– कृष्णहरि केसी
चीनको बेइजिङ गर्मीमा गजबको गर्मी र जाडो पनि त्यस्तै प्रकारको जाडो ठाउँ। अहिले चिसो मौसम सुरु भइसकेको छ । शरद ऋतुले राम्रैसँग परिचय गराइरहेको छ बेइजिङमा ।
नोभेम्बरको दोस्रो सातामा वेगगतिमा चलिरहेको चिसो हावाले नेपालको पौष महिनाको खरिढुङ्गा–मुडेको याद दिलाइरहेको थियो । बिहान अत्यन्तै कडाक्ली थियो । घाम तेज थियो, तर त्यसको न्यानोपन शून्य जस्तो लाग्थ्यो । हावा यति चिसो र तीव्र गतिमा चलिरहेको थियो कि खुला गाला र ओठ फुट्ने डर थियो । मेरो प्रत्येक साससँगै जाडोको सुस्केरा महसुस हुँदै थियो ।
यस्तो मौसममा पनि उत्सुकता मनभित्रको आगो झैँ जलिरहेको थियो । कारण थियो चीनको शिक्षा नीति र अभ्यासको अध्ययन यात्रा । हामी बेइजिङ एकेडेमी तर्फ अघि बढी रहेका थियौँ । एक यस्तो विद्यालय, जसले शैक्षिक अनुशासन, सिर्जनात्मक अभ्यास र समग्र मानव विकासलाई समान महत्त्व दिन्छ । चिसो मौसमले बाहिरी संसारलाई कठोर बनाएको थियो । तर विद्यालयको वातावरणले भित्री संसारलाई उज्यालो र स्वागतयोग्य बनाएको थियो ।
मूल गेटमा स्वागत : गर्मजोशी र अनुशासनको सहयात्रा
विद्यालयको मूल गेटमा हामी पुग्दा प्रिन्सिपल लगायतका विद्यालय व्यवस्थापनका नेतृत्वकर्ताहरू स्वयम् स्वागतका गुच्छा लिएर बसिरहेका थिए । त्यहाँको स्वागत केवल औपचारिकता थिएन । अतिथिप्रति सम्मान, शैक्षिक गरिमा, र अनुशासनको प्रत्यक्ष प्रस्तुति थियो ।
बसमा गाइटले गरेको व्याख्याले नै “हामी केवल विद्यालयको भ्रमणमा मात्रै आएका होइनौँ, हामीले भविष्य निर्माण गर्ने शैक्षिक दर्शनसँग प्रत्यक्ष भेट दर्शन गर्नेछौँ” भन्ने दृष्टिकोण जन्माइसकेको थियो ।
मूलगेट पार गर्दै गर्दा विद्यालयका विशाल भवनहरू प्रकट भएका थिए । ठूला मैदानहरू नियाल्दै मुख्य भवनमा प्रवेश गरियो । प्रथम दृष्टिमै महसुस भयो कि यो विद्यालय केवल भौतिक संरचना मात्र होइन यहाँको अनुशासन, नियम र संस्कार स्वयंमा शिक्षाको पहिलो पाठ हो ।
विद्यालय भित्र भीमकाय जिमखाना, स्विमिङ पुल, स्टेडियम र खेलमैदान
गेट पार गरेपछि हामी विशाल जिमखानामा प्रवेश गर्यौँ । जिमखाना भन्नासाथ धेरैजसो विद्यालयमा सानो कोठा, दुई–चार उपकरण मात्र हुन्छन् होला भन्ने थियो । तर यहाँ—दर्जनौँ कार्डियो मेसिन, शक्ति–प्रशिक्षण प्लेटफर्म, ओलम्पिक स्तरका उपकरण, प्रशिक्षकहरूको स्थायी व्यवस्था गरिएको रहेछ ।
मैले पहिलो पटक यस्तो विशाल, व्यवस्थित, र आधुनिक जिमखाना देखेको थिएँ । प्रिन्सिपलले त्यहाँको व्याख्या गर्दै भनेको थिए कि “शारीरिक स्वास्थ्यले बौद्धिक विकासमा ठुलो अर्थ राख्छ, र चीनको शिक्षा दर्शन केवल पढाइमा सीमित छैन । यो “समग्र मानव विकास”मा केन्द्रित छ ।”
जिमखानापछि हामी इनडोर स्विमिङ एरेना पुगेका थियौँ । एक विद्यालयभित्र सयौँ दर्शक अट्ने पुल ? यसले विद्यालय र खेलकुदबिचको सन्तुलन देखाइरहेको थियो । पुल अन्तर्राष्ट्रिय प्रतियोगिताका मापदण्डमा थियो । पानी प्रणाली अत्याधुनिक, र सुरक्षा–प्रशिक्षण पूर्ण । विद्यार्थीहरू नियमित अभ्यासमा व्यस्त थिए । प्रिन्सिपल भन्दै थिए कि चीनमा खेलकुद केवल शारीरिक गतिविधि मात्रै होइन, शिक्षणको अभिन्न अङ्ग हो, र विद्यार्थीलाई अनुशासित, सृजनशील र शारीरिक रूपमा सक्षम बनाउने उद्देश्यले विद्यालयलाई व्यवस्थित गरिएको छ ।
तेस्रो तलामा पुगेपछि मलाई खुला मैदानमा प्रवेश गरेजस्तो लाग्यो । एकै विद्यालयमा त्यो पनि तेस्रो तलामा यति विशाल बहुउपयोगी खेल क्षेत्र रहन सक्छ ? त्यहाँ—भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टनका कोटहरू थिए । केही विद्यार्थी तालिममा व्यस्त थिए, केही प्रशिक्षकसँग अभ्यास गर्दै थिए । केही शिक्षक शिक्षिका पनि भलिबल खेल्दै थिए । यो हलले हामीलाई भन्दै थियो शारीरिक, बौद्धिक र सामाजिक सीपलाई एकैसाथ प्रशिक्षित गर्ने चीनको “शिक्षा दर्शन” हो । शिक्षाको “समग्र विकास” सिद्धान्त हो ।
त्यसपछि हामी विद्यालयको बिच भागमा रहेको खुल्ला मैदानमा तर्फ लाग्यौँ । त्यहाँको विशाल फुटबल मैदानले मलाई मोहित पारिरहेको थियो । हरियाली, खुला आकाश, र सुनियोजित संरचना । यसले विद्यार्थीलाई खेलकुदको माध्यमबाट अनुशासन, सहकार्य र प्रतिस्पर्धा सिकाउने वातावरण तयार गरेको थियो । मैदान मात्र नभएर, यहाँको वातावरणले विद्यार्थीहरूलाई सृजनात्मक र सामाजिक क्षमताको विकासमा प्रोत्साहित गरिरहेको थियो ।
कक्षाकोठामा प्रवेश : बाँस र जीवनबिचको वैज्ञानिक पाठ
त्यसपछि हामीलाई कक्षा कोठामा पढाउने शैलीको अवलोकन गर्न लगियो । हामी कक्षा १० को सेक्सन ए मा प्रवेश गर्यौँ । त्यहाँ बाँस शीर्षकमा एक शिक्षिका पढाउँदै हुनुन्थ्यो । कक्षामा प्रवेश गर्दागर्दै नै बाँसको प्रयोगात्मक शिक्षाको अनुभव गर्न सकिन्थ्यो ।
बाँसुरी, कुर्सी, टेबल, भाँडाकुँडा, कपडा, चिया, केक, र बाँसका साना साना चोयाहरूका पाकेट हरेक टेबलमा थिए । हामी छिर्ने बित्तिकै विद्यार्थीले स्वागत अभिवादन गरेका थिए । हामीलाई पनि विद्यार्थीसँग मिसाएर राखियो । डिजिटल बोर्डमा तस्बिर देखाउँदै शिक्षिकाले सोध्न थाल्नुभयो यो के हो ? सबैले एक स्वरमा भने बाँस । त्यसपछि बाँसको बारेमा सविस्तार चर्चा गरियो । उपयोगिता र मानव सम्बन्ध बताइयो । बाँसका बारेमा लेखिएका कविता सुनाइयो ।
