– योगेन्द्र तिमिल्सिना
तपाईं जस्तै म पनि एउटा मध्यम वर्गीय जागीरे हुँ । मैले जागीर खाएको पनि चौध वर्ष पुगी सकेछ । चौध वर्ष यन्त्रवत् कुनै अड्डामा जागीर खानु सामान्य कुरा होइन, त्यो पनि एउटै पदमा । एस.एल.सी. सम्म बा–आमाले पढाउनु भयो, त्यसपछि पढ्न सक्ने आर्थिक अवस्था आफ्नो नभएकोले पढाइ छोडी जागीरपट्टी लाग्नुप¥यो । शहरमै जागीर पाएकोले पछि निकै मुश्किलले बी.ए. सम्म पढें । मसँगै जागीरमा भर्ना भएको अर्को एउटा साथी थियो– दिग्विजय । उसले आई. ए. सम्म पास गर्यो, बी. ए. को परीक्षामा लगातार फेल भएपछि उसले पढ्नै छोड्यो । पाँच वर्ष अगाडिनै नायब सुब्बामा उसको पदोन्नति भयो र अहिले उ कायम मुकायम शखा अधिकृत भएर किनमेल फाँटको हाकिम भएको छ ।
एकैदिन जागीरमा प्रवेश गरेर पनि निकै माथिल्लो पदमा पुगिसकेको दिग्विजयप्रति मनमनै
म कुँडिएको थिएँ । पैसा र पद दुबैमा उ मभन्दा माथि थियो । अड्डामा उसको फुर्ति र हाउभाउ देखेर भित्र–भित्रै म विक्ष्ॉब्ध हुन्थेँ । जागीरमा प्रवेश गरेपछिका शुरुका दिनहरुमा आफूलाई उभन्दा बढी सक्षम ठानेको थिएँ र छिट्टै पदोन्नतिको आकांक्षा राखेको थिएँ । वास्तवमा अहिले पनि दिग्विजयभन्दा धेरै कुरामा म अगाडिनै छु जस्तो लाग्छ, तर मलाई मात्र त्यस्तो लागेर भएन । प्रगति मेरो होइन उसको भइरहेको छ । हाकिमले मलाई होइन, उसलाई नै सक्षम ठानिरहेका छन् । कतै मलाई भ्रम भैरहेको त होइन ! केही मानिसहरु अत्यन्त सम्वेदनशील हुन्छन् । आफूसँगैको साथीले आफूलाई यथास्थितिमा छोडी फड्को मारेको देखेर मलाई कहिलेकाहीं हिनताबोधले सताउँथ्यो ।
वेलुका घरमा आएर श्रीमतीसँग सोध्छु, “मट्टितेल ल्यायौ ?”
“मट्टितेल लिन लाइनमा को उभिने भन्या ? दिउँसो घरको काम–धन्धा गर्नै पर्यो, लुगा धुने, सरसफाइ गर्ने काम नगरी भएन । आज भात पाक्तैन है, तपाईंहरु मनलागी गर्नोस् । छोरा–छोरीलाई अह्रायो भने पढ्नु पर्छ भन्छन्, तपाईं नभ्याउने । अब कुन्नि कसरी काम चलाउने हो ”
अनायास श्रीमती पड्केको देखेर मलाई पनि झोंक चलेर आयो, “हैन, मट्टितेल मेरो लागि मात्र ल्याउनु पर्ने हो कि क्या हो ? तिमीहरुलाई चाहिन्छ भने ल्याउनु, चाहिँदैन भने नल्याउनु । दूधको लाइनमा मैले नै उभिनु पर्छ, अब चिनीको लागि पनि लाइन बस्न थालेको छु । दाल, चामल, साग–सब्जीदेखि लिएर नूनसम्म पनि मैले नै जुटाउनु पर्छ, अब मट्टितेलको लाइन बस्न पनि मैले नै जानु पर्ने ?”
