– कृष्णहरि केसी

अरनिकोका बारेमा मैले सानै उमेरमा माध्यमिक विद्यालयको पुस्तकका पानामा राष्ट्रिय विभूतिको रुपमा पढेको थिएँ । अरनिको किशोरावस्थामै चीन पुगेका, र त्यहाँ विशाल गुम्बा–चैत्य निर्माण गरेर आफ्नो अद्भुत कला प्रकट गरेका कलाकार भनेर कण्ठाग्र नै पारिएको थियो । नेपाल–चीन सम्बन्धको प्रतीकका रुपमा दुइ राष्ट्र जोड्ने सडक मार्गलाई उनको सम्मानमा अरनिको राजमार्ग नामाकरण गरिएको छ, र नेपालको ठूला बस व्यवसायी संघमध्ये अरनिको बस व्यवसायी संघ पनि यही स्मृतिसँग जोडिन्छ । म पहिलोपटक राजधानी काठमाडौं पुग्दा यही अरनिको राजमार्ग हुँदै अरनिको बस चढेको अनुभवले मेरो बाल्यकालीन जिज्ञासा अझ बलियो बनाएको थियो । त्यसैले पनि उनको बारेमा मनमा अनेकौँ कौतुहलता उम्रिनु स्वाभाविक थियो ।
यही जिज्ञासाको एउटा धागो चीनको बेइजिङ भ्रमणसम्म आएर जोडियो । मैले बेइजिङमा नेपालीले अवश्य घुम्नैपर्ने स्थानको खोजी गर्दै जादा वेइजिङ घुमेका धेरै नेपाली साथीहरुले स्वेत चैत्यको नाम लिएका थिए । नेपालमा हुदा मैले पढेको एक पुस्तक निहाओ नमस्ते (जो चीनिया रेडियोमा नै काम गर्ने पत्रकार लक्ष्मी लम्साल ‘लक्ष्मीपुजा’ले लेख्नुभएको हो) पनि पढेको थिएँ । उहाँले त्यस पुस्तकमा वेइजिङ पुगेको मानिसले यदि स्वेत चैत्य नदेखी फर्कियो भने उसको भ्रमण अधुरो रहन्छ लेख्नुभएको थियो । यी सवै कारणहरुले पनि म त्यस ठाउँमा जान प्रेरित थिएँ । बाल्यकालमा पढेको अरनिकोको कथा र बेइजिङमा भेटिन लागेको स्वेत चैत्यको कडी मिलेजस्तो लाग्यो । यसै क्रममा एक दिन लामो समयदेखि वेइजिङमै रहनु भएका चाइना रेडियो इन्टरनेशनलको नेपाली सेवाका विदेशी विशेषज्ञका रुपमा कार्यरत चेतनाथ आचार्य सरसँग मैले स्वेत चैत्य जान पाए हुने भनेको थिएँ । उहाँले केही दिनपछि मलाई समय मिलाएर बोलाउनु भयो । हामी स्वेत चैत्य पुग्यौँ, तर त्यही दिन दुर्भाग्यवश केही मर्मत कार्यका कारण भित्र पस्न बन्द गरिएको रहेछ । यद्यपि भित्र छिर्न नपाए पनि चेतनाथ सरले स्वेत स्तुपाको ऐतिहासिक रहस्य अत्यन्त रोचक ढङ्गले सुनाइदिनुभयो । सेतो पर्खालको वरिपरि घुमाउँदै उहाँले यसको वास्तु, यसको संस्कृति, र यसमा निहित नेपाल–चीन कलात्मक सम्बन्धको कथा सुनाउँदै गर्दा मैले बाल्यकालमा कल्पिएको अरनिकोको प्रतिभा यहीँ कतै धड्किरहेको महसुस गरें । बाहिरबाट केही फोटोहरू खिचेँ र मौका मिलाएर फेरी आउने वाचा गर्दै चेतनाथ सरद्वारा लिखित पुस्तक चीन चियाउँदा उपहार स्वरुप लिएर फर्किएँ ।

