✍️ केशव राज ज्ञवाली

 

ससाना नानीहरूको संसारमा

देख्नुभयो भने

बादलको पखेटा

सपनाको उडान

नभन्दिनु उनीहरुलाई

पग्लिन सक्छन् तिनका पखेटा

र सपनाबिहिन ब्युझिन सक्छन उनीहरु

कुनै कठोर बिहानीमा

 

बिन्ति नबिथोल्नु नानीहरुलाई

जब बात मरिरहेका हुन्छन उनीहरु

पहाड, जंगल, जनावर र नदीनाला संग

सुनिरहेका हुन्छन निर्जीव पुतलीहरुको दुखेसो

 

पर्खिनुमात्रै त पर्छ उनीहरुको संसारमा

कहिलेकाही

सुदुर ब्रम्हाण्डका ताराहरु पनि टिलपिल टिलपिल गर्दै आइपुग्छन्

नानीहरु तिनीहरुका पनि कुरा सुन्छन् र

सिनित्त पुछिदिन्छन आशु

छोइदिन्छन् निधारमा कमला ओठहरुले

 

जान्ने भएर नासिकाउनु उनीहरुलाई

आफ्नो र बिरानोको फरक

रंगहरुको विभेद

नकोरिदिनु सीमारेखाको घेरा

नचिनाउनु भित्र र बाहिर

 

बिन्ति शिरमा हात राखेर

नदिनु आशिक गर्हुङ्गो ज्ञानको

नाखोस्नु अन्जान हुदाको जिज्ञासा

 

तपाइले पनि त देख्नु भएकै होला

सपनाको भारी बिसाएर

कसैको स्वर नसुन्नेगरि अग्लो भएको मान्छे

टाउकोभरि जान्ने हुनुको अहं बोकेर

जब आरुढ हुन्छ सिंहासनमा

र कल्पिन थाल्छ

चौबाटोमा आफ्नो मुर्ति

त्यो ठुलो मान्छे जडवत मुस्कुराई रहन्छ

पल प्रतिपल

आफ्नो मुर्ति जस्तै

सामुन्ने लाशहरुको लश्कर लाग्दा पनि

त्यतिबेला तपाइलाई पनि लाग्नेछ

त्यो निर्जीव मूर्तिभित्र कतै बचिरहेको भए पनि हुन्थ्यो

स साना नानीहरुको संसार

प्रतिक्रिया

सम्बन्धित खवर