पत्थरमा पनि उम्रिन्छ बाँस,
कठोर माटोमा पनि फैलिन्छ बाँस
पहराको कठोर मुटु चिरेर टेको लिन्छ बाँस,
दृढ र अडिग भएर उभिन्छ बाँस
घाम चर्कँदा होस् वा दर्कने पानी पर्दा होस्
अटल भई ठिङ्ग उभिन्छ बाँस ।
आँधी र तुफानले चौतर्फी हमला गर्दा पनि हल्लिन सक्छ तर ढल्दैन बाँस
जमिनलाई दह्रोसँग बाँधेर प्रकोपसँग नझुकी उभिन्छ बाँस
बहुउपयोगी, मानव मैत्री र प्रकृतिमैत्री छ बाँस
उत्तर, दक्षिण, पूर्व वा पश्चिम हुरी या बाढी जसरी आए पनि
कसिलो अडानको परिचय बनेर उभिएको छ बाँस ।
यी सैद्धान्तिक ज्ञान पछाडि विद्यार्थीलाई व्यवहारिक ज्ञानमा जोडियो । प्रत्येक टेबलमा रहेको बासको चोयाबाट बन्ने सक्ने सामाग्रीहरू बनाएर, तामाबाट बन्ने अचार र तरकारीहरू पकाएर, पातबाट बन्ने चिया चखाएर र डाँठबाट बन्ने टेबुल कुर्सी राखेर, बासको पाउडरबाट बनेको केक खुवाएर हामीलाई त्यो कक्षाबाट बिदा गरियो ।
सबैबाट के बुझ्न सकिन्छ भने चीनमा शिक्षालाई केवल सिद्धान्तमै सीमित राखिएको छैन । विद्यार्थीले अनुभवमार्फत सिक्छन् । यो अनुभवजन्य शिक्षणले विज्ञान र जीवनलाई एकसाथ बुनिएको देखियो । यसै गरी हरेक फलफूल र वनस्पतिको पढाइ हुँदो रहेछ ।
सेमिनार हल विद्यालयको नेतृत्वसँग औपचारिक भेट
सेमिनार हलमा हामी प्रवेश गर्दा CPC स्थानीय सचिव (जो विद्यालयको मूल नेतृत्वमा रहनुभएकाे रहेछ) ले स्वागत गर्नुभएकाे थियाे । उहाँले आफ्नो मन्तव्य मार्फत विद्यालयको व्यवस्थापन, पाठ्यक्रम, सामाजिक गतिविधि, अनुशासन र राष्ट्रिय उद्देश्यबारे विस्तृत जानकारी दिनुभएकाे थियाे ।
प्रिन्सिपलले विद्यालयको इतिहास, लक्ष्य, सफलता र भविष्यका योजनासहित डकुमेन्ट्री पनि देखाउनुभयाे । विद्यार्थीले सीप सिकेका, कला प्रस्तुत गरेका, घना जङ्गल साहसिक यात्राको तालिम, समुन्द्र, मरुभूमि र पहाड पर्वतहरूमा विद्यार्थीको शिक्षक भ्रमण, विद्यार्थीले सेनाहरूसँग सिकेका सङ्घर्षपूर्ण तालिमहरू यी सबैले विद्यालयलाई केवल शैक्षिक संस्था मात्र नभएर, भविष्य निर्माण गर्ने संरचना भएको अनुभूति दिलाउनुभएकाे थियाे।
विद्यार्थीले बनाएका चित्रकलाको प्रदर्शनीले हामीलाई आर्ट ग्यालरीमा प्रवेश गरेको झल्को दिइरहेको थियो । उनीहरूको सांस्कृतिक, साङ्गीतिक र नृत्यको प्रस्तुति असाधारण थियो । सेमिनार हलको वरिपरि How to Learn, How to Coexist, How to Live, How to Innovate, Better Me, Better World जस्ता नाराहरू लेखिएका थिए । जसलाई चीनले व्यवहारमा उतारिरहेको छ ।