बुधवार विहानको कार्यक्रम सकेपछि पाकिस्तानी मित्र डा. इफ्रान र श्रीलंकाका साथी सचित्रा एरेंगा परेरासहित फेरि स्वेत चैत्य पुगियो । यसपटक वातावरण शान्त, समय अनुकूल, र मन उत्साहित थियो । इतिहाससँग प्रत्यक्ष भेट हुने क्षण आएको थियो । तीन देशका मित्रहरू सँगसँगै उभिएर स्वेत चैत्यको शीतल सौन्दर्य नियाल्न लाग्यौं । बाल्यकालदेखि बोकेर हिँडेको अरनिकोप्रतिको जिज्ञासा, चेतनाथ सरसँग गरेको केही अगाडिको सम्बाद र प्रत्यक्ष अनुभव सबै मिसिँदा त्यो क्षण केवल भ्रमण मात्र रहेन, एक प्रकारको सांस्कृतिक पुनःआबिष्कार झैँ अनुभूति भैरहेको थियो ।

स्वेत चैत्य परिचय

स्वेत चैत्य—बेइजिङ शहरको मुटुमै निर्मित, हिमाली शान्तताको दिब्य प्रतिमूर्ति हो । पूर्वी विश्वको कला–इतिहासमा एउटा अद्वितीय अध्याय हो । करिब ५०.९ मिटर उचाइ र ३० मिटर व्यासका साथ दामिङ मठ परिसरको केन्द्रमा विराजमान यो स्तूपाले लगभग ७०० वर्ष पुरानो नेपालको शिल्प परम्परा चीनको राजधानीमै जस्ताका तस्तै जिउँदो बनाइरहेको छ । यसको निर्माण सन् १२७१–१२७९ सम्म करिब ८ वर्षमा युआन वंशको प्रारम्भिक चरणमै सम्पन्न भएको रहेछ । यसले परिसरसहित सम्पूर्ण संरचनाले करिब ८,००० वर्गमिटरभन्दा बढी क्षेत्रफल ओगटेको रहेछ । चीनमा आफ्नो स्वरुपकै पहिलो र सबैभन्दा ठूलो ताम्र शिखरयुक्त स्तूपा मानिने यो चैत्यमा तिब्बती नेवारी मिश्रित वास्तुकला, वज्रयान बौद्ध परम्परा र हिमाली प्रतीकहरूको गहिरो छाप प्रस्टै देखिन्छ । पक्कै पनि त्यो शिल्प अरनिकोका कुम्मलमा जन्मिएको प्रतिभा थिएन भने सम्भव नै हुने थिएन । अर्थात उनीमा अद्भुत कला सामथ्र्य थियो । यसलाई चिनीया भाषामा ग्याओइङ र पाइथास भनिदो रहेछ । जसको अर्थ पनि सेतो चैत्य नै हुदो रहेछ ।

कुबलाई खाँले चीनभर बौद्ध सभ्यताको पुनरुत्थान गरिरहेको बेला उनलाई तिब्बती धर्मगुरु फाग्पा लामा मार्फत नेपालमा ‘अद्भुत कौशल भएको किशोर कलाकार’ को खबर पुगेछ । यही खबरले किशोर अरनिकोलाई १२६० तिर तिब्बतदेखि बेइजिङसम्म पु¥याएको थियो । जहाँ उनले निर्माण कलाकौशलमा मात्र होइन, सांस्कृतिक कूटनीतिमा पनि असाधारण क्षमता देखाए । कुबलाई खाँ स्वयं अरनिकोको कडा अनुशासन, धातुकला, वास्तुकलामा अद्वितीय प्रविधि, र तिब्बती परम्परालाई चीनको शाही सौन्दर्यसँग मेल गराउने क्षमतालाई श्रद्धापूर्वक सम्मान गर्थे । यही विश्वासका कारण उनले स्वेत चैत्य युआन सभ्यताको प्रतीकको रुपमा निर्माण गर्ने सम्पूर्ण जिम्मा अरनिकोको काँधमा राखिदिए । चीनका दरबार अभिलेखमा उल्लेख भएअनुसार, चैत्य निर्माणमा करिब ८ वर्ष लागेको थियो । त्यसका लागि विशाल मानवीय भौतिक स्रोत, तामाको ठूलो परिमाण, गजुर निर्माणमा उच्च तापमा खन्याइने मिश्रधातु, र अत्यन्त शुद्ध माटो चक (पुतली माटो) प्रयोग गरिएको थियो ।

