✍️ दिपक राज

मुक्तक – १

कोही सिक्दै छन् केही धेरै जान्नेहरु छन्

कोही भने आफैंलाई महान् ठान्नेहरु छन्

दुस्खी नहुनुहोस् हजुरको खुट्टा ताने भनी

खुट्टा तान्नेहरूका पनि खुट्टा तान्नेहरू छन् ।

मुक्तक – २

भोली साथ कसले दिन्छ थाहा हुँदैन

विपक्षमा को उभिन्छ थाहा हुँदैन

बाचुन्जेल कसैलाई दुखाउन नपरोस्

जिन्दगानी कहाँ टुङ्गिन्छ थाहा हुँदैन ।

मुक्तक – ३

सोच्दछु के पो गर्दै होली निद्रा लाग्दैन

खाए पनि निदकै गोली निद्रा लाग्दैन

यो मायाँ प्रेममा यस्तो सम्म हुने रहेछ !

नसुनेसम्म उसको बोली निद्रा लाग्दैन ।

मुक्तक – ४

मुठी होइन मानो होइन पाथी सोचेको थें

सम्बन्ध छ हाम्रो निकै माथी सोचेको थें

आँखा बन्द गर भनी छुरा रोपी गयौँ

मैले तिमीलाई असल साथी सोचेको थें

मुक्तक – ५

खुसी हुनु सुखी हुनु मलाई नसम्झनू

कहिल्यै पनि नरुनु मलाई नसम्झनू

धन सम्पत्ति र अवसरले अलग गरायो

सफलताले शिखर छुनु मलाई नसम्झनू

प्रतिक्रिया

सम्बन्धित खवर