?’
पछाडि फर्केर हेरी । अघि रजिस्टरमा घोप्टिएको मान्छे, हातमा फोन लिएर उसैलाई हेरिरहेको थियो ।
उसलाई दिगमिग लाग्यो । मास्क निकाली र भुइँमा फाली । मुखभरिको थुक जम्मा गरेर प्याच्च थुकी र फटापट जेनीको डेरातिर हिँडी ।
प्रतिक्रिया
-
४
-
१०