स्वेत चैत्य केवल एक वास्तु संरचना मात्रै होइन । यो नेपाल र चीनको सात शताब्दी लामो मित्रताको कलात्मक प्रमाण हो । यसको गोलाकार गुम्बाजुनी आधार, पद्म–शृङ्खला, ताम्र–गजुर, चौबीस पर्णयुक्त छत्र, अनि चारैतिरको सममितीय विस्तार हेर्दा नेपालको स्वयंभुनाथ र बोद्धनाथसँग ठ्याक्कै मिल्छ । यी सबै अरनिकोले नेपालमा देखिने स्तूपात्मक परम्पराबाट लिएर चीनको भूगोल, मौसम र शाही सौन्दर्यअनुकूल रूपान्तरण गरिएको मिश्रण हुन् भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । चैत्य पूरा भएपछि कुबलाई खाँले अरनिकोलाई ‘महान कलाकार’ का रूपमा दरबारी उपाधि दिए, र उनको सिर्जनाले बेइजिङको धार्मिक–सांस्कृतिक जीवनलाई सदियौंदेखि सुशोभित गरिरहेको छ । आज स्वेत चैत्य हेर्दा युआन साम्राज्यको शक्तिसँगै नेपालको कलासंस्कृतिको आत्मा पनि अविचलित रूपमा उभिएको महसुस हुन्छ । अरनिकोको भौतिक शरीर १३ औं शताब्दीमै विलीन भए पनि, उनले रोपेको कला र सौन्दर्य ७०० वर्षपछि पनि बेइजिङमा जीवित, स्पन्दित र प्रेरणादायी बनेर उभिएको छ ।
स्वेत चैत्यको अगाडि दुईवटा बौद्ध मन्दिरहरु पनि रहेछन् । जहाँ गौतम बुद्ध मुर्ति रहेको छ । चीनको राजधानी बेइजिङमा अवस्थित स्वेत चैत्य बौद्ध धर्माबलम्बीको पवित्र स्थल बनेर नेपालका महान् शिल्पी अरनिको को जीवन र कृतिको अमर प्रतीकका रुपमा ठडिरहेको छ । यसको निर्माण मङ्गोल साम्राज्यका शासक कुबलाई खान (१२१५–१२९४) को शासनकालमा १२७१–१२७९ ईस्वीबीच भएको थियो । यस मन्दिरलाई सन् १९६१ मा चिनीया प्रधान मन्त्रि चौयान लाईले राष्ट्रिय सम्पदाको सुचिमा सुचिकृत गरेका थिए र यो अहिले पनि संरक्षित रहेको छ ।

स्वेत चैत्यको बास्तुशैली र विश्वास

स्वेत चैत्यको वास्तुशैलीलाई चिनिनु यसको ऐतिहासिक आत्मा बुझ्नुजत्तिकै महत्वपूर्ण हुन्छ । किनकि यो संरचना केवल एक धार्मिक प्रतीक मात्र होइन, दक्षिण–एशियाली र हिमाली बौद्ध सभ्यताको साझा कलासंस्कृतिको जीवित रूप हो । श्रीलङ्का, तिब्बत, नेपाल, मंगोलिया र चीनजस्ता बौद्ध परम्परायुक्त भूभागमा विकास पाएको प्यागोडा शैली नै यसको आधारभूत पहिचान हो । यही शैलीमा देखिने गोलाकार गुम्बा, सममितीय आधार, शान्त र निर्विकल्प आकृति, तथा धातुको सुक्ष्म कामसमेत स्वेत चैत्यमा अत्यन्त शुद्धतापूर्वक पुनराविष्कार भएको छ । विशेषतः यसको प्रमुख आकृति एक विशाल गोलाकार गुम्बा (मयmभ) बौद्ध स्तूपको आदिकालीन रूपलाई प्रत्यक्ष रूपमा स्मरण गराउँछ । जसको मूल धारणामा ‘वज्रयान मार्गको अन्तर्मनको शुद्धता र व्यापकताको प्रतीक’ समाहित हुन्छ ।

