-बिमला दाहाल

गजल – १

फुल जतिसुकै सुन्दर भएपनि झरेर सकिनु पर्छ
समय शिकारी हो सबै शिकार बनेर सकिनु पर्छ

हजुर मालिक भए भनेर के घमण्ड गर्नु हुन्छ
आगो हु भन्नेहरु आगोमा जलेर सकिनु पर्छ

सबै अमुल्य बस्तुको अन्त्य सुखद कहाँ हुन्छ
चन्दनलाई हेर्नुुस पल पल घोटिएर सकिनु पर्छ

अरुलाई पाउने चाह राख्नु आफुलाई गुमाउनु हो
सागरलाई भेटने आशमा नदी बगेर सकिनु पर्छ

तिम्रो आकाशमा उड्नु छैन भुइमा नै खुशी छु
तिमी पनि एक दिन जमिनमै टेकेर सकिनु पर्छ

गजल – २

नजिकै सिन्दुर पोते चुराको हाट बजार लाग्यो
अरुलाई रमाइलो लाग्यो बिधवालाई दिक्दार लाग्यो

हिजो जस्तै लाग्छ रगतमा पौडी खेलेर जन्माएको छोरो
कति ठूलो भएछ जान्छु समेत नभनी कतार लाग्यो

यो मृत्युले जितेको जिन्दगीले हारेको समय रहेछ सखी
एउटा जलेर सकिएकै छैन अर्को फेरि चितामा लम्पसार लाग्यो

सोच आफ्नो आफ्नो भनेको यहि होला सायद
उस्ले पासो सोचेर दिएको मफलर मलाई उपहार लाग्यो

प्रतिक्रिया

सम्बन्धित खवर