–  रोशन परियार

अरबौँ ती शुक्रकीटहरूलाई धन्यवाद
जो मलाई बनाउन पोखिए
न्यानो गर्भाशयलाई धन्यवाद
जसले अरूलाई पन्छायो र मलाई भित्र्यायो

ती प्रत्येक सेकेण्डहरूलाई धन्यवाद
जसले मेरो ढुकढुकी चलाउन आफूलाई बन्द गराएनन्
नौ महिनासम्म बसेको प्रेमघर
र धोकेवाज समयको स्वागतलाई पनि धन्यवाद

पहिलोपटक बगेको आँसुले आजसम्म साथ छोडेन
पहिलोपटक छोडेको खित्का आजसम्म फर्किन सकेन
यी दुवैलाई पनि धन्यवाद

देखेको पहिलो दृश्य यादमा रहन सकेन
देखिएको अन्तिम दृश्य यादमा राख्न सकिन्न
यो बीचमा देखिएकाहरूलाई पनि धन्यवाद

पहिलो बोलीमा के बोलियो र कस-कसले हल्ला गरे ?
अन्तिम बोलीमा के बोलिनेछ र को-को मौन रहने छन् ?
पहिलो बोली फर्किन सकेन
अन्तिम बोली फर्काउन सकिन्न
यो बीचमा जे बोलिनेछ, त्यो बोलीलाई पनि धन्यवाद

सुनेको पहिलो आवाज सम्झन सकिएन
सुनिएको अन्तिम आवाज सम्झन सकिने छैन
दोहोर्याएर सुन्न नपाइने ती आवाजलाई पनि धन्यवाद

पृथ्वी टेक्दा पाप नलागोस् भन्न पाइएन
पृथ्वी छोड्दा पुण्य हुनेछ भन्ने पनि होइन
तै पनि धर्तीले टेक्न दियो धर्तीलाई धन्यवाद

आजीवन खुवाउने,
आखिरमा आफैँ खाने आगोलाई धन्यवाद
आरम्भदेखि साथ रहने,
अन्त्यमा हात छोड्ने हावालाई धन्यवाद
उभिन दिएर अन्त्यमा गाड्ने जमिनलाई धन्यवाद
पिएर बचाउने पछि बगाउने पानीलाई पनि धन्यवाद

जीवन मृत्युकै त रहेछ नि
उसलाई पनि धन्यवाद ।

***

प्रतिक्रिया

सम्बन्धित खवर