– ढाकामोहन बराल
निधारमा लगाएको तरेखुको टीका झरेको थिएन । हातमा लगाएको रक्षाबन्धनको धागोमा घोरिएर हेर्यो । यसप्रकारको यो उसको चौथो रक्षाबन्धन थियो ।
” अहिलेको जमानामा त अलि बिचार पुर्याउनु पर्छ नि । ” गोरेले भारी बोक्दा बोक्दै भनेको याद आयो ।
“बाटो पनि के सारो बनाएका हुन मान्छेहरुले ? ” एक्लै बोल्न थाल्यो । गाउँमा पुगेका बाटाहरु देखि पनि उसको रिस उठ्यो । गाउँमा पुगेका बाटाको कारण उ लगायतका भरियाको रोजगारी खोसिएकोमा आक्रोश थियो उसको । उसले बुझेको थिएन जीपहरु पनि रित्ता हुँदै गएका थिए । देशै रित्तो हुन थालेको नदेख्नु र गाउँ रित्तो भएको नदेख्नुमा के फरक भयो र ।
” भारी बोकेर नै जिन्दगी बिताउँला भनियो । अब त भारी बोक्न पनि टाढा जानु पर्ने दिन आए । ” उसले भन्यो ।
” अरु पनि सीप सिक भनेको मानेको भए पो । जहिले पनि शरीर बलियो छ भन्यौ । ” श्रीमतीले भनी ।
” अरु केटाकेटी खोइ ? ” उसले प्रसंग बदल्दै सोध्यो ।
” सुतिसके । ” श्रीमतीले छोटो जवाफ दिई ।
” तँलाई कस्तो छ नि अहिले ? ” उसले मायाँ पनि देखायो । श्रीमान्को मुखमा हेरेर खिस्स हाँसी । ” मैले काम नपाउन्जेल त मै बसुला , कतै काम पाएर जानु परेमा कसलाई भन्ने हो ? ” उसले चिन्ता गर्यो
” तल्लो घरकी कान्छीलाई भनुला नि केही परे । ” उसले भनी ।
छोरा कुरेर छोरी धेरै भएका पनि होइनन् , छोरीको रहरले छोरा धेरै भएको पनि होईनन् तर सन्तानको संख्या निकै भएका थिए । साथमा दाम थिएन हातमा काम थिएन ।
आजै नामाकरण गरेको छोरो आमासँगै थियो । अरु अठार देखि पन्ध्र महिना फरकका छोराछोरी लस्करै थाङ्नामा सुतेका थिए आमा चाहिँ भन्दा केही पर ।
” मैले नै काम पाउन छोंडे यी के गरी खाने हुन ? ” उसको मनमा पिर पर्यो ।
” सुत भो अब तिमी पनि , थाकेका छौ दिनभरी । ” उसलाई आफ्नो श्रीमान्को मायाँ लाग्यो ।
तर उसले श्रीमतीलाई सोध्यो ” नढाँटीकन भन् त यी सबै मेरै छोरा छोरी त हुन् ? ”
***
प्रतिक्रिया
-
४
