
– दीपक राज
१,
ब्यावहारको देखालो थाहा छ हामीलाई पनि,
कसको हो खेतालो थाहा छ हामीलाई पनि,
भ्रष्टाचार गरे मरूँ भन्दै किरिया खान्छ अझ !
दुधको साक्षी बिरालो थाहा छ हामीलाई पनि ।
२,
आपत पर्दा पाउ छुन्छ भन्ने थाहा थियो,
मौका मिल्दा जाल बुन्छ भन्ने थाहा थियो,
हात थाप्ने मान्छेले धारेहात लगाउन थाल्यो,
एकदिन पक्कै यस्तै हुन्छ भन्ने थाहा थियो ।
३,
जिन्दगीमा अवसरहरू थपिदै गएका छन्,
योजनाका लस्करहरू थपिदै गएका छन्,
खालि हात हो जाने भन्ने थाहा हुँदाहुँदै,
बाचुञ्जेल झन रहरहरू थपिदै गएका छन् ।
४,
हरबखत बदलीरहन्छ मोड यस्तै यस्तै छ,
जिन्दगीको घटाउ जोड यस्तै यस्तै छ,
स्वागत गर्नु पर्ने कहिले बिदाइ गर्नु पर्ने,
कहिले मिलन कहिले बिछोड यस्तै यस्तै छ ।
५,
खुसी हुनु सुखी हुनु मलाई नसम्झनू,
कहिल्यै पनि नरुनु मलाई नसम्झनू,
धन सम्पत्ति र अवसरले अलग गरायो,
सफलताले शिखर छुनु मलाई नसम्झनू ।
***
प्रतिक्रिया
-
४
-
१०