नेपाली साहित्यमा मुक्तक विधा निकै पुरानो भएर पनि यसलाई आकारगत रूपमा सानो भएकै कारण उपेक्षा गरिएको इतिहासले बताउँछ । नेपाली साहित्यका प्रथम कवि शक्तिबल्लभ अज्र्यालदेखि नै सुरु भएको नेपाली मुक्तकयात्रा अहिले करिब २५० वर्ष पुगिसक्दा समेत अझै साहित्यका अन्य विधा सरह स्थान पाउन नसकेको अवस्था छ । तथापि नेपाली मुक्तकमा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थाहरू मुक्तक विकास र उन्नयनमा सक्रिय तवरले लागिरहेका छन् ।

प्रविधिको विकाससँगै पछिल्लो समयको मान्छे आफूलाई समसामयिक विषयका हरेक सन्दर्भमा आफूलाई जानकार बनाउन तल्लीन देखिन्छ । फलस्वरूप समय अभावका कारण उसलाई लम्बेतान विचार, विमर्श र साहित्य पढ्ने फुर्सद पनि छैन । आकारगत रूपमा छोटो र भावगत रूपमा चोटिलो भएकै कारण अबको समय मुक्तकको समय हो भन्ने कुरामा दुईमत छँदै छैन । यसरी विकसित नेपाली मुक्तकमा यसको व्यापकतासँगै चुनौती समेत थपिँदै गएका छन् । भने नेपाली मुक्तकको विकासमा अझै गर्नु पर्ने तथा गर्न सकिने उपलब्धीहरू बाँकी समेत रहेका छन् । तिनै सम्भावना र चुनौतीहरू केलाउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो अध्ययन प्रतिवेदन तयार गरिएको छ ।

अध्ययनको पृष्ठभूमि

नेपाल मुक्तक प्रतिष्ठान नेपाली मुक्तकको विकास र विस्तारलाई आफ्नो मूल उद्घोष बनाएर स्थापित संस्था हो । यसका स्वदेश तथा विदेश चारैतिर विभिन्न शाखाहरू विस्तारित छन् । तिनै शाखाहरूमध्ये कोरिया शाखा पनि एक सक्रिय शाखाको रूपमा आफूलाई परिचित गराउँदै आएको छ । विभिन्न मुक्तक सम्बन्धी कार्यक्रमहरू, सम्मेलन, भेला, गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम गर्दै आएको यस शाखाले अन्तर्राष्ट्रिय स्तरको खुला मुक्तक प्रतियोगिता, मुक्तक कृतिहरू प्रकाशन तथा मुक्तक लेखन र प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

मुक्तक लेखन तथा प्रशिक्षण कार्यक्रम गरिरहँदा मुक्तक विधामा सिकारु मुक्तककारहरूका मननीय जिज्ञासाहरू प्राप्त भैरहन्छन् । त्यस्ता जिज्ञासा नेपाली मुक्तकका विषयमा रहेका मतभेदका कारण मेटाउन नसक्ने अवस्था समेत झेल्नुपरेको तितो यथार्थ हामीमाझ छँदै छ । यिनै कुराहरूलाई आत्मसात गर्दै यस्ता समस्याहरू विज्ञहरूबाट पहिल्याउनु साथै तिनको निराकरण गर्नुपर्ने आवश्यकतालाई महसुस गरियो । नेपाली मुक्तकमा नयाँ–नयाँ सम्भावनाहरू के–कस्ता रहेका छन् भन्ने कुरा समेत पत्ता लगाउनु पनि मुक्तक विकासको अपरिहार्य कार्य हुनाले यो अध्ययन गर्नै पर्ने कुरालाई नेपाल मुक्तक प्रतिष्ठान कोरियाको नियमित बैठकमा निर्णय गरी अध्ययन सुरु गरियो ।

अध्ययनको महत्त्व र आवश्यकता 
कुनै पनि विषयमा गरिने अध्ययनका छुट्टाछुट्टै महत्त्व रहने गर्छन् । समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौतीको अध्ययनको मुख्य महत्त्व भनेको मुक्तकको विकास गर्नु नै हो । समकालीन नेपाली मुक्तकलाई विभिन्न स्थान र परिवेशमा रहेर मुक्तक विकासमा जुट्नुहुने व्यक्तित्त्वलाई परेका असहजता साथै नेपाली मुक्तकको अबको मार्ग सुनिश्चित गर्न यो अध्ययन निकै महत्त्वपूर्ण हुने कुरा प्रष्ट छ । वर्तमानकालीन नेपाली मुक्तकमा देखिएका समस्याहरू के–कस्ता रहेका छन् ? यस्ता समस्याहरू हाम्रा मात्रै समस्या हुन् या सबैले झेलिरहनु भएको छ ? अन्य मुक्तक अभियन्ताहरूले कस्ता–कस्ता चुनौतीहरूको सामना गर्नुभएको छ त ? यस्तै प्रश्नहरूको जवाफ पत्ता लगाउन यो अध्ययन आवश्यक देखिन्छ ।

अध्ययनको उद्देश्य

समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयमा गरिएको यो अध्ययनको मुख्य उद्देश्य भनेकै नेपाली मुक्तकको विकास र श्रीवृद्धि गर्नु हो । यद्यपि, यसका उद्देश्यहरूलाई निम्न बुँदामा प्रस्तुत गर्न सकिन्छः

१. नेपाली मुक्तकमा देखिएका समस्यालाई पहिचान गरी तिनको निराकरण गर्न सहयोग पु-याउनु,

२. नेपाली मुक्तकमा नयाँ आयामको खोजी गर्नु,

३. नेपाली मुक्तकको वर्तमान अवस्थालाई अध्ययन गरी उचित मार्गनिर्देशन गर्नु,

४. विभिन्न विज्ञहरूबाट उचित सल्लाह लिई मुक्तक मानक निर्माणमा सहयोग पु-याउनु,

५. वर्तमानकालीन नेपाली मुक्तकमा देखिएका समस्याहरूलाई पत्ता लगाउनु,

६. पत्ता लगाइएका समस्याहरूको वर्गीकरण गर्नु,

७. वर्गीकृत समस्याहरूको समाधानका लागि आवश्यक सुझाव दिनु,

८. नेपाली मुक्तकलाई अगाडि लैजान गर्नुपर्ने आवश्यकीय सम्भावनाहरू निकाल्नु,

९. ती सम्भावनाहरूलाई पूरा गर्न गर्नुपर्ने कार्यको खोजी गरी आवश्यक सुझाब दिनु,

१०. मुक्तकसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरूलाई सम्भावना र चुनौतीहरूको जानकारी दिनु ।

अध्ययन विधि
समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती अध्ययनका क्रममा मुख्यतः शोध तथा अनुसन्धान विधि नै प्रयोग गरिएको छ । यसका अलावा कार्यसमिति सदस्यहरू र आमन्त्रित वक्ताहरूसँग गरिएको छलफल वा कुराकानी पनि निष्कर्षको कारक हुनाले छलफल विधिको पनि प्रयोग भएको मान्न सकिन्छ । वक्ताहरूको छनोट खुला एवम् समावेशी दुवै तरिकाले वैज्ञानिक तवरले गरिएको हुनाले नमुना सर्वेक्षण विधि जस्तो समेत हुन गएको छ ।

अप्रत्यक्ष रूपमा विविध विधि जोडिन आएतापनि मुख्यतः छलफल र अनुसन्धान विधि प्रयोग गरी निष्कर्ष निकाल्ने काम गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानका विभिन्न शाखाहरूबाट सिफारिस गरिएका वक्ता तथा खुला अन्लाइन पद्धतिअनुसार फारम भरेका स्रोताहरूद्वारा माग गरिएका समावेशी वक्ताहरूले दिइएको वक्तव्यलाई आधारित बनाएर प्रस्तुत अध्ययन सम्पन्न गरिएको छ ।

अध्ययनका सीमाहरू

कुनै पनि विषयमा गरिने अध्ययन निश्चित क्षेत्र तथा परिधिमा सीमित रहने गर्दछ । समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयक यो अध्ययनले पनि निश्चित क्षेत्रलाई अध्ययनको घेरामा राखेर तथ्यको खोजी गर्ने काम गरेको छ । यस अध्ययनमा प्रयोग वा छनोट गरिएका व्यक्ति तथा अध्ययन सामग्रीहरू पनि सीमित विषय र क्षेत्रमा केन्द्रित छन् । त्यसो त सम्पूर्ण विषय क्षेत्र समावेश गर्ने गरी अध्ययन गर्न असम्भव नै हुने गर्दछ ।

नेपाल मुक्तक प्रतिष्ठान काठमाडौं, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखा, नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखा, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं १ शाखा, नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा, नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा साथै मुक्तक मञ्च केन्द्रीय कार्यलयलाई समेत प्रतिनिधित्त्व हुने गरी यो अध्ययन केन्द्रित हुनुका साथै स्वतन्त्र मुक्तक अभियन्ताहरू सौरभ कारन्जित (बेल्जियम) र सुनिल अधिकारी (काठमाडौँ) समेत यो अध्ययन सीमाको दायरामा समावेश हुनुहुन्छ ।

निष्कर्ष
समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौतीहरूको अध्ययन विषयक यो अध्ययन प्रतिवेदन ‘समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौतीे’नामक विचार गोष्ठी सम्पन्न गरी सोही अनुरूप तयार पारिएको हो । गोष्ठीमा सहभागी वक्ताहरूको मौखिक तथा लिखित विचारलाई समेटेर नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका प्रतिवेदन लेखन समितिले तयार पारेको यो प्रतिवेदन पूर्णतः तथ्यपरक र वैज्ञानिक तवरले निर्माण गरिएको छ । जसका निष्कर्षहरूलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ः

सम्भावनाहरू

१.सर्वोत्कृष्ट विधा

प्रविधिको विकाससँगै मानवीय जनजीवन पनि निकै हतारको गतिमा चलिरहेको छ । आजको मानिस सामाजिक सञ्जालका प्रत्येक एप्लिकेसन आफ्नो मोबाइल फोन या कम्प्युटरमा राखेर बसेको छ । समाचार, पत्रपत्रिका, सिनेमा र विभिन्न छोटा तर रोचक विषयमा समेत सरसर्ती आफूलाई अपडेट गराउनु र जीवनयापनको दैनिकी चलाउँदा आजको मान्छे लामा लामा उपन्यास, कथा तथा काव्य पढेर बस्ने समय निकाल्न सकिरहेको छैन । तसर्थ यो समय मुक्तक जस्तो छोटो र चोटिलो प्रहार तथा प्रभाव दिनसक्ने विधाको समय हो भन्दा अत्युक्ति नहोला । तसर्थ मुक्तकको विकास र उन्नयनमा लागेका सङ्घसंस्था तथा अभियानकर्ताहरूले अलिकति मात्रै कसरत गर्ने हो भने नेपाली मुक्तक सर्वोत्कृष्ट विधा बन्ने निश्चित छ ।

२.सम्मान तथा पुरस्कारको स्थापना

नेपाली कविताको विकास गर्ने प्रथम कवि शक्तिवल्लभ अज्र्यालले नै मुक्तक लेखनको परम्परागत सुरुवात गरेको तथ्य भेटिन्छ । यसरी निकै पुरानो इतिहास बोकेको नेपाली मुक्तक विधाले आजको समयसम्म आइपुग्दा अन्य विधाको सापेक्षतामा आफूलाई दरो र खरो सावित गर्न नसकेको देखिन्छ । अन्य विधाका लेखकहरू साहित्यका धरोहरका रूपमा रहनु र विभिन्न पुरस्कार तथा सम्मान को स्थापना गरी त्यसबाट सम्मानित भएको अवस्था छ । तर मुक्तकको हकमा भने अझै पनि राष्ट्रियस्तरबाट पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यको विधिवत् सुरुवात नै भएको छैन भन्दा हुन्छ । तसर्थ यस्ता कार्य समकालीन मुक्तकमा सम्भावनाका रूपमा रहेका छन् ।

३. रङ्गमञ्च वा मेहफिलको विधा

पछिल्लो समय रङ्गमञ्चमा तथा सभा समारोह तथा अन्य विषय र विधाका कार्यक्रमहरूमा पनि मुक्तकको चटनी चखाएर कार्यक्रम सुरुवात गर्ने गरिएको पाइन्छ । यद्यपि मुक्तककै छुट्टै मेहफिल वा मञ्च भने बन्न सकिरहेको छैन । मुक्तकमा आफूलाई समर्पित गर्ने व्यक्तिहरूको अभाव र भविष्य नदेख्ने साहित्यकारहरूको पुरातनवादी सोचका कारण यस्तो बन्न गएको छ । यद्यपि वर्तमान मुक्तकले यस्ता प्रवृतिहरूलाई केही हदसम्म चिरिसकेको छ । अब मात्रै मुक्तक थियटर र मेहफिल सञ्चालन नभैसकेको हुनाले यसलाई महत्त्वपूर्ण सम्भावनाका रूपमा लिन सकिन्छ ।

४, पुस्तकालयहरूको स्थापना
नेपाली मुक्तकका विषयमा त्यति धेरै अनुसन्धानमूलक पुस्तकहरू प्रकाशित नभैसकेको अवस्था छ । मुक्तक कृतिहरू प्रकाशित भएका भएपनि तिनीहरू बजारमा सहज तरिकाले प्राप्त गर्न सकिने अवस्था नरहेको छ । त्यसका लागि अब मुक्तक लाइब्रेरी, विभिन्न ठाउँमा खोल्न सकिने सम्भावना छँदै छ । यसका अलावा इन्टरनेटमा ईपुस्तकालय त छन् तर त्यहाँ मुक्तक कृति नहुनाले पैसा तिरेर समेत मुक्तक कृतिहरू प्रविधि मार्फत पढ्न सकिने अवस्था छैन । तसर्थ यो पनि अबका दिनहरूमा गर्न सकिने सम्भावना हो ।

५. शोध अनुसन्धानको विषय

संस्कृत मुक्तक अग्निपुराणदेखि वर्णित छ । यसका बारेमा विभिन्न विद्वान्हरूले अभिमत दिइसकेका छन् । संस्कृत मुक्तकको इतिहास हजारौं वर्ष पुरानो छ । यो हामीले पढ्दै आएका छौं । उर्दु फारसी रुबाई निकै प्रचलित विधा हो । यसको इतिहास पनि आदिकालदेखि चल्दै आएको छ ।

यसलाई विभिन्न भाषामा अनुवाद र आमन्त्रण गरिएको छ । यी हामीले जान्दै आएका छौं । तर नेपाली मुक्तक १८३९–२०१० करिब १७१ वर्ष के कसरी बित्यो पत्तो छैन भन्दा पनि हुन्छ । किनकि यो समयमा लेखिएका रचनाहरूमा मुक्तकको शोध गर्ने दृष्टिले अनुसन्धान र विश्लेषण गरिएको पाइँदैन । अलि अलि गरिएका अध्ययनले पनि मुक्तकलाई कविताको उपविधाको रूपमा राखेर कविताकै अनुसन्धानमा केन्द्रित भएको पाइन्छ । तसर्थ अब समकालीन मुक्तकमा शोध अनुसन्धान सम्भावनाको विषय बन्न सक्छ ।

६. पठनपाठनमा समावेश

नेपाली मुक्तक निकै छोटो तथा प्रभावकारी साहित्यको विधा भएर पनि यसलाई अघिल्लो समयका पाठ्यक्रम निर्माताहरूले तथा अभियन्ताहरूले पाठ्यक्रममा समावेश नगरेको अवस्था छ । यसमा मुक्तक अभियन्ताहरूको चासो नभएर हो या पाठ्यक्रम निर्माताहरूले उपेक्षा गरी सुनुवाई नगरेर हो पाठ्यक्रममा समावेश गरेर विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययन अध्यापनको विषय नबनेको अवस्था छ । तसर्थ अबको मुक्तक किताबमा पढ्न पाइने, शोधमा अनुसन्धान गर्न सकिने तथा मुक्तककारहरूको जीवनी समेत विद्यालय तहका किताबमा राख्न सकिने सम्भावना बोकेको छ ।

७. विविधताको खोजी

नेपाली मुक्तक अहिलेसम्म मुक्तक भनेर सरासर आफ्ना भावनालाई एउटा प्रकारको संरचनात्मक शैली मिलाएर मात्रै लेखिँदै आएको पाइन्छ । यसका विविध पक्षसँग खेलेर फरक फरक विषय, संरचना र शैलीमा मुक्तक लेख्न सकिने अवस्था बनाउन सके अझै नेपाली मुक्तकले आफूलाई अब्बल पार्न सक्ने अवस्था रहन्छ । जसका लागि विषयगत मुक्तक भनेर सामाजिक मुक्तक, राजनैतिक मुक्तक, पौराणिक मुक्तक, प्रेमिल मुक्तक, जस्ता विभिन्न प्रकारमा मुक्तकको वर्गीकरण गरेर विविधताको खोजी गर्न सकिने सम्भावना छ ।

८. भाषिकागत मुक्तक वा अनुवाद

नेपालभित्र विभिन्न राष्ट्रिय भाषाहरू बोलिने गरिन्छन् । नेपाली भाषाकै पनि स्थानपरक भेदहरू रहेका छन् । ती राष्ट्रिय भाषा र भाषिकाहरूमा समेत मुक्तक लेख्न भने अझै सकिएको छैन । त्यति मात्रै होइन नेपाली मुक्तकलाई विभिन्न भाषा तथा नेपालका राष्ट्रिय भाषाहरूमामा अनुवाद गर्न सकिए नेपाली मुक्तकले अझै फड्को मार्न सक्छ । त्यसैले अनुवाद तथा विविध स्थानीय भाषामा मुक्तक लेखन पनि ठूलो सम्भावना हुन सक्छ ।

यसका साथै नेपाली मुक्तकलाई नेपाली साहित्यमा मुलधारको विधाको रूपमा स्थापित गराएर व्यवसायीकरण गरी विभिन्न मेला महोत्सवहरूमा मनोरञ्जनको विषय बनाउन सकिन्छ । प्रविधिमैत्री बनाई नेपालका राष्ट्रिय स्तरका टेलिभिजनमा मुक्तकका कार्यक्रमहरू राख्न सकिन्छ । नेपाली मुक्तकमा ठुला ठुला पुरस्कार राशिका प्रतियोगिता गरेर अझै लेखनतर्फ आकर्षित गर्न सकिन्छ । पछिल्लो समय युवाहरू नेपाली मुक्तकमा लालयित हुनाले युवाहरूलाई परिचालन गरी थप विकासमा लगाउन सकिन्छ । नेपाली मुक्तकको सैद्धान्तिक पक्षको अन्य मुक्तकसँग तुलनात्मक अध्ययन गर्न सकिन्छ । यस्ता थुप्रै सम्भावनाहरू समकालीन नेपाली मुक्तकमा रहेका छन् ।

चुनौतीहरू

१. संरचनागत मतभेद

नेपाली मुक्तक संस्कृत मुक्तक र उर्दू फारसी रुबाईबाट प्रत्यक्ष प्रभावित भएर विकसित विधा हो । संस्कृत मुक्तकको संरचना र रुबाईको संरचना नितान्त फरक संरचना हुन् । फलस्वरूप नेपाली मुक्तकको संरचनामा दुईमत सिर्जना हुन गएको छ । यसका अलावा नेपाली मुक्तकको तुक या अनुप्रास ? अनुप्रास या अन्त्यानुप्रास ?? यस्ता विषयमा फरक फरक मत समकालीन नेपाली मुक्तकको चुनौती बनी विकासमा बाधक हुन पुगेको छ ।

२. आकारगत अस्पष्टता

नेपाली मुक्तक लेखनको इतिहासदेखि नै लेखकहरूमा एकरूपता भेटिएको पाइँदैन । पुराना मुक्तककारहरूमा दुई हरफदेखि तेह्र हरफ सम्मका मुक्तक हुन्छन् भन्ने विषयमा फरक फरक धारणा विकसित भएको पाइन्छ । तिनै मुक्तककारद्वारा दीक्षित शिष्यहरूमा समेत त्यसको प्रभाव ग्रहण गरी मुक्तक लेख्ने काम अहिले पनि भैरहेको छ । फलस्वरूप वि.सं.२०७० को घोषणापत्र पनि नमान्ने र चतुष्पदीय मुक्तकको अवधारणा नस्वीकार्ने मुक्तककारहरू अझैसम्म विद्यमान हुनु समकालीन नेपाली मुक्तकको चुनौती बन्न पुगेको छ ।

३. शैलीगत अस्पष्टता

नेपाली मुक्तक संस्कृत शास्त्रीय मुक्तक र उर्दू फारसी रुबाई रुबाइयातबाट प्रभाव ग्रहण गरेर विकसित विधा हो । तसर्थ संस्कृत भाषाका अनुयायीहरूले संस्कृतकेन्द्री र उर्दू फारसी मुक्तकका समर्थकहरूले रुबाई शैलीका मुक्तक लेख्दै आएको पाइन्छ । परिणामस्वरूप नेपाली मुक्तकमा अन्य भाषाका मुक्तककृतिको प्रत्यक्ष प्रभाव पर्न गई शैलीगत मतभेद सिर्जना भएको देखिन्छ ।

४. समर्पित अभियन्ताको अभाव

समकालीन नेपाली मुक्तक स्वादिलो चोटिलो र लोकप्रिय विधा भएर पनि विकसित बन्न नसक्नुको मुख्य कारण समर्पित अभियन्ताको अभाव पनि हो । अग्रज अभियन्ताले स्वतन्त्र विधालाई उपविधाको रूपमा स्वीकार्नु, मुक्तक लेखेर भविष्य नदेखेझैं गरी अथवा मुक्तकमा पुरस्कार, सम्मान तथा पदवी नमिल्ने हुनाले अन्य विधातर्फ आकर्षित हुनु, तथा एकाध अभियन्ता बाहेक नेपाली मुक्तकको इतिहासमा अन्य मुक्तककार समर्पित नहुनुले नेपाली मुक्तकमा थप चुनौती सिर्जना भएको छ ।

५, मानक अवधारणा

नेपाली मुक्तक अहिलेको समयमा चर्चामा आएको भएतापनि केही दशक अघिसम्म नेपालको कुनै निश्चित भूगोलमा मात्रै केन्द्रित भएर संरचित भएको इतिहास पाइन्छ । त्यति मात्रै नभएर साहित्यका जुनसुकै विधा पनि जतिजति लोकप्रिय हुँदै जान्छन् त्यतित्यति तिनीहरूको सैद्धान्तिक पक्षमाथि खोज, अनुसन्धान हुने गरेको तथ्य हामीसामु छर्लङ्ग छ । नेपाली मुक्तक पनि यही परिपाटीको मारमा परेर हुर्कन नसकेको देखिन्छ ।

जब राम्रोसँग हुर्कन सक्दैन त्यसका विविध पक्षको चर्चा हुन सक्दैन र मानक निर्माणको त कुरै छोडौं । समकालीन नेपाली मुक्तकमा पनि यस्तै अवस्था छ । २०७० को ५ बुँदे घोषणा नै मानक मानेर मुक्तकका विशिष्ट पक्षमाथि थप अध्ययन गर्न जटिलता थपिँदै गएको विषय पनि वर्तमानमा चुनौती बन्न पुगेको छ ।

६. उपेक्षित विधा

भौतिक आकार र प्रकृतिका आधारमा कुनैपनि चिजको मूल्याङ्कन गरिने प्रक्रिया हाम्रो संस्कार नै बनिसकेको अवस्था छ । यो परिपाटी नेपाली मुक्तकमा पनि प्रत्यक्ष चलेको पाइन्छ । फलस्वरूप मुक्तक उपविधा बन्यो । चिनिन अरु विधाको आश्रय लिनुपर्ने अवस्था सिर्जना भयो । त्यतिमात्र होइन मुक्तकले आफूलाई अरूविधाको छायाँमा रहेर उन्नयनको क्रममा बन्दी बस्नुप¥यो । सुन्दा तीतो लागेपनि यो यथार्थ हो ।

मुक्तक अभियान चलाउनेलाई कसैले नचिनेपछि ऊ कविता लेख्न थाल्यो, उपन्यास लेख्न थाल्यो र राष्ट्रियस्तरका ठूलाठूला पुरस्कार तथा सम्मानद्वारा विभूषित बन्यो । यसरी नेपाली मुक्तकको घाँटीमा पञ्जा राखियो । यो क्रम अहिलेसम्म पनि छ । साहित्यका विभिन्न कार्यक्रम गर्दा मुक्तकलाई स्टेज नदिने, त्यो त नाथे मुक्तककार हो भनेर हेयको दृष्टिबाट हेर्ने प्रचलन अहिले पनि चुनौतीको विषय बनेको छ ।

यी बाहेक मुक्तक र रुबाईमा फरक छ भन्ने जनमानसमा चेतना नहुनु, मुक्तक लेखन र वाचनका सन्दर्भमा अग्रज अग्रजबिच कुरा नमिल्नु, अग्रज, समकालीक र अनुजबिच दुरी हुनु, सिक्ने सिकाउने पाठशाला नहुनु, मुक्तक पुस्तकालय र ईपुस्तकालय नहुनु, जनचेतनास्तरमा मुक्तकको बारेमा स्पष्ट जानकारी नहुनु, मुक्तकको काम गर्ने सङ्घसंस्थाहरू धेरै ठाउँमा विस्तारित नहुनु जस्ता थुप्रै चुनौती नेपाली मुक्तकमा विद्यमान छन् । त्यति मात्रै होइन सम्भावनामा रहेका कुराहरू सम्भावना बनेर रहनु र पूरा नहुनु पनि ठूलो चुनौती हो ।

सुझावहरू

समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौतीको अध्ययनका विषयमा केन्द्रित भएर गरिएको यस अध्ययनको उद्देश्य र अध्ययन पश्चात प्राप्त निष्कर्षहरूलाई मनन् गर्दै बुँदागत रूपमा सम्बन्धित निकायहरूलाई निम्न सुझावहरू दिन सकिन्छ:–

१. नेपाली मुक्तकमा क्रियाशील पुराना पुस्ता, समकालीक पुस्ता र नयाँ युवा पुस्ताका मुक्तककारहरू बसेर यसका सैद्धान्तिक पक्षमा छलफल गर्नु आवश्यक छ ।

२. छलफलबाट मुक्तकका ससाना पक्षमा समेत अन्योलता नहुने गरी निचोड निकाल्नु आवश्यक छ ।

३. रुबाई, गजल र अन्य काव्यका विधाहरूका लेखकसँग सहकार्य गर्दै स्वतन्त्र विधाको रूपमा नेपाली मुक्तकलाई स्थापित गराउन मानक निर्माण गर्नु आवश्यक छ ।

४. मानक निर्माणपछि मुक्तकलाई पाठ्यक्रममा समावेश गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र जस्ता निकायमा समन्वय गरी आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

५. नेपाल प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गरी राष्ट्रियस्तरको मुक्तक महोत्सव गर्नुपर्ने देखिन्छ ।

६. सरकारी रूपमा मुक्तक विधाका पुरस्कार, सम्मान तथा मुक्तक विकास गुठीको स्थापना गर्न पहल गर्नुपर्ने देखिन्छ ।

७. नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्न विभिन्न भाषामा अनुवाद गर्नुपर्ने देखिन्छ ।

८. नेपाली मुक्तकको इतिहास लेख्न जरुरी देखिन्छ ।

९. नेपाली मुक्तकको विषयमा थप अध्ययन, शोध तथा अनुसन्धान गर्न पहल गर्नुपर्ने देखिन्छ ।

१०. मुक्तकका पुस्तकहरू देशका सबै पुस्तकालयमा उपलब्ध गराउनुपर्ने देखिन्छ ।

११. ईपुस्तकालय स्थापना गरेर वा आधिकारिक वेभ पेज खोलेर मुक्तक सम्बन्धी जानकारी सबैलाई प्रदान गर्नुपर्ने देखिन्छ ।

१२. नेपाली मुक्तकमा विविधताको खोजी साथै अन्य भाषाका मुक्तकसँग तुलनात्मक अध्ययन आवश्यक देखिन्छ ।

१३. मुक्तकसम्बन्धी विभिन्न संस्था खोल्न साथै संस्थाका शाखा विस्तार गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