यस संरचनाले नेवारी र तिब्बती कलाका तत्वलाई एउटै आत्मिक र सौन्दर्यात्मक धागोमा गुँथेर प्रस्तुत गर्छ । माथितिर उभिएको वज्रयान परम्पराको शिखर–संरचना, त्यसकै माथि स्थापित गजुर र गजुरलाई सुशोभित गर्ने सूर्यचन्द्र प्रतीक । यी सबै तत्वहरूले स्वेत चैत्यलाई साधारण चिनियाँ वास्तुशैलीभन्दा बिल्कुलै भिन्न एक बौद्ध हिमाली प्रतिमूर्तिमा परिणत गरेका छन् । नेवार कारीगरहरूको सूक्ष्मता र तिब्बती बौद्ध वास्तुकलाको गाम्भीर्य मिसिएको यही संयुक्त शैलीले स्वेत चैत्यलाई ‘युआन राजधानी’ मात्र होइन, सम्पूर्ण पूर्वीय संसारमा बौद्ध कलाको अनौठो र अप्रतिम उदाहरणका रूपमा स्थापित गरेको छ ।

स्वेत चैत्यको संरचना केवल वास्तुकला मात्रै होइन । यो त गहिरो दार्शनिक प्रतीकात्मकताले बुनेको एक जीवित कृति हो । यसको अधोभागबाट माथिल्लो भागसम्म फैलिएका १३ वटा चौडा गोलाकार ढलान सौन्दर्यका स्वरुप बनिरहेको छन् । जसको अर्थ तेह्र स्वर्ग भन्ने रहेछ । जसले सम्पूर्ण स्तूपलाई आध्यात्मिक यात्रा–मार्ग झैँ सतह–सतहमा विभाजित गर्दै माथि उठाइएको रहेछ । यी १३ तहमाथि पुग्दा शिखरमा रहेको छाता आकृतिको ३६ कास्य विम्ब झुण्डिरहेका छन् । जो हावासँग हल्का नाचिने घण्टीहरूसहित ध्यान, समय र अनन्तताको सङ्गीत झैं प्रतिध्वनित हुदा रहेछन् । यसको एकदमै टुप्पामा रहेको सानो कास्यको प्यागोडा शिखर अद्भुत छ । यो अरनिको कर्मको अद्वितीय हस्ताक्षर हो । स्वेत स्तुपभित्र नेपालबाट लगिएका शाक्यमुनि बुद्धका थुप्रै मुर्तिहरु पनि राखिएका छन् । युआन वंशकालमा बनेको यस चैत्यलाई पछि मिङ वंशकालमा पुनःनिर्माण गर्दा भने मिआवोयिङ भनेर पनि नामाकरण गरिएको रहेछ । जसको अर्थ ‘अद्भुत फल प्राप्त गर्ने’ भन्ने हुदो रहेछ । त्यसकारण चिनीयाहरु यस मन्दिरमा वर माग्दा अद्भुत फल प्राप्त गर्ने विश्वास गरेर वर मागिरहेका पनि हुदा रहेछन् । बौद्ध दर्शन, सूक्ष्मता, सन्तुलन, र कलात्मक बुद्धिमत्ताले गढिएको स्वेत चैत्य जसले ७०० वर्ष पछिसम्म पनि अरनिकोलाई बेइजिङको आकाश रेखामा जीवित राखेको छ ।

अद्भुत कलाका धनि अरनिको हजारौं कृति अझै जिवित

सन् १२२५ मा राजा जयभिमदेवको शासनकालमा काठमाण्डौ उपत्यको पाटनमा जन्मेका थिए । बाल्यकालदेखि नै उनी मूर्तिकला र शिल्पकला क्षेत्रका प्रतिभाशाली थिए । पाटन उपत्यकाको सांस्कृतिक र कलात्मक हृदयभूमि मानिन्छ । जहाँको हजारौँ वर्षदेखि विकसित हुँदै आएको नेवारी हस्तकला, मूर्तिकला र वास्तुकलाले सम्पूर्ण विश्वलाई मन्त्रमुग्ध पारेको पारिरहेको छ । काठ, ढुंगा र धातुका सूक्ष्म कलाकृतिहरूले नेवारी कलाकारको अनुपम प्रतिभा प्रमाणित गर्दछन् । सायद पुख्र्यौली अभ्यासले अरनिकोलाई बालापन मै मूर्तिकला परम्परामा पारंगत बनाएको हुनुपर्छ । उनी मात्र प्रतिभाशाली थिएनन् । उनको नाम तत्कालीन राजा जयभिमदेवको नजरमा पनि परेको थियो । चीनका तत्कालिन सम्राट युयान वंशका संस्थापक राजा कुब्लाई खाको निमन्त्रणामा राजा जयभिमदेवले नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने उद्देश्यले अरनिको जस्ता प्रतिभाशाली युवा कलाकारको टोलीसहित चीन पठाउने निर्णय गरेको हुनुपर्छ ।

युयान राजवंश कालमा करिब ४५ वर्ष उनले त्यहाँ कला कौशल प्रस्तुत गरे । सो समयमा उनले आफ्नो वर्कतले भ्याएसम्म चीनमा अनेकन वास्तुकला प्रस्तुत गरेका थिए । सो अवधीमा उनले स्वेत चैत्य जस्तै ठूला ३ं वटा स्तुप, ९ वटा विशाल बौद्ध मन्दिर निर्माण गरेका थिए । २ वटा कन्फ्युसियस समाधिस्थल बनाएका रहेछन् । एउटा ताओ धर्ममका मन्दिर पनि निर्माण गरेका रहेछन् । अन्य हजारौं मूर्तिहरु बनाएका थिए । स्वेत चैत्य मात्र अरनिकोको योगदानको शिखर थिएन । उनी एक सिद्ध हस्तचित्रकार पनि भएकाले अनेकौं राजपरिवारका चित्र पनि बनाएका थिए । उनले बनाएको तत्कालिन राजा कुब्लाई खा र उनकी रानी छावीको तस्विर अहिले पनि ताइपेइको राष्ट्रिय प्यालेस संग्रालयमा राखिएको रहेछ ।
अरनिकोले निर्माण गरेका प्रमुख स्थलहरूमा दातो मन्दिर (म्बशजबय त्झउभि), अवलोकितेश्वर मूर्तिहरू, स्मारक स्तूपहरू समावेश छन् । दातो मन्दिरमा मुख्य बुद्ध मूर्ति, चारैतिरको देवी–देवताका आकृति, र भित्तामा अंकित शिल्पकला नेपाली शिखर शैलीको स्पष्ट उदाहरण हो । उनले निर्माण गरेका स्तूपाहरू स्थानीय समुदायका लागि केवल धार्मिक स्थल मात्र थिएनन् । सांस्कृतिक शिक्षा र सामाजिक एकता स्थापित गर्ने केन्द्र पनि बनेका थिए ।

उनले आफ्नो प्रशिक्षिण मार्फत धेरै शिल्पकर्मी उत्पादन गरेका थिए जसले नेपाली शैलीको निरन्तरता चीनमा सुनिश्चित गरे । सन् १२७३ मा अलआर्टीसान कक्षाको निर्देशकको रुपमा उनले धेरै चिनीया कलाकारलाई शाक्य शिल्प विद्या समेत सिकाएका थिए भने सन् १२७४ मा उनलाई चादीको थालीमा बाघको चित्र उतार्न लगाइएको थियो । यो चित्र देखेर सम्राट कुब्लाई खा अत्यन्त हर्षित भएर मन्त्रि सरहको उपाधी मानिने डुक अफ लियाङ उपाधी प्रदान गरेका थिए । चीनमा यस्तो उपाधि पाउने अरनिको अति कम विदेशी मध्येमा पर्दछन् । अरनिकोको प्रतिभाले उनलाई मंगोल साम्राज्यको दरबारमा प्रस्तुत गरायो । यसरी उनी अद्भुत कलाकारका साथसाथै नेपालको कला र संस्कृतिलाई चीनमा स्थायी रूपमा स्थापित गर्ने अग्रदूत पनि बने । सो कारण उनी नेपालका विभूति पनि बनेका छन् ।
उनका निर्माणहरू चीनको विभिन्न प्रान्तमा फैलिएका छन् । ती आज पनि नेपाल–चीन सांस्कृतिक आदान–प्रदानको अमर प्रमाण हुन् । ओल्लो सान्सी प्रान्तको वु थाइसानमा पनि उनले बनाएको चैत्य हालसम्म संरक्षित रहेछ । केही वर्ष पहिले चिनको दक्षिण पश्चिमी क्षेत्र सान्नानको भग्नावशेषमा केही भित्तेचित्र फेला पर्दा ७ देखि ८ सय वर्ष पहिले कुदिएका पुराना वुद्धका मुर्तिहरु फेला थिए । यी सवैमा अरनिकोको चित्रकला योगदान रहेको देखिन्छ ।
अरनिको बिबहा, सामाजिक जीवन र देहवसान
कलकारिताको चर्चापरिर्चा सँगसँगै अरनिकोको सामाजिक जीवन पनि चीनमा स्थापित हुन थाल्यो । यही कारण बाहुबल नेपाली नाममा बाट अरनिको बनेका पनि हुन् । उनीमा झट्ट हेर्दा नारी जस्तै देखिने भएकाले चिनीयाँहरु ‘आनिक’ भन्थे गर्थे रे । यसरी चिनीयाले बोलाउदा बोलाउदै उनी अरनिको भए । १७ वर्षको झर्झराउदो उमेरमा चीन छिरेका अरनिको अहिलेको जस्तो हवाई तथा सडक मार्गबाट जोडिएका भए सायद उनले धेरै पटक नेपाल चीन ओहोर दोहोर पनि गर्थे होलान् । घरपरिवार र श्रीमतिलाई पनि लिएर जाने थिए होलान । भेषभुषा, भाषा संस्कृति र चालचलन केही नमिल्ने त्यो ठाउँमा उनलाई पनि सकस त भएकै हुनुपर्छ । सो समयमा उनले धेरै पटक नेपाल फर्कने जमर्को पनि गरेका थिए भनेर इतिहास विद्हरु भन्ने गर्दछन् । तत्कालिन सम्राट र तिब्बती धर्म गुरु फाक्पाले उनलाई नेपाल फर्कन दिएनन् । यसकारण उनले चीनमा विवहा गरे । उनको कार्यहरुको प्रशंसा गरेर सम्मानका खातिर तत्कालिन सम्राटले नै उनको धेरै विवहा गरेको पनि चर्चा रहेछ । नेपालबाहेक चीनमा नै सो समयमा उनले ९ जना महिलासँग विवहा गरेका रहेछन् । जसमा दुइवटी मंगोलियन र बाँकी चीनीया हान जातीका रहेछन् । ती श्रीमतिहरु मध्येबाट उनका ६ छोरा र ८ छोरीहरु जन्मिएका थिए । हुन त पितृसत्ताका चरमशिखरको त्यो समयमा नेपालमा पनि बहुपत्नि प्रथा छदै थियो । कतै कतै उनका १३ वटा श्रीमती थिए भन्ने पनि उल्लेख गरेको पाइयो । यसले उनको चिनियाँ समाजमा गहिरो समावेशीकरण र प्रतिष्ठा सुनिश्चित ग¥यो । त्यसपछि उनी विदेशी पर्यटक, कलाकार मात्रै रहेनन् । चीनका ज्वाईं भए । पारिवारिक सदस्य पनि भए । यसरी उनले चीनमा नै पुरै जीवन विताए । उनको जन्ममिति यकिन नभए पनि मृत्यु तिथि भने एकिन गरिएको रहेछ । सन् १३०६ को मार्च ११ तारिखका दिन ६४ वर्षको उमेर नै उनले मृत्युवरण गरे । करिब एक हप्तापछि १७ मार्चमा नेपाली संस्कार अनुसार चीनमा नै उनको दाहसंस्कार गरियो भनेर चिनीया इतिहासकार छनंचुई पूmको पुस्तकमा लेखिएको रहेछ ।
यहाँ पुगेपछि एउटा विषय भने मनमा आइरहदो रहेछ । ७०० वर्षमा उनका परिवारको संख्या कति पुग्यो होला ? अहिले यहाँ कतिऔं पुस्तामा हिडीरहेको होला ? नाता कुटुम्ब कति पुगे होलान् ? उनका चीनिया सन्तान र नेपाली पुर्खासंगको साइनो सम्बन्ध जीवीत बनाउन पाए कति मज्जा हुदो हो ? यतिका वर्षमा उनका वंशले सायद एक शहर ढाकेको हुनुपर्छ भन्ने मेरो अुनमान छ । चीनमा अरनिको को हजुरबुबा, हजुरआमा र बुबाको नाम समेत लेखिएको रहेछ । उनको हजुरबुबाको नाम मित्र, हजुरआमाको नाम कुन्तिलक्ष्मी र बुबाको नाम लखन भनेर चिनीया लिपीमा लेखिएको रहेछ । अहिले यीनका सन्तानले पाटन मात्रै हैन चीनका धेरै ठाउँ पक्कै ढाकेका हुनुपर्छ । चीनमा पनि म चाहीँ अरनिको सन्तान या वंश हुँ भनेर कोही उभिदा हामीलाई पनि गौरवान्ति बनाउथ्यो नै । तर कसरी ? कसैकसैले लिऊ थर हुनेहरु अरिनिको सन्तान हुन पनि भन्दा रहेछन् । हान जातीभित्र लिऊ थर हुने चिनियाँहरु धेरै संख्यामा रहेछन् । तर यस विषयमा कुनै तथ्य भने पाइदो रहेनछ । अध्येता–अनुसन्धनकर्ता तथा मानवशास्त्रीले खोज्दै जादा त्यो पनि कुनैबेला फेला पार्लान कि !

७०० वर्षदेखी आफ्नो कृति मार्फत बाँचिरहेका अरनिको

स्वेत चैत्यको अगाडि उभिएको अरनिकोको सालिकले पहिलो दृष्टिमा नै नेपालप्रति गर्व र सम्मानको अनुभूति जगाउँछ । हातमा कुचि लिएर, नेपाली टोपी लगाएर ठिङ्ग उभिएका उनका कलिलो मुहाराकृत शलिकले उनको परिचय झल्काइरहेको छ । त्यहाँ पुग्दा हर कोही नेपालीको गर्वले शिर उचो हुन्छ । उनीले भौतिक शरिर छाडेको त सात सताब्दी वितिसके । तर उनका कृतिहरू मार्फत उनी चीनमा अजर अमर बनाइरहेका छन् । मान्छे आफैमा अमर हुँदैन, तर उसको प्रतिभा, सिर्जना र कला–सँस्कारले समय र सीमा पार गरेर अमरत्व प्राप्त गर्न सक्छ भन्ने सजीव उदाहरण बोहेर अरनिको शालिकमा उभिरहेका छन् । ७०० वर्षअघि केवल ६४ वर्षको अल्पायुमा जीवन छोडे पनि, उनका निर्माण र शिल्प आज बेइजिङमा जीवित छन् । प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक समझदारीले पुस्ता, स्थान, भाषा र समय सवै पार गर्दो रहेछ । उनी नेपाल–चीन मित्रताको सेतुको प्रतिक बनेका छन् ।

स्वेत चैत्य भ्रमणका लागि चीन सरकारले नेपाली नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाएको रहेछ । नेपाली टोपी र परिचयपत्रलाई आधार मान्दै मन्दिरमा निशुल्क प्रवेश पाइदो रहेछ । यस कार्यले पनि अरनिको प्रतिको सम्मान र गौरवलाई अझ थप मजबुत बनाएको छ । अरनिकोको कृतिले नेपालको शिर उचो राख्दै, चीनसँगको मित्रता र सांस्कृतिक आदान–प्रदानको पुल बनेको छ ।

अरनिको जस्ता पात्र विरलै हुन्छन् जसले विदेशको भूमिमा पनि नेपाली नागरिक र नेपालको सम्मानमा शालिक बनेर ठडिन पाउँछन् । यो केवल व्यक्तिगत गौरव मात्र होइन, सम्पूर्ण नेपाली प्रतिभाको विश्वसामु प्रतिनिधित्व हो । इतिहास, संस्कृति र कला केवल पुस्ताबाट पुस्तामा हस्तान्तरण हुने भन्दापनि अनुभव, संरक्षण र निरन्तर अध्ययनको माध्यमबाट जीवित रहिरहन्छ । स्वेत चैत्यको प्रत्येक ढुङ्गा, मूर्ति, र शिल्पकला अरनिकोको जीवन, प्रतिभा र नेपाल–चीन मित्रताको अमर प्रमाणको रुपमा रहेको छ । स्वेत चैत्य र अरनिकोको जीवन केवल इतिहासमा मात्रै सिमित छैन । यो त सांस्कृतिक, ऐतिहासिक र कूटनीतिक धरोहरको प्रतिमुर्ति पनि हो । अरनिकोले स्थापना गरेको सांस्कृतिक सेतु र मित्रताको मूल्य आजको नेपाल–चीन सम्बन्धमा स्पष्ट देखिन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर