✍️ केशवराज ज्ञवाली

 

यो पुस्तकले १२ जना छोरीहरूले आआफ्ना आमाको नसुनिएको कथालाई पाठकसामू ल्याएको छ । झण्डै सय बर्षको (१९८८/२०७८)को इतिहास अटाएको पुस्तकले कम्तिमा तीन पुस्ताका आमा र छोरीहरूको कथा भन्दछ। साहित्य अनुभूतिको इतिहास पनि हो, आमाहरूको कथा भन्दै गर्दा , वहाँहरूले बचेको समयको कथा ती कथाका भोक्ताहरूको अनुभव भिन्न र भिन्न रूपमा आएको छ।

अझ बिबिध भौगोलिक क्षेत्र र समुदायबाट आएका छोरीहरूको कथाले पुस्तकलाई ठूलो नेपाली समाजको आधा हिस्साको इतिहास लेखनको कारणले पनि महत्त्वपूर्ण बनाउछ। इतिहासलाई हिज स्टोरीको रूपमा मात्रै बढी लेखिएकोमा, यस पुस्तकले समयले भन्न छुटाएको हर स्टोरीलाई दमदार रूपमा प्रस्तुत गरेको छ।

यसमा धेरैजसो आमाहरूले आ–आफ्नो परम्परागत भूमिकालाई पूर्णरूपले अंगिकार गरेर, प्रचलित सामाजिक मर्यादाको पूर्णरूपले पालन गर्नु भएको छ। त्यसले समाजले निर्माण गरेको असल आमा/असल छोरी/असल श्रीमती/असल बुहारीको परिभाषा महिलाहरूको व्यक्तित्त्व विकास वा सामाजिक सहभागिताको दृष्टिबाट तगारोको रूपमा रहेको पुनपुष्टि हुन्छ। तर, सँगसँगैको सुखद् पक्ष, यो पुस्तकका लेखक छोरीहरू सबैले आ–आफ्ना आमाहरूले कोसिस गरेको र रोज्न चाहेको बाटोमा, अघिल्लो पुस्ताभन्दा सहजतापूर्वक अघि बढेको देखिन्छ।

यो पुस्तक पढीरहँदा सबैभन्दा बढी उघ्रेर आएको पाटो, आमाहरूको सङ्घर्ष र त्यो समयमा वहाँहरूले भोगेको दुःख हो। धेरैजसो आमाहरूले, परम्परागत भूमिका निर्वाह गर्दा गर्दै पनि, आ–आफ्नो ठाउँबाट, आफ्नै लागि र आफ्ना सन्तानका लागि सुन्दर समयको लागि थप कोसिस गर्नु भएको छ।

यो पुस्तकमा समेटिएको निर्मला राईको आमा, लक्ष्मीदेवी राईको कथा एउटा लोमहर्षक कथा हो। निर्मला राईले कुनै प्रसङ्गमा आफ्नो आमासँगको कुराकानी सुनाउदै भन्नु भएको थियो, “आमा भन्नु हुन्थ्यो , छोरी तेरो अगाडि बाघ नै आयो भने पनि एकपल्ट नलडी हार नमान्नु है।”

लक्ष्मीदेवी राईले भोगेको जीवनमा, वहाँले गरेका कामहरूमा, त्यो जीवन दर्शन प्रस्टसँग आउछ। ईश्वरादेवी थापाको कथामा, एउटी महिलाले भोगेको अनमेल बिबाह , बाल बिधवा भएको अवस्था र अरु अनेकौ प्रतिकुलतालाई जितेर, ३५ बर्षको उमेरमा पुनर्विवाह गरेको प्रसङ्ग छ। आफ्नो व्यक्तिगत जीवन सन्दर्भमा मात्र नभई, सार्वजनिक र राजनीतिक जीवनमा समेत ईश्वरा आमाले गर्नु भएको योगदान प्रसंसनीय र प्रेरक। पुस्तकमा यस्ता प्रेरक प्रसङ्गहरू धेरै छन्। यसर्थ पुस्तकले समस्यामात्रै भन्दैन, तत्कालिन समाजमा आमाहरूले सङ्घर्ष र सफलता समेत भन्दछ।

तत्कालिन नेपाली समाजका चाल–चलन, रिति÷संस्कृति चियाउने आँखीझ्यालका रूपमा पनि यो पुस्तक आएको छ । हाल प्रचलनमा नरहेका प्रसङ्गहरू, त्यो बेलाका सञ्चार, यात्रा र दैनिक जनजीवनका विविध पाटाहरूसमेत प्रसस्त समेटिएका छन्। पुस्तक अक्षर क्रिएसनको प्रकाशन हो।

प्रतिक्रिया

सम्बन्धित खवर