How to Learn
यो वाक्यले चीनको शिक्षा दर्शनको आधार राख्छ । विद्यार्थीलाई केवल तथ्य याद गराउने होइन, अनुसन्धान, प्रश्न, समस्या समाधान र सिर्जना गर्ने क्षमता विकास गराइन्छ । शिक्षालाई यात्रा, अनुभव र खोजको प्रक्रियामा रूपान्तरण गरिएको छ । सिक्ने कलाको नमुना वास्तवमा यस विद्यालयले पेश गरिरहेको थियो ।
How to Coexist
यो वाक्यले विद्यार्थीलाई समूहमा काम गर्न, विविधता स्विकार्न र सामूहिक निर्णय लिन प्रेरित गर्छ । चीनको शिक्षा प्रणालीमा सहअस्तित्व सामाजिक एकता र राष्ट्रिय एकताको आधार हो । शिक्षाले सहअस्तित्वको शैली प्रदर्शित गरिरहेको थियो । यो वाक्यले जीवनमा सक्षम र आत्मनिर्भर बन्न प्रेरणा दिन्छ । शिक्षा केवल बौद्धिक विकासमा मात्रै सीमित छैन । यसले अनुशासन, परिश्रम, स्वास्थ्य, मानसिक दृढता पनि सिकाउँछ । वास्तवमा यस विद्यालयले जीवन बाँच्ने कला सिकाई रहेको छ ।
How to Innovate
विद्यार्थीलाई नयाँ विचार गर्न, पुराना समस्यामा सुधार ल्याउन र सिर्जना गर्न प्रेरित गर्ने यस वाक्यले चीनलाई विश्व प्राविधिक शक्ति बनाएको छ । प्रयोगात्मक कक्षा यसको प्रत्यक्ष उदाहरण हो । हरेक विद्यार्थीलाई नव सिर्जना गर्ने शक्ति विद्यालयले प्रदान गरिरहेको थियो ।
Better Me, Better World
व्यक्ति–व्यक्ति असल हुँदा परिवार असल बन्छ, परिवार–परिवार असल बन्दा समाज असल बन्छ, समाज–समाज असल बन्दा राष्ट्र असल बन्छ र राष्ट्र–राष्ट्र असल बन्दा सिङ्गो संसार असल बन्नेछ । संसारलाई असल, सक्षम र सुन्दर बनाउने कारखाना भनेको विद्यालय हो । यदि विद्यार्थी स्वयं सुधार गर्छन् भने मात्र विश्व सुधारको सम्भावना हुन्छ । यसले व्यक्तिगत विकास र वैश्विक परिवर्तन बिचको सम्बन्ध स्पष्ट बनाउँछ । यसरी चीनले विद्यार्थीलाई स्वयं सुधारदेखि विश्व सुधार यात्राको यात्री बनाएको रहेछ ।
विद्यार्थीका सपना : भविष्यको चीन कस्तो हुने सङ्केत
हाम्रा टोलीका एक जना सदस्य पाकिस्तानी समा टिभीका पत्रकार इफ्रानले विद्यार्थीलाई सोधे भविष्यमा तिमीहरू के बन्न चाहन्छौ ? विद्यार्थीहरूले आफ्ना रुचि अनुसार बढो आत्मविश्वासका साथ पाइलट, डाक्टर, व्यवसायी, इन्जिनियर, वैज्ञानिक बन्ने चाहना राखे । यसले पनि देखाउँदै थियो कि यो विद्यालय केवल शिक्षा दिने स्थल मात्रै होइन, भविष्य निर्माण गर्ने शिल्पशाला हो ।
