– श्रवण मुकारुङ

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब
केछ त्यस्तो कुरा…?

सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?

अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेटलन्चर
वा-
जैविक हतियार
अथवा-
अन्तर्राष्ट्रिय गीत…?

घर जलाइदियौ घरसँगै –
उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गादोजल्यो
बक्खु, धोती र हाकुपटासी जल्यो
थाहा छ
ऊ किन जलेन ?

उसलाई आतङ्ककारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम यातनाले
उसका विनयी हातहरू छिनालिए
निर्दोष आँखा र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
उसको पृथिवीजस्तो मुटुलाई
सङ्गिनले उनेर
विजयको हुङ्कार गर्यौ
तर थाहा छ
ऊ किन मरेन ?

यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब
केछ त्यस्तो कुरा…?

भाषा ?
धर्म ?
जाति
संस्कृति, सम्प्रदाय, राष्ट्रियता वा-
मानवअधिकार
अथवा –
सुप्रिम अमेरिका ?

तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा…?
जसले –
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ
के तिमी –
खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
के तिमी –
पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?

के तिमी –
समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ ?

तिमीसित अब
केछ त्यस्तो कुरा…
भन । के छ ?
जसले –

यस धरतीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर