
✍️ विपिन सलामी
गजल – १
घर भएर मात्रै पनि घर नहुने रहेछ
सबै अग्लो डाँडो गौरीशंकर नहुने रहेछ
कसैले हसियाँ उध्याएको त्यो ढुङ्गो हुँ
ढुङ्गा हुँदा त आफ्नै खबर नहुने रहेछ
जति घुमाए पनि त्यो जादुगरले छडी
गाउँघरको समस्या छुमन्तर नहुने रहेछ
यशोदा माईको हातको डोरीजस्तो जिन्दगी
कृष्णको लीलाजस्तो सुन्दर नहुने रहेछ
ऊ तलाउँ हुँ भन्छ, ढुङ्गा हानौँ साथीहरू
असर हुने रहेछ कि असर नहुने रहेछ
गजल – २
बर्षौ अघि हो मौसम बदलिएको त
किन फेरि यो बर्षात नरोकिएको त ?
म यो गल्तीको पुरानो दरबार हुँ
सेल्फी खिचेपछि हुँ चिनिएको त
लाज पोखिँदैछ बजारमा खुलेआम
स्तन मात्रै त रहेछ छोपिएको त
कि यो गङ्गा कसका लागि बगरिहन्छ
अक्सर यही प्रश्न हो सोधिएको त
कमसेकम तिम्रा ओठमा हाँसो ल्याएँ
तिम्रो काम लागेछ म रोइदिएको त
म खाम सुराकीको राजजस्तो थिएँ
उसको घरमा पुगेर हुँ खोलिएको त
तेरो ‘सलामी’ सुगन्ध बरकरार नै छ
जमाना बितिसक्यो तँ चुँडिएको त
प्रतिक्रिया
-
४
-
१०