केशव दाहाल नेपाली साहित्य, राजनीति र समाजका विषयमा निरन्तर कलम चलाउँदै आएका लेखक, उपन्यासकार, निबन्धकार तथा स्तम्भकार हुन् । लोकतन्त्र, सुशासन, इतिहास, सभ्यता, सामाजिक न्याय, मानवीय स्वतन्त्रता र परिवर्तनका प्रश्नमा सक्रिय वैचारिक हस्तक्षेप गर्दै आएका उनको पहिलो प्रकाशित कृति ‘नेपाली राजनीतिको पुनर्गठन’ (२०७३) हो । उपन्यास ‘मोक्षभूमि’ (२०७७) ‘माधवी ओ माधवी’ (२०७९) निबन्ध सङ्ग्रह प्रकाशित गरेका उनको उपन्यास ‘इथा’ (२०८२) प्रकाशित भएको छ । करिब २४ सय वर्षअघिको ऐतिहासिक, मिथकीय र लोककथात्मक परिवेशमा आधारित यो उपन्यास यस वर्ष मदन पुरस्कारको छोटो सूचिमा समेत समावेश भएको छ । उपन्यास इथाको सेरोफेरोमा रहेर उपन्यासकार केशव दाहाललाई सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उपन्यासकार दाहालको जवाफ;

१) उपन्यास इथा मदन पुरस्कारको श्रेष्ठ १० पुस्तकको सूचीमा पर्न सफल भएकोमा बधाई छ। मदन पुरस्कारको छोटो सूचीमा इथालाई पाउँदा कस्तो महसुस भइरहेको छ?

इथा मदन पुरस्कारको श्रेष्ठ दशको सूचीमा देख्दा म हर्षित छु।

खासमा म अहिले इथासँग सदावहार सन्तुष्ट छु। त्यसका लागि म मेरा शुभेच्छुक र पाठकहरूलाई धन्यवाद दिन चाहन्छु। किनभने, उहाँहरूले प्रेम र सद्भावका साथ इथा पढ्नुभयो। त्यसको भावधारालाई आत्मसात् गर्नुभयो। त्यसभित्र निहित गहिराइ बोध गर्नुभयो। र इथालाई एक गम्भीर आख्यानको दर्जा दिनुभयो।

यो सबै एक लेखकका लागि अपार उत्प्रेरणा र खुसीको कुरा हो।

मलाई लाग्छ, नेपाली पाठकहरूमा आख्यानको आफ्नै स्थान छ। हाम्रा पाठकहरू आख्यान पढ्न मन पराउँछन् र कल्पनाको अनन्त भावधारामा रमाउन चाहन्छन्। उनीहरूलाई लाग्छ, आख्यानमा त्यो रस, रङ, प्रेरणा र जीवन–सौन्दर्य पाइन्छ, जो उनीहरू खोजिरहेका हुन्छन्।

यो अर्थमा इथाले पाठकहरूको अतिशय प्रेम र विश्वास प्राप्त गरेको छ, जो मेरा लागि अपार आनन्दको कुरा हो। मलाई लाग्छ, मदन पुरस्कारको श्रेष्ठ सूचीमा इथालाई पाउनु, इथाप्रति मेरा पाठक र समीक्षकहरूले दिएको त्यही विश्वासको प्रतिफल हो।

२) यो कस्तो उपन्यास हो? इथाका बारेमा छोटो जानकारी गराइदिन अनुरोध छ।

इथा करिब दुई हजार चार सय वर्षअघिको समयलाई आधार बनाएर लेखिएको आख्यान हो। यो त्यो समयको कथा हो, जतिबेला पूर्वीय सभ्यतामा राज्य निर्माण, गणतान्त्रिक अभ्यास, धर्म, दर्शन, युद्ध, प्रेम र शक्तिका विमर्शहरू एकैसाथ यत्रतत्र पल्लवित भइरहेका थिए।

यो उपन्यासभित्र मैले गङ्गा मैदान र हिमालयखण्डमा स्थापित फरक सभ्यताहरूलाई एकाकार गरेर मानवीय सभ्यताको इन्द्रेणी बनाउने प्रयत्न गरेको छु।

जुन इन्द्रेणीभित्र किराँत सभ्यताको सांस्कृतिक जग, वैदिक सभ्यतामा निहित जीवन पद्धति, बुद्धकालीन ज्ञानमीमांसा, हाम्रो उपत्यका लगायत दक्षिणका मगध, वज्जी, मल्ल, कोशल, काशी र अङ्गजस्ता शक्तिशाली जनपदहरूको शासकीय मनोविज्ञान, युद्ध, प्रेम र जीवनको रङ–तरङ समाहित गरेको छु।

जहाँ केन्द्रीय पात्रका रूपमा उपस्थित छन्, चार महिलाहरू।

यो उपन्यासले महिलाहरूको स्वाभिमान र स्वतन्त्रताको उद्घोष त गर्छ नै, सँगै लिच्छविहरू कसरी वैशालीबाट उपत्यकासम्म आए र नेपाल खाल्डोमा लिच्छविकालको प्रारम्भ भयो भन्ने कथालाई पनि बताउँछ।

यद्यपि, म स्पष्ट गर्न चाहन्छु, इथा ऐतिहासिक उपन्यास होइन।

यो न त इतिहासको बयानबाजी हो, न त त्यसको पुनर्कथन।

यो उपन्यास लेखिरहँदा मैले हाम्रो त्यो विगतलाई नियाल्ने कोसिस गरेँ, जहाँबाट सभ्यताले उडान भर्न सुरु गरेको थियो। यसरी विगतलाई नियालिरहँदा मलाई लाग्यो, इतिहासमा केही रिक्त स्थानहरू छन्। इतिहासले नभनेका केही कुरा छन्। इतिहासले कहीँकतै पक्षपात गरेको छ।

बस, मैले त्यही रिक्त स्थानमा बसेर इथा लेखेको हुँ।

अवश्य नै, उपन्यासमा इतिहासका केही पात्रहरू आउँछन्। बुद्ध आउँछन्, राजा प्रमाती, राजा अजातशत्रु, सम्राट बिम्बिसार, कुमार सुपुष्प र गणिका अम्रपालीहरू आउँछन्। तर ती फगत समयको प्रवाहमा भेटिएका सहायक पात्रहरू मात्र हुन्। यसका मूल पात्र हुन्, वसुधा, नयनतारा, सैरन्द्री र धान्यावती, जो काल्पनिक हुन् र हुन् नारी अस्तित्वका नायकहरू।

३) इथामा इतिहास, मिथक र कल्पनालाई एकै सूत्रमा बाँध्नुभएको छ। इतिहासप्रतिको तथ्यगत उत्तरदायित्व र साहित्यकारको सिर्जनात्मक स्वतन्त्रताबीच सन्तुलन कसरी कायम गर्नुभयो?

इतिहासकार र उपन्यासकारको काम फरक हुन्छ। इतिहासकार प्रमाण खोज्छन्, उपन्यासकारलाई प्रमाण खोज्ने दायित्व हुँदैन। इतिहासकार समयसँग आबद्ध हुन्छन्, उपन्यासकारका लागि समयभन्दा महत्त्वपूर्ण हुन्छ, त्यसको प्रवाह।

आख्यानकार कल्पनाको सहाराले इतिहासभित्र चियाउँछन्, कथाहरू खोज्छन् र त्यसलाई मनका रङहरूले सजाउँछन्। तर इतिहासकारलाई घटनाहरू सिगार्ने, त्यसमा थपघट गर्ने र कल्पनाको रङ भर्ने छुट हुँदैन।

इतिहासकारले बितेर गएको समयको तथ्यलाई स्थापित गर्न खोज्छ। ऊ घटनासँग अभिभाज्य हुन्छ। आख्यानकारलाई घटनासँग भन्दा धेरै चासो हुन्छ, घटनाभित्र निहित रहस्य, रोमाञ्चकता, सौन्दर्य र जीवनप्रवाहको। आख्यान कल्पना हो, इतिहासमा कल्पनाका लागि थोरै पनि ठाउँ हुँदैन।

अर्को कुरा, इतिहाससँग पात्र हुन्छन्, आख्यानले आफै पात्र बनाउँछ।

त्यसो त मैले माथि नै भनेको छु, इथा ऐतिहासिक उपन्यास होइन। यद्यपि, मैले जुन कालखण्डमा इथालाई उभ्याउने प्रयत्न गरेँ, त्यो समयलाई ठीक ढङ्गले बुझ्न मैले होशपूर्वक अलिक धेरै काम गर्नुपर्थ्यो। किनभने त्यसो नगरी बितेर गएको समयको जीवनधारालाई बुझ्न सम्भव थिएन र त्यो नबुझी यो उपन्यास लेख्न सम्भव थिएन।

जहाँसम्म इतिहासप्रतिको तथ्यगत उत्तरदायित्व र साहित्यकारको सिर्जनात्मक स्वतन्त्रताको कुरा छ, यसमा मैले धेरै चिन्ता गरिनँ। मैले यति मात्र विचार गरेँ कि, समयको प्रवाहभन्दा मेरो कल्पनाको प्रवाह धेरै फरक नहोस्। कल्पना यति धेरै स्वतन्त्र पनि नहोस् कि त्यहाँबाट समय हराओस्। र इतिहास यति कठोर पनि नहोस् कि त्यसभित्र निहित कथा नै मरोस्।

मलाई लाग्छ, इतिहास, मिथक र कल्पना आफैमा अलग हुँदैनन्। यी सबै हाम्रो सभ्यताका भावधाराहरू हुन्, जो एकअर्कासँग अभिभाज्य छन्। जब मैले इतिहास, मिथक र कल्पनाको साझा र एकीकृत प्रवाहलाई महसुस गरेँ, तब मलाई लेख्न सजिलो भयो।

त्यसपछि उपन्यासमा कुन बेला इतिहास आयो र कुन बेला कथा, मलाई नै पत्तो भएन।

यसरी इथा न त पूरापूर इतिहास भयो, न त पूरापूर कथा।

यो इथा भयो, अर्थात् भयो इतिहास र कथा।

४) इथाका महिला पात्रहरू परम्परागत भूमिकामा सीमित नभई निर्णयकर्ता, प्रतिरोधकर्ता र परिवर्तनका संवाहकका रूपमा देखिन्छन्। यी पात्रमार्फत तपाईंले नेपाली समाज र समकालीन पाठकलाई कस्तो वैचारिक सन्देश दिन खोज्नुभएको हो? तपाईंको दृष्टिमा उपन्यासको मूल वैचारिकी के हो?

मलाई लाग्छ, ऐतिहासिक रूपमा हाम्रो राजनीतिक तथा सामाजिक सत्ताले महिलामाथि निकै कठोर अन्याय गरेको छ। परिणामस्वरूप, इतिहास लेखनमा त्यो अन्याय यसरी प्रकट भएको छ कि, सर्वथा महिलाहरूको भूमिकालाई या त अदृश्य, या त कमजोर बनाइएको छ।

इतिहास लेखनको त्यही कमजोरीलाई चुनौती दिन मैले इथा लेखेँ। र इथामा नयनतारा, सैरन्द्री, वसुधालगायत पात्रहरू निर्माण गरेँ। यी यस्ता पात्र हुन्, जो भोग्या हुन इन्कार गर्छन्। जो प्रेम मात्र गर्दैनन्, आवश्यक पर्दा विद्रोह पनि गर्छन्। जो कोमल मात्र छैनन्, कठोर पनि छन्।

इथाका मेरा नारी पात्रहरू समयलाई नियतिको रूपमा स्वीकार गर्दैनन्, बरु नियतिलाई बदल्न खोज्छन्। नियतिलाई बदल्ने त्यही प्रयत्न हो इथा।

मलाई लाग्छ, आज हामी समानता, स्वतन्त्रता र सम्मानको जुन कुरा गर्छौँ, त्यसको जगमा हेर्‍यौँ भने भेटिने छन्, केही गुमनाम महिला पात्रहरू। तिनै गुमनाम महिलाहरूलाई इथामा मैले नाम दिएको छु। र उनीहरूलाई सम्झिने प्रयत्न गरेको छु।

रह्यो, यसको वैचारिकी के हो भन्ने तपाईंको जिज्ञासा। मेरो विचारमा इथाको मूल प्रश्न र विचारधाराको केन्द्र इतिहास होइन, मानिस हो। र यसको मूल वैचारिकी हो—मानवतावाद। मान्छेको स्वअस्तित्व, स्वतन्त्रता र स्वाभिमान।

आजभन्दा दुई हजार चार सय वर्षअघि पनि मानिस स्वतन्त्रता र स्वाभिमान खोजिरहेको थियो, आज पनि मानिस त्यही स्वतन्त्रता र स्वाभिमान खोजिरहेको छ। त्यही खोज नै इथाको केन्द्र हो।

त्यसैले त इथाले विगतको मात्र कथा भन्दैन, बरु वर्तमानसँग निरन्तर संवाद गर्छ। यो अर्थमा इथा मान्छे, सभ्यता र समयबीचको संवाद हो। अर्थात्, हो स्वतन्त्रताको संवाद। मानवताको संवाद। र अस्तित्वको संवाद।

५) इथा किन पढ्ने? उपन्यासकारको नाताले नयाँ पाठकलाई के भन्नुहुन्छ?

कस्तो किताब पढ्ने? किताब कसरी छनोट गर्ने? त्यो पाठकको रुचिको कुरा हो। म पाठकको त्यो रुचिलाई सम्मान गर्छु। अतः म मान्छेलाई पढ्न प्रेरित गर्न सक्छु, तर के पढ्ने, त्यो पाठकको निजी छनोट हो। त्यसैले इथा पढ्नुहोस् भनेर म पाठकलाई कर गर्न सक्दिनँ।

यद्यपि, कसैले इथा किन पढ्ने भनेर प्रश्न गर्‍यो भने, म भन्छु, हाम्रो सभ्यताको भावधारा बुझ्न इथा पढ्नु राम्रो हुन्छ। मलाई लाग्छ, इथा पढ्नु भनेको केवल एउटा पात्रको कथा पढ्नु मात्र होइन; हाम्रो समय र यसभित्र निहित मानवचेतनाको प्रवाहलाई पढ्नु र त्यसमा आबद्ध हुनु हो।

इथा पढिसकेपछि पाठकले केवल एउटा कथा मात्र समाप्त गर्दैन, उसले आफू आफैँभित्र हेर्ने प्रयत्न गर्छ। एकछिन पात्रहरूसँगै समयको खेलमैदानमा उभिएर विगतलाई चियाउँछ र वर्तमानसँग संवाद गर्छ।

इथा पढिसकेपछि, सायद कसैलाई इथाले अपार हर्ष देला। कोही आक्रोशित पनि बन्ला। यो पढेपछि कोही नयनताराको मोहमा पर्ला, कोही सैरन्द्रीको। अथवा कोही वसुधाको अन्तिम निर्णयबाट मख्ख होला र जीवनको अपार सम्मोहनमा पर्ला। जे होला, तर म यति चाहिँ विश्वासका साथ भन्न सक्छु— इथाले पाठकलाई निराश बनाउने छैन।

***

प्रतिक्रिया

सम्बन्धित खवर