१४. मुक्तक तालिम, प्रशिक्षण र अन्तर्क्रिया कार्यक्रमहरू गरिरहन आवश्यक देखिन्छ ।

माथि दिइएका बुँदालाई मनन गरेर नेपाली मुक्तकको विकास विस्तारमा सम्पूर्ण अभियन्ता तथा सङ्घसंस्थाहरू लाग्ने हो भने नेपाली मुक्तक स्थापित पहिलो दर्जाको विधाका रूपमा विकसित हुनेछ । तसर्थ सम्पूर्ण मुक्तकप्रेमी व्यक्तित्व तथा संस्थाहरूमा उल्लेखित सुझावलाई मनन गरेर सोही अनुरूप क्रियाशील रहन हार्दिक अनुरोध छ ।

परिशिष्ट १

समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा सहभागी वक्ताहरू

१. डा. रूपक श्रेष्ठ बेलायत

२. डा. मधुकृष्ण श्रेष्ठ अमेरिका

३ आनन्द श्रेष्ठ अमेरिका

४ वियोगी बुढाथोकी काठमाडौं

५. दुर्गाप्रसाद पोखरेल बेलायत

६ बाबुराम पोख्रेल प्रदेश नं. १

७. सुरेन्द्र प्रसाईं इजरायल

८. लक्ष्मण थापा पोखरा

९. दिपक समीप पोखरा

१०. रामचन्द्र शर्मा कोरिया

११. मदन भण्डारी प्रदेश नं. १

१२. सुनिल अधिकारी काठमाडौं

१३. सौरभ कारन्जित बेल्जियम

परिशिष्ट २

समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा फारम भरेर सहभागी स्रोताहरू:

आर एन, प्रचण्ड सापकोटा, टि।आर क्षत्री, प्रकाश विश्वकर्मा, ऋषि सापकोटा, निर्दोष शिव, डम्मर कार्की, अरविन्द्र शाही, गणेश साउँद अछामी, डिबी बल तामाङ, सुनाखरी निर्मला आचार्य, सन्तोष मगर, सुशील अर्याल, गणेश जोशी रिमाल, तुलसा भट्टराई, सोतन्त्र नेपाल, मेलिना सिंह ठकुरी, विनायक पन्त, बाबुराम भट्टराई, महेश विष्ट, स्टार मंगोल, चिरन्जिवि पाण्डे, बचनराज जोशी, मदन घिमिरे, राजेश सुवेदी, तारस घिमिरे, बद्री उप्रेती, समिर संगम महतारा, हिरा अधिकारी, माधव आचार्य, के.बि पारखी, नवराज निश्चल, विशाल श्रेष्ठ, आर.पि.सि.संगम, नरेश बिश्वकर्मा कान्छा, जीवन भण्डारी, भक्ति प्रसाद आचार्य, दिप रावल, अनुराग के. सी., राम सुबेदी रुशन, राज शर्मा, लोकराज न्यौपाने, तपेन्द्र बिष्ट, नवराज विष्ट ‘सफल’, शिशिर पोख्रेल, दिनेश पुन, भुपेन्द्र बुढा, कमला भण्डारी ढकाल, पारस मणि, गोम विक्रम, हेमन्त आशु, तेजबहादुर गुरुङ, छत्र बहादुर धामी, प्राञ्जल, रामजी प्रसाद आचार्य, लक्ष्मण खड्का, उर्मिला कार्की, प्रवेश खनाल, प्रतिमा के।सी।, भोजराज घोडासैनी, कबिराज शंखर कञ्चन, डी।आर। न्यौपाने ’सूर्य’, आर।के। निश्चल (रमेश खत्री), सुन्दर श्रीपाली, पदम पाण्डे, राम बहादुर परियार ‘सुशान्त’, प्रकाश खनाल, रुद्र कँडेल, सुमन ढकाल, सञ्जय खनाल, हेमराज पोखरेल दिपक, सन्ध्या देवकोटा सहयात्री ।

केही समय अगाडि नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाद्वारा आयोजित ‘समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयक विचार गोष्ठी’ अनलाइन कार्यक्रम भएको थियो । उक्त गोष्ठीको मुक्तक विधा सम्बन्धित ‘समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती’ शीर्षक यो प्रतिवेदन मुक्तककार सुनिल अधिकारीले उपलब्ध गराउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर