– अञ्चु सुवेदी
जहाँ तिमीले मलाई लडाएको थियौ,
मेरो खुट्टामा निलडाम बसाउँदै,
हात बाँधेर न्यायको पाठ सिकाउँदै,
मेरो जिब्रो काटेर सत्य बोल्न आदेश दिँदै,
आँखामा पट्टी बाँधेर गान्धारी बनाइदिँदै।
तर अब,
म यहीँबाट विद्रोहको विगुल फुक्न चाहन्छु,
अग्निको शङ्खध्वनि गर्दै,
यो निष्पट अँध्यारोलाई चिरेर,
क्रान्तिको रक्तिम बीज रोप्दै ।
सतीदेवीले आत्मदाह गरेको दक्षको यज्ञकुण्डबाट,
नारीको विद्रोही स्वर बनेर निस्कन चाहन्छु।
तिमीले सभ्यता र संस्कृतिको पाठ पढाइरहँदा,
म आफ्नै मनको आँखीझ्यालबाट संसार बदल्न चाहन्छु,
जहाँ मेरो अस्तित्व मेटिएको एउटा इतिहास छ,
पहिचान हराएको समाज छ।
म उठ्नेछु,
मेरो बाजेले कोरेको आकाश कालो भएको छ,
धरतीमा रगत पोखिएको छ,
मेरी आमाले बोकेको चन्द्रसूर्य,
शान्ति नभएर क्रान्तिले रक्ताम्य भएको छ।
मेरा बाले सजाएका सपनाका आँखा
धृतराष्ट्र बनेका सकुनीहरूले गाडेका छन्।
तर अब,जन्मनेछु
म मौनताको खप्पर फोड्ने बज्र हुनेछु,
पिँजडामा सजाइएको चरा होइन,
गुँड चुडेर निस्कने स्वतन्त्र पखेटा हुनेछु।
मेरो लडाइँ सुनामी बनेर समुन्द्रमा उर्लनेछ,
हावा आगो बोकेर वहने छ
जब म उठ्नेछु,
विद्रोहको विशाल फूल फूल्नेछ,
जहाँ जहर होइन, रहरको खेती हुनेछ।
अब मेरा अक्षरहरू शब्द हुँदै शिलालेख बन्नेछन्,
मेरो सपना यहीँ धरातलमा धड्कनेछ।
“जब म उठ्नेछु,
बुद्धको सम्बोधी आँखाले मलाई देख्नेछ,
त्यो सृष्टिमा म आफ्नो पुनर्जन्म देख्नेछु,
विद्रोहको रक्तिम ज्योति भएर
स्वतन्त्र, अडिग, अविनाशी ।
***
प्रतिक्रिया
-
४