विद्यार्थीका अभिलाषाहरू सुन्दा स्पष्ट हुन्छ कि चीनका आगामी पुस्ताले आफ्ना व्यक्तिगत रुचि र क्षमतामा आधारित व्यापक राष्ट्रिय आकाङ्क्षाको प्रतिबिम्ब बोकेका छन् । पाइलट, डाक्टर, व्यवसायी, इन्जिनियर, वैज्ञानिक बन्ने चाहना केवल पेसागत विकल्प मात्र होइन, चीनको दीर्घकालीन विकास मोडेलका सूचक हुन् । विद्यालयभित्रको वातावरणले विद्यार्थीलाई ‘के बन्ने ?’ भन्ने प्रश्नमा स्वतन्त्र, आत्मविश्वासी र स्पष्ट उत्तर दिन सक्षम बनाएको छ, जसले शिक्षा प्रणाली केवल पाठ्य ज्ञान दिनेतर्फ सीमित नभई भविष्य निर्माण गर्ने आधुनिक शिल्पशालाको रूपमा काम गरिरहेको प्रमाणित गर्छ ।
विद्यार्थीका उत्तरहरूले विद्यालयहरूले रुचि पहिचान, प्रेरणा विकास, आवश्यक सीप अभ्यास र पेसागत मार्गचित्र (career pathways) देखाउने क्षमतामा मजबुत रहेको सङ्केत दिन्छन् । यस्ता सपना कुनै काल्पनिक आशा होइनन् ।
यी चीनको बढ्दो प्रविधि, अर्थतन्त्र, स्वास्थ्य सेवा, विज्ञान, व्यवसाय र विश्व प्रतिस्पर्धामा प्रवेश गर्ने पुस्ताको इच्छाशक्ति तथा राष्ट्रले निर्माण गरिरहेको अवसर संरचनाको प्रत्यक्ष परिणाम हुन् । यसकारण, विद्यार्थीहरूले व्यक्त गरेका यी अभिलाषाहरू स्वयं चीनको भविष्यको खाका झैँ देखिन्छन् । जहाँ विज्ञान, नवप्रवर्तन, आत्मविश्वास र उच्च क्षमतायुक्त मानव संसाधन नै राष्ट्रको रणनीतिक शक्ति बन्नेछ । यी परिणामहरू चीनको शिक्षा नीतिको कारण सम्भव भएको हो ।
चीनको शिक्षा नीति :
१. आधारभूत शिक्षा अनिवार्य र नि:शुल्क
अनिवार्य र निःशुल्क शिक्षामा आधारित मानव विकास नीति चीनको शिक्षा नीतिको मुख्य कुरा हो । चीनको शिक्षा मन्त्रालयका अनुसार कक्षा १ देखि ९ सम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाइएको छ, जसले सबै बालबालिकाले आधारभूत शिक्षा प्राप्त गर्न सकुन् भन्ने उद्देश्य रहेको छ ।
९ वर्षे अनिवार्य शिक्षा चीनको मानव विकास रणनीतिको मुख्य आधार हो, जसले सामाजिक न्याय, समान अवसर र राष्ट्रिय उत्पादकत्वमा वृद्धि गर्ने दीर्घकालीन लक्ष्य बोकेको छ । ग्रामीण–सहरी असमानता घटाउन विशेष बजेट, छात्रवृत्ति र लक्षित कार्यक्रमहरू पनि यस नीतिसँग जोडिएका छन्, जसले शिक्षाको पहुँचलाई सर्वव्यापी बनाउने काम गरिरहेको छ ।
२. जनवादी शिक्षा र समग्र सिकाइको प्रणालीगत अभिमुखीकरण:
चीनको शिक्षा नीति ‘जनवादी शिक्षा’ ( People-oriented education) को सिद्धान्तमा आधारित छ । जसले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नरखेर सामाजिक, सांस्कृतिक र व्यावहारिक चेतना सहित विकसित गर्ने उद्देश्य राख्छ ।
यसपछि अनुभवजन्य सिकाइ ( experiential learning ) लाई पाठ्यक्रमको अभिन्न अंश बनाइएको छ-विद्यार्थीले योजना, अभ्यास, परियोजना, अवलोकन र सामुदायिक गतिविधिमार्फत प्रत्यक्ष सिक्ने व्यवस्था गरिएको छ । शिक्षालाई जीवन–कौशलसँग जोडेर ज्ञान, सीप र व्यवहार तीनै पक्ष सन्तुलित रूपमा विकसित गर्ने नीति चीनको पाठ्यक्रम सुधारको मूल दर्शन हो ।
३. कला, खेलकुद, श्रम र सांस्कृतिक गतिविधिलाई अनिवार्य बनाइने नीतिगत दृष्टिकोण
चीनले विद्यार्थीको बहुआयामी विकास सुनिश्चित गर्न खेलकुद, कला, संगीत, हस्तकला, शारीरिक अभ्यास, र श्रम–शिक्षालाई अनिवार्य घटकका रूपमा समेटेको छ । यस नीतिले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, सामाजिक बन्धन, र श्रमप्रतिको सम्मानजस्ता मूल्यहरू स्थापित गर्न मद्दत गर्छ ।
सांस्कृतिक गतिविधि तथा राष्ट्रिय परम्परासँग सम्बन्धित अभ्यासहरूले विद्यार्थीलाई आत्मपहिचान, राष्ट्रिय भावना र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने अपेक्षा राखिन्छ । यसरी चीनको शिक्षा नीति शैक्षिक योग्यता मात्र होइन, समग्र चरित्र निर्माण र जीवन–उन्मुख व्यक्तित्व विकासतर्फ केन्द्रित छ ।
४. व्यापक र केन्द्र–स्थानीय संयोजनमा आधारित शिक्षा संरचना
चीनको शिक्षा नीति एकीकृत तर बहुस्तरीय संरचनामा आधारित छ । केन्द्र सरकारले मूल नीति, दिशा–निर्देशन र कानुनी ढाँचा तयार गर्छ भने कार्यान्वयन स्थानीय सरकारमार्फत गरिन्छ । शिक्षा नीति चरणबद्ध छ ।
प्री स्कुलदेखि लिएर उच्च शिक्षा र व्यावसायिक तालिमसम्म सबै अङ्गहरू संयोजित छन् । विशेषतः ९ वर्षे अनिवार्य शिक्षा चीनको सार्वजनिक नीति र मानव विकास रणनीतिको प्रमुख आधार हो । यस अनिवार्य शिक्षाले ग्रामीण–सहरी असमानता घटाउने र सार्वभौम पहुँच सुनिश्चित गर्ने उद्देश्य बोकेको छ ।
५.समावेशितामा राज्यको कडा प्रतिबद्धता
यो नीतिको उद्देश्य सामाजिक न्याय, मानव विकास र श्रम उत्पादकता वृद्धि हो । समावेशी शिक्षा चीनको प्राथमिकताको विषय हो । जातीय अल्पसङ्ख्यक समुदाय, विशेष सहयोग आवश्यकता भएका बालबालिका र आर्थिक रूपमा कमजोर परिवारका लागि छुट्टै अनुदान, छात्रवृत्ति र विशेष कक्षाको व्यवस्था गरिएको छ । यसले शिक्षा मार्फत सामाजिक अन्तर घटाउने दीर्घकालीन दृष्टिकोण समावेश गर्छ ।
६. शिक्षा गुणस्तर उन्नयनमा ‘सिस्टम सुधार’ र ‘नवप्रवर्तन’ सम्बद्ध नीति
गुणस्तरीय शिक्षा चीनको विकास रणनीति हो । पाठ्यक्रम सुधार, ‘स्मार्ट क्लासरूम’, शिक्षक तालिम, तथा STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) मा विशेष प्राथमिकतामा छ । चीनले विश्वस्तरीय संस्थान विकासका लागि “Double First-Class Initiative” लागू गरेको छ ।
जसले उत्कृष्ट विश्वविद्यालय र उत्कृष्ट विषयवस्तुको विकासमा सरकारी लगानी बढाएको छ । यी सबै नीतिहरूको मूल लक्ष्य विश्व बजारका लागि प्रतिस्पर्धी मानव संसाधन उत्पादन गर्नु हो ।
७. ग्रामीण–सहरी खाडल घटाउने नीतिगत हस्तक्षेप
चीनले शिक्षामा विद्यमान क्षेत्रीय असमानता घटाउन छुट्टै नीति अपनाएको छ । ग्रामीण क्षेत्रका विद्यालयहरूलाई अतिरिक्त बजेट, भौतिक संरचना, शिक्षक प्रोत्साहन भत्ता, र डिजिटल शिक्षण सामग्री प्रदान गर्न गरिएको छ ।
ई–लर्निङ सुविधा, सुदूर क्षेत्रमा ‘दूरशिक्षा’ ( Distance Education ) कार्यक्रम, र ग्रामीण विद्यालयमा विज्ञान र गणित शिक्षक पूरक कार्यक्रम चीनको ग्रामीण शिक्षा सुधारको प्रमुख नीति हो । यसले शिक्षामा समान अवसर प्रदान गर्ने र क्षेत्रीय आर्थिक–सामाजिक असमानता न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्य बोकेको छ ।
८. उच्च शिक्षामा अन्तर्राष्ट्रियकरण र अनुसन्धानमैत्री नीति
उच्च शिक्षा क्षेत्रमा चीनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र ग्लोबल सहकार्यलाई सशक्त प्राथमिकता दिएको छ । विदेशी विश्वविद्यालयहरूसँग साझेदारी, संयुक्त अनुसन्धान कोष, र विदेशी विद्यार्थी आकर्षित गर्ने रणनीति चीनको उच्च शिक्षा नीतिको अभिन्न अङ्ग हो ।
चीनले अनुसन्धानलाई राष्ट्रिय नवप्रवर्तन क्षमतासँग जोडेर हेर्छ । Artificial Intlleigence, Space Science, Biotechnology जस्ता क्षेत्रहरूलाई लक्षित गर्दै बजेट वृद्धि र अनुसन्धान स्वतन्त्रता दिएको छ । यसले चीनलाई वैश्विक ज्ञान–दक्षतामा अघि बढाएको छ ।
९. शिक्षा–अर्थतन्त्र संयोजनमा आधारित मानव पुँजी विकास नीति
चीनको शिक्षा नीति अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ । श्रम बजारको माग अनुसार व्यावसायिक शिक्षा ( TVET) विस्तार, उद्योग–शैक्षिक साझेदारी, र उत्पादनशील वैज्ञानिक अनुसन्धानलाई विशेष प्राथमिकता दिइन्छ ।
‘Employment-Oriented Education Policy’ को कारण चीनले विशाल युवा जनशक्तिलाई उद्योग, प्रविधि, र सेवा क्षेत्रमा व्यवस्थित रूपमा समाहित गरिरहेको छ । यस नीतिको मूल दर्शन “शिक्षा केवल डिग्री होइन, राष्ट्रको समग्र आर्थिक–प्राविधिक विकासको आधार हो” भन्ने मान्यतामा आधारित छ ।
निष्कर्ष : विद्यालयलाई भविष्य निर्माणको कारखानामा रूपान्तरण गरौँ
बेइजिङ एकेडेमीले प्रस्तुत गरेको शैक्षिक मोडेलले देखाउँछ कि विद्यालय केवल पढाइ–लेखाइ हुने भवन मात्र होइनन्, भविष्यका नागरिक बनाउने दीर्घकालीन कारखाना हो । जहाँ ज्ञानसँगै चरित्र, अनुशासन, सृजनशीलता, वैज्ञानिक सोच, नेतृत्व क्षमता र सामाजिक दायित्वको बोध समग्र रूपमा विकसित हुन्छ । ५,५०० भन्दा बढी विद्यार्थीहरू “Better Me, Better World” भन्ने स्पष्ट दर्शनसहित आफ्नो पूर्ण व्यक्तित्वको विस्तारमा तत्पर देखिन्छन् ।
यस मोडेलले चीनले भविष्यका वैज्ञानिक, चिकित्सक, व्यवसायी, नवप्रवर्तक, र राष्ट्रको नेतृत्वकर्ता उत्पादन गर्ने लक्ष्यलाई कति योजनाबद्ध ढङ्गले अघि बढाइरहेको छ भन्ने स्पष्ट सङ्केत दिन्छ । विद्यालयभित्र सृजनशील वातावरण, खेलकुद, अनुसन्धान प्रयोगशाला, जीवन–कौशल शिक्षण र राष्ट्रिय पहिचान–अभिमुख गतिविधिहरूको संयोजनले विद्यार्थीलाई केवल परीक्षाका लागि तयार नगरी जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाइरहेको छ ।
यो अनुभव नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण सन्देश हो । नेपालले दशकौँदेखि “जनवादी शिक्षा”, “माटो सुहाउँदो पाठ्यक्रम”, “व्यवहारिक र सीपलक सिकाइ” जस्ता नारा निरन्तर दोहोर्याउँदै आएको छ । तर कार्यान्वयनको स्तर भने अझै परम्परागत, रटानमुखी र कागजी योजनाभन्दा पर उठ्न सकेको छैन । नेपालले अब शिक्षा प्रणालीलाई केवल ज्ञान हस्तान्तरणको माध्यमका रूपमा मात्रै होइन, राष्ट्रिय विकासको आधारस्तम्भका रूपमा पुनर्गठित गर्ने समय आएको छ । किनकि शिक्षा प्रणालीले कस्ता विद्यार्थी उत्पादन गर्छ –सृजनशील, स्वावलम्बी र परिवर्तनशील ? कि अलमलिने, परनिर्भर र लक्ष्यविहीन ? यही प्रश्नको जवाफले नेपाल आगामी दिनमा कस्तो राष्ट्र बन्छ भन्ने निर्धारण गर्छ ।
त्यसैले बेइजिङ एकेडेमीले देखाएको संरचना र दर्शन नेपालका लागि प्रेरणा बन्न सक्छ । जनवादी शिक्षा केवल घोषणामा मात्रै होइन, व्यवहारमा उतारौँ । जीवन–कौशल, अनुसन्धान, सीप र चरित्र विकासलाई शिक्षाको केन्द्रीकृत आधार बनाऔँ । विद्यालयलाई नै सामाजिक रूपान्तरणको केन्द्रका रूपमा पुनर्स्थापित गरौँ । हाम्रा विद्यालयलाई सीप घरको रूपमा, उद्यमी घरको रूपमा, प्रयोगशालाको रूपमा रूपान्तरण गरौँ । यस दिशामा अघि बढ्न सके मात्र नेपालले भविष्यप्रतिको आशा, समृद्धिको विश्वस्त आधार तयार गर्न सक्छ, र विद्यालयहरू साँच्चिकै राष्ट्रिय पुनर्जागरणका कार्यशाला बन्न सक्छन् ।
***
प्रतिक्रिया
-
४
