✍️ अजित क्षेत्री

करिब पचास बर्ष अघि नेपालीहरुको रोजगारी भनेको कि भारतमा मजदुरी थियो कि भारतिय सेनामा भर्ती । नेपालमा रोगजारीको अवसर भनेको नगण्य नै थियो । युवाहरु बिहानै उठ्नु दौडनु, शारीरिक ब्यायाम गर्नु र भारतिय सेनामा भर्तिको लागि तयारी गर्नुं ।

सके भर्ती हुनु, नसके भारतिय शहरहरुमा सेक्युरिटी र अन्य काममा नोकरीमा भासिनु । करिब पाँच दशक भारतिय शहर नै नेपालीको प्रमुख रोजगारको गन्तव्य बन्यो । बेलायती सेनामा भर्ती भएर मनग्यै पैसा आउने भए पनि त्यो केही सय या केही हजार युवाको लागि मात्र हुन्थ्यो ।

सन् ८० को दशकमा अरबमा रोजगारीको ढोका खुलेपछि युवाहरु त्यतै भासिए । नब्बेको दशकमा नेपालमा भएको युद्धले हजारौं युवाहरु अरब र तेश्रो मुलुकमा भासिन बिबस भए । बिद्यालय कलेज बन्द भए, तोडिए, फोरिए, देशमा निरन्तर बन्द हडताल, युद्ध भए , नपढेका मात्र होइन पढेका युबाहरु पनि बिदेशिए । युद्ध सकियो, देशले शान्तिको युगमा प्रबेश त गर्‍यो तर नेपाली युबा श्रमिक बिदेशिने क्रम भने यथाबत चलिरह्यो । शान्ती सम्झौतापछिको देढ दसकमा पढ्नका लागि भन्दै रोजगारीको लागि बिदेशिने युबाको संख्या पनि लाख नाघ्यो ।

तर परदेशको नोकरी सजिलो छैन । खाडी, अमेरिका युरोप, अष्ट्रेलिया सपना देख्नु त रमाईलै होला तर ब्यवहारमा यो त्यति सहज छैन । कोहि बाकस भरेर पैसा पठाउँछन् कोहि आफैं बाकसमामा भरिएर आउँछन्, कतिका घरबार बिग्रेका छन् कति उतै हराएका छन् ।

नेपालीका यिनै परदेश सपनामा पचास बर्ष अगाडि देखि नै कथा लेखिंदै आए सुनिंदै आए, र आजपनि लेखिईरहेका छन् पढिईरहेका छन् । लक्ष्मीप्रसाद देबकोटाले लेखेको मुनामदन आजपनि सबै भन्दा बढि बिक्री हुने पुस्तक हो । मुनामदनमा मदन भोट गएको र बियोगमा मुनाले देह त्याग गरेको बियोगान्त कविता पढेर हुर्केको आजको युबा एकदिन आफै मदन बनेर बिदेश पुगेको छ, लाखौँ मुनाहरु घरपरिवार, श्रीमान बच्चा छाडेर परदेशिन बाध्य बनेका छन् ।

यस्तै कथाहरुलाई उनेर सरु अर्यालले लेखेको उपन्यासको नाम हो बिस्मरण । लेखक आफै कानुनको विद्यार्थि हुन् र वकालत उनको पेशा हो । उनले उपन्यासमा आफैलाई नै मुख्यपात्रको रुपमा प्रस्तुत गरेकी छन् । उपन्यास नारीप्रधान नभएर सामाजिक बिषयवस्तुमा लेखिएको छ । पढेर देशमै राम्रो रोजगारी गर्ने सुन्दर सपना देखेर कलेजमा कानुन बिषय पढिरहेकी यौटी युबतिले बिबाह पश्चात् के के समस्या झेल्छिन् र उनी कसरी बिदेशिन बाध्य हुन्छिन् भन्ने बिषयलाई लेखकले सजिलो भाषामा प्रस्तुत गरेकी छन् ।

बिदेशमा के कस्ता समस्या आउँछन्, कस्ता कस्ता मान्छे भेटिन्छन्, परदेश जीबनमा मान्छे कसरी बाँचेको हुन्छ भन्ने कुरालाई लेखकले उपन्यासमा सजिब चित्रण गर्न सफल भएकी छन् । परदेशबाट फर्केपछि श्रीमानबाट पाएको धोकाले कथाको म पात्रको मात्र मथिङ्गल हल्लिन्न पाठक पनि स्तब्ध हुन पुग्छ । उपन्यास यहि बिन्दुमा पुगेर सकिएको छ ।

पुस्तकको नाम : बिस्मरण
पुस्तकको मूल्य : ३०० रुपैयाँ
प्रकाशक : बिएन पुस्तक संसार काठमाडौं
लेखक : सरु अर्याल
पेज संख्या : २३१

कथा र प्रस्तुतिकरणको हिसाबले उपन्यास मध्यम खालको उपन्यास नै हो । एक दुई बसाईंमै पढी सकिने यस पुस्तक पढेर बौद्धिक लेखक प्रभावित नहोलान् तर युवा पाठकलाई यात्राको साथी बन्न सक्छ । उपन्यासमा कथालाई अनावश्यक लम्ब्याईएको छैन, घटना र परिवेशहरु पुनरावृत्ती भएका छैनन् त्यसैले पाठकले बिचैमा बुस्तक बन्द गरेर हिड्नु पर्नेछैन ।

पुस्तकमा जटिल भाषाको प्रयोग छैन । एक दर्जन पात्रहरु छन् तर उपन्यासको सम्पुर्ण घटना र बिषयवस्तु म पात्रकै वरपर घुमिरहेको छ र म पात्रको नाम नै अनु रहेको छ । अनुले अष्ट्रेलिया गएर खाएको हन्डर र स्वदेश फर्केपछि श्रीमानबाट खाएको धोका नै पुस्तकको मुल बिषयवस्तु भएकाले बिदेश जाने सपना पाल्ने युबाहरुले यो पुस्तक पढेपछि केही न केही सन्देश पक्कै प्राप्त गर्नेछन् ।

आकारका हिसाबले पुस्तक राम्रो छ, आबरण पृष्ठ आकर्षक छ, मूल्य चर्को छैन । सम्पादनमा कहिं कतै त्रुटि देखिएको छ । लेखकले अझै मेहनत गर्न सक्ने ठाउँ प्रसस्तै देखिन्छ । उपन्यासका सहायक पात्रहरुलाई अझै ससक्त बनाउन लेखक चुकेकी छन् ।
केही कमजोरीलाई नजरअन्दाज गर्ने हो भने गत बर्ष बिएन पुस्तकले बजारमा ल्याएको यो पुस्तक युवाहरुले पढ्नुपर्ने पुस्तकको रुपमा सिफारिस गर्न सकिने पुस्तक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर