– शालिकराम सत्याल

गजल १
गरिबीले आज हामीलाई लाचार बनायो
सत्ताले हाम्रै सपना सब बेकार बनायो

भोको पेटले जब रोटी माग्यो रातभर
नेताले त्यहीँ भाषणको बजार बनायो

छोरो बेचियो खाडीमा बाउको काँध रित्तियो
आमाको आँसुले नै सिन्धु अपार बनायो

धनीको थालमा जुच्छ घिउ मासु दिनदिनै
गरिबको चुलो भने सधैं असार बनायो

हाम्रो पसिना बेचेर सिंहदरबार सजायो
हाम्रै रगतले उसले गुलजार बनायो

उठ युवा हो अब तोड दासता को जन्जिर
गरिबीले हामीलाई कायर नजार बनायो।।

गजल २
​बस्ती जलाएर खरानीको व्यापार गर्ने यो कस्तो शहर?
भत्किएका सपना जोड्न खोज्दा फेरि भत्कियो आफ्नै घर।

​मुटु भएका मान्छेहरू त अब एकादेशको कथा भए
यहाँ त मान्छेभित्रै उम्रिएका छन् अजंग का पत्थर।

​मन्दिरमा देउतालाई चढाउने फूलमा पनि राजनीति छ
सद्भावको बास्ना हरायो अब कहाँ खोज्नु त्यो अत्तर?

​श्रम बेच्नेको भन्दा यहाँ इमान बेच्नेको मूल्य बढी छ
बजारमा आजभोलि मानवताको निकै घटेको छ दर।

​जिन्दगी त आखिर बग्ने नदी न हो रोकेर कहाँ रोकिन्छ?
कहिल्यै सुखको छाल त कहिल्यै दुःखको बालुवा र बगर।

​पुरानै बाटो हिँडेर नयाँ गन्तव्य पुगिँदैन अब त त्यसैले
काँडाहरू पन्छाएर आफैंले बनाउनु पर्छ नयाँ डगर।

​देशमै पसिना बगाएर सुन फलाउने सपना थियो मेरो
तर खाडीको तातो घाममा डढेर खरानी भयो त्यो रहर।।

***

प्रतिक्रिया

सम्बन्धित खवर