“अफिसबाट घर पर्कंदा कुनै दिन तपाईं आरामले सबैसँग राम्रो कुराकानी गर्नुहुन्छ, तर कहिले चाहिँ अनायास असन्तुलित भएर त्यसै जंगिनु हुन्छ, मट्टितेल लिन म आफैँ जान्छु नि, तपाईं किन जानुप¥यो ”
त्यसपछि श्रीमती चुप लागिन् र म पनि शान्त भए । उनले दिनभरी गर्नुपर्ने कामको सूची मभित्र मनमनै तयार भएपछि अड्डामा बिग्रेको आफ्नो मनस्थिति घर आइपुगेपछि उदाङ्गो भएको आफैंलाई अनुभूति भयो । अड्डामा जुन दिन बढी दिग्दारीमा पर्थे त्यस दिन घर आइपुग्ने बित्तिकै कुनै न कुनै कुरामा म झर्कन्थें, जंगीन्थें र कहिलेकाहीं त उग्र भै हाल्थेँ ।
दिग्विजय प्रत्येक दिन विहान गणेश, सरस्वती आदि देउ–देउताका मन्दिरहरु दाहिनेबाट परिक्रमा गर्दै पशुपतिनाथ पुग्थ्यो । हृदयमा दाहिने हात राखी आफ्नो भक्ति र श्रध्दा अर्पण गर्दै तीन फेरा परिक्रमा गरी उ पशुपतिनाथको दर्शन गथ्र्यो । त्यसपछि निकै मोटो चन्दनको टिको निधारमा टाँसेर सरासर हाकिम साहबको दर्शन गर्न पुग्थ्यो, “हाकिम साप होइसिन्छ ?” एक–दुई पटक पशुपति जाने सिलसिलामा म पनि उसँग गएको थिएँ ।
नियमित रुपमा आइरहने मानिस भएकोले हाकिम साहेबका परिवार त के कुकुरले समेत दिग्विजयलाई चिन्दथ्यो । एउटा कुकुर नजिकै आएर उसलाई सुँघ्यो र फर्केर गयो अनि हाकिम साहेबको एउटा नोकरले जवाफ दियो, ” हाकिम साप बाथरुम गैस्या छ, एकैछिन यतै बस्नोस् ।” एकैछिनमा हाकिम्नी साहेब बाहिर निस्किन् । उनलाई देख्ने बित्तिकै दिग्विजयले “नमस्कार मैसाप” भनी दण्डवत गर्यो ।
“उहाँले तपाईंसँग जरुरी काम छ भन्दै हुनुहुन्थ्यो, आउनु भएछ, राम्रो भो । अड्डामा तपाईंहरु गमला मगाउनु हुन्न ?”
“ल, किन नमगाउनु ” राम्रा खालका चिनीयाँ गमलाहरु हामी मगाउँछौं । मैसापलाई गमलामा रुची छ भने मर्जी होस् न, म ल्याई दिउँला ।”
“साधारण खालका त यहीं पनि थुप्रै छन्, कलात्मक र अलि नौलो शैलीका भए बीस–तीसओटा ल्याई दिनुस् न त ।”
“को, दिग्विजय हो ?” भित्रबाट आवाज आउँछ । “हजूर” भन्न पनि नपाउँदै अर्को आवाज आउँछ, “भित्रै आउ” ।
“हिजो त तिमी आएनौ नि ?”
“हिजो भाउजुका काका बितेकाले घाटतिर जानुपर्यो । हजूरको दर्शन नपाउँदा मलाई पनि कस्तो कस्तो लागेको थियो । अँ, यसपाली तीसओटा साइकलको खरीद आदेश भएको छ, दुइटा साइकल हजूरको लागि छुट्याएको छु । एउटा साइकल चाहिँ घरमा पठाई दिउँला, सागसब्जी, दूध, मासु ल्याउन सजिलो हुन्छ केटाहरुलाई ।”
“त्यो त ठिकै छ, मर्मत सम्भारको बजेट कति छ हँ ?”
“झण्डै आधा बाँकी होला हजूर ।”
“तुरुन्तै गर्नुपर्ने कुनै काम छैन ?”
“किन नहुनु, हजूरको आदेश नपाएर मात्र । कम्पाउण्डको पर्खाल भत्किसकेको छ, फर्निचरहरु मर्मत गर्नु छ ।”
“ए, त्यसो भए पर्खाल तुरुन्त मर्मत गराउनु । मेरो बाथरुपको गाह्रो चर्केको छ, पर्खाल मर्मत गर्ने सिलसिलामा बाथरुमको निम्ति पनि चाहिने सामान यहाँ पठाई देउ । तिनै डकर्मीहरुलाई एक–दुई दिन यहाँ पठाएर यो काम पुरा गर्नुपर्यो । कुरा बुझ्यौ हैन ?”
“बुझें हजूर, त्यत्रो अड्डाको काम पूरा गर्दा हजूरको यति जाबो काम फत्ते गर्न कुनै गाह्रो पर्दैन । भैंसीलाई सिङको के भारी, त्यो सबैै म मिलाउँला हजूर, हजूरले फिक्री मान्नु पर्दैन ।”
दिग्विजयको प्रगतिको सूत्र थाहा पाएपछि मैले स्वीकार गरें, “साँच्चिनै म उभन्दा अयोग्य नै रहेछु । उ जस्तै सक्षम हुनसक्ने मेरो हुती नभएकोले नै मैले प्रगति गर्न नसकेको रहेछ ।” त्यसपछि मैले आफ्नो मूल्याङ्कन आफैँ गर्न थालँ, हाकिमले मेरो दक्षताको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता नै रहेन ।
***
प्रतिक्रिया
-
४
