कवि प्रचण्ड भास्कर कलौनी यतिबेला यो लोकमा छैनन् । २९ बर्षको युवावयमै क्यान्सरका कारण उनको दुखद निधन भएको कुरा सबैमा जानकारी छ नै । युवापुस्तामाझ अत्यन्तै परिचित कवि भाष्करको जन्म वि.सं. २०५१मा बैतडी जिल्लामा भएको थियो । सुदुरपश्चिममा आफ्ना मातृभाषाका कविताहरूले गर्दा चर्चित भएका उनी मुलधारमा छोटा विम्बात्मक चोटिला कविताहरुले गर्दा चर्चित थिए/ छन् । हिन्दी भाषामा समेत उत्तिकै दख्खल राख्ने उनी हिन्दी भाषामा समेत कविता लेख्थे ।

कवि भाष्करको निधनपछि उनका नजिकका मित्रहरू आर्यश, दोस्ताज, कृष्ण कञ्चन लगायतका साथीहरूको पहलमा उनका कविताहरूको संकलन रहेको कृति ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ प्रकाशन भएको छ । यही कृति र कवि भाष्करका बारेमा उनका प्रिय मित्र मध्येका एक कवि आर्यशसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कवि आर्यशको जवाफ;

१, ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ कविता सङग्रहको बारेमा बताईदिनुस न ।

– कवि प्रचण्ड भाष्कर कविताकृत कच्ची रोडसँगैका पक्की चोटहरु उच्च  मानवीय संवेदनाको कृति हो । कृतीको नामजस्तै कविले भोगेका जीवनको अनेकन संवेदनशील आयाम समेटिएका छन् । सरल र सरस शैलीमा लेखिएका कविताहरूले पाठकको मन छुन्छन् । कविताहरू हृदय स्पर्शी छन् ।

२, कवि प्रचण्ड भाष्करलाई कवितामा र कविता बाहिर चिनाउनु पर्दा ?

– कवि प्रचण्ड भाष्कर कवितामा एक उदियमान शक्तिशाली कवि थिए । उनलाई म प्रेमले भन्ने गर्थे प्रचण्ड पनि भाष्कर पनि तपाईं तपाइको नामजस्तै अत्यन्तै आगो कविता लेख्नुहुन्छ । उनी समकालिन युवा कविमा गहिरो कवित्व चेत राख्ने शक्तिशाली कवि थिए । भाष्करलाइ कविता बाहिर चिनाउनु पर्दा उनी “कविता ” थिए  । एउटा  मीठो कविता । मैले धेरैपटक विभिन्न ठाउँमा भनेको छुँ कविता लेखेर मात्रै कवि भइँदैन । कवि हुनलाई छवि पनि चाहिन्छ । उनी छवि सहितका कवि थिए । कसैसँग गुनासो उनको रत्तिभर थिएन । अत्यन्तै आशावादी र सकारात्मक । मैले जीवनमा भेटेका थोरै कविहरुमध्य अत्यन्त शालीन र हृदयसहितका कवि हुन भाष्कर ।

३, कवि प्रचण्ड भाष्करसँग तपाईँ धेरै नजिक हुनुहुन्थ्यो । भुल्नै नसकिने किस्साहरू मध्ये कुनै एक सम्झिनुस न ।

– कवि भाष्कर संग मेरो गहिरो काव्यात्मक सम्बन्ध थियो । हामी एक अर्कालाई खुब पढ्ने गर्थ्यौ । उनी भन्थे म बाँचुन्जेल हजुरलाई पढिरहन्छु सरकार  । खासमा म आफूलाइ भने उनी म भन्दा निकै उच्चकोटीका कवि लाग्थे । उनका कवितामा विविधता भेट्न सकिन्छ र फिनिसिङ पनि । हामी एक अर्कालाई सरकार भनेर सम्बोधन गर्थ्यौ ।

सम्झिनैपर्ने किस्साहरू त बेहिसाब छन । तर म यस अन्तर्वातामा एउटा किस्सा सम्झन्छु हाम्रो पहिलो संवादको । मैले उनको कविताहरू पढिसकेर सार्है प्रभावित भएपछी पहिलो मेसेज गरेको थिँए । फेसाबुकमा हामी साथी पहिल्यै देखि थियौ । मैले भनेको थिएँ कवि साथीहरूबिच तपाईं र तपाइको कविताको निकै चर्चा हुन्छ । त्यस समयमा भाष्करका छोटा तर चोटीला कविताहरु निकै चर्चामा थिए । उनले शालीन जबाफ दिएका थिए – साथीहरू त त्यस्तै हुन त्यसै प्रशंसा गरिदिन्छन, तपाइ भ्रममा नरहनुहोला । उनी त्यस समय सञ्जालमा धेरै समय हराएर फर्किएका थिए । मैले यत्रो एक बर्षभन्दा बढी समय कता हराउनुभाथ्यो त सरकार भन्दा उनले भनेका थिए ” मोबाइल बिग्रिएको थियो, नयाँ मोबाइल किन्नै यति समय लाग्यो सरकार, अनि फर्किएँ ।”

यस्ता हृदयस्पर्शी किस्सा धेरै छन । म भावना बहकिन सक्छु । त्यस्तै अर्को सबैभन्दा मर्मस्पर्शी र अहिले मैले यी उत्तरहरू लेख्दालेख्दै सम्झिएको अर्को किस्सा उसलाई क्यान्सर लागेपछि उसले  गरेको पहिलो भिडियो कल हो । बिरामी छु , मुखमा घाउ छ त भन्दै थिए उनले , बिरामी हुँदाहुँदै पनि मेरो एउटा कविता वाचन गरेर पठाएका पनि थिए । हामीले सोचेका थियौ केही सामान्य बिमारी होला । धेरै समय सञ्जालमा हराएपछि एकदिन एकाएक भिडियो कल गरे ललितपुरस्थित क्यान्सर अस्पताल नजिकैको कुनै एक भट्टीबाट । मनमा असाध्यै उकुसमुकुस भएपछि र कसैले  खालखबर  ,सोधखोज सम्म नगरेको समयमा उनी विक्षिप्त भएर कल गरेका थिए । धेरै पिएका थिए , थप मगाउँदै पनि थिए । त्यही कलमा उनले खुलासा गरेको थिए आफूलाई क्यान्सर भएर र अहिले ललितपुरमा उपचार गराइरहेको । त्यस रात मलाई सँगै , कवि दोस्ताज र कवि कृष्ण कञ्चनलाई पनि कल गरेका रहेछन् । मैले सम्झाइ बुझाइ गरेर सकुशल अहिले सुत्न जानुस् भनेर संवाद टुङ्ग्याए ।

४, यो कविता कृति प्रकाशनको सोच, साथीहरूको योगदान र प्रकाशनका असहजताहरू के के थिए ?

– प्रचण्ड भाष्कर  हरेक पटकको मेसेन्जर संवादमा , फोन संवादमा आफू ठिक भइरहेको र आफूले यो क्यान्सरसँगको लँडाइको संस्मरण लेखिरहेको बताउँथे  । म जित्छु , मैले जितेर देखाउछु , यस्तै सकारात्मक संवाद मात्रै हुन्थ्यो ।  उनले क्यान्सरसँग हारेर   संसारबाट बिदा लिनेछन , मैले यो सोचेकैसम्म थिइन । ढिलोचाँडो उनी निको हुनेछन र हामीलाई उस्तै मिठा चोटीला कविताहरु , आफ्ना कृतीहरू दिनेछन भन्नेमात्रै मेरो पर्खाइ थियो ।  तर बिडम्बना उनी बिते । कयौँ दिनसम्म मलाई पत्याउनै गार्हो भयो । केही साहित्यिक व्यक्तित्वहरूले उनको किताब   प्रकाशन गर्ने र भास्कर स्मृती प्रतिष्ठान गठन गर्ने सम्मका कुरा गरे । जीवनकालमा नामै समेत नसुनेका अनलाइनहरुले आर्टिकल पनि पाए । केही प्रकाशकले अरूले छाप्लान भनेर हतारहतारमा केरमेट आवरण समेत सार्वजनिक गरे उतिन्खेरै । म स्वयमलाइ पनि केही लेख्दिनुहोस न तपाईं त नजिकको साथी भनेर आग्रह पनि गरे । त्यो समयमा त एक होइन दुई होइन तीन चार प्रकाशक नै हामी छाप्छौ भनेर अघि सरेका थिएँ संवेदना क्यास गर्न ।  समय हो वित्दै गयो । मानिसहरूले बिर्सदैँ गए , बिसय सेलाउँदै गयो । पहिले छाप्छु भनेर अघि सरेका सबै प्रकाशक लाखापाखा लाग्दै सम्पर्कविहिन हुँदै गए । हामीले धेरै धेरै नै कोसिस गर्यौ , तर उनीहरूले अनेकन कारण देखाउँदै पन्छिदैँ गए  । अब अहिले त छापिएर बजारमै आइसकेको छ , त्यसैले म नाम लिएर  हिलो छ्यापेर उनिहरुको पनि भात-भान्छामा लात हान्न चाहन्न ! तर म गर्छु भनेका सबैले धोका दिए । मेरो त सुरुवाती सोचाइ के थियो उनी नेपालीसँगै हिन्दीमा पनि उत्तिकै दख्खल राख्थे । उनले हिन्दी भाषामा लेखेका कविताहरू पनि उत्तिकै शक्तिशाली थिए । एक सङ्रह नेपालबाट र एक हिन्दी कविताहरूको संग्रह दार्जीलिङ , सिक्किम तिर बाट गर्नुपर्छ भनेर साथीहरूसँग सल्लाह राख्थे । उनको वाचन पनि अत्यन्तै वजनदार र मौलिक थियो , जौन एलियाहरूको झै उनको आफैले वाचन गरेका भिडियोहरू पनि संरक्षण गरिनुपर्छ भन्ने चाहना थियो । अब त उनको फेसबुक आइडी बन्द भएछ , त्यो कुरा अधुरै रहयो ।
हामीले उनका नजिकका साथीहरू मिलेर त्यही शोकअवधीका दिनहरूमै उनका छरिएका कविताहरू संकलन गर्यौ । उनको परिवारसँग समेत सम्पर्क गरि मोबाइल नोटमा भएका कवितासम्म संकलन गर्यौ । त्यो प्रारम्भिक पान्डुलिपिमाथि धेरै काम गर्यौँ । बर्सौँ बित्दा पनि बोलेका प्रकाशकले  झुलाउने मात्रै गरेकाले हामी साथी सर्कल मिलेरै उनको सङ्ग्रह अब त ल्याउनुपर्यो भनेर आँट्यौ । यो सङ्ग्रह नल्याउँदा सम्म हामी साथीहरूमा एउटै मात्र हीनताबोध भैरहन्थ्यो , हामीले यत्ती पनि गर्न सकेनौ साथीको लागि भनेर । अन्तत : केही हितैषी साथीहरूको आर्थीक सहयोगमा यो किताब प्रकाशित भयो । यसमा कविता संकलन र पाण्डुलिपि बनाउने समयदेखि अहिले प्रकाशित गरेर बजारमा फैलाउनेसम्म कवि मित्र दोस्ताजले  प्रत्यक्ष अग्रणी भूमिका खेलेका छन । उनलाई श्रेय र हार्दिक धन्यवाद नदिनु अन्याय हुन जान्छ ।

५, प्रचण्ड भाष्कर हामीमाझ रहेनन । उनले कवितालाई के के दिए ? उनका अन्तिम क्षणहरू कस्ता थिए?

– प्रचण्ड भाष्कर अब हामी माझ छैनन् । तर उनले छोडेर गएका कालजयी कविता हामीमाझ रहिरहनेछन । उनले कविता छोटा – लामा हुँदैनन् , हरेक कविता पूर्ण हुन्छन ।  थोरै शब्दमा पनि धेरै गहिराई दिन सकिन्छ भन्ने चेत दिएका छन ।
उनको अन्तिम दिनहरू सार्है पीडादायी थिए । अब उनी हामीमाझ रहेनन , यो पीडादायी सत्यलाई पनि हामीले स्विकार्नुको विकल्प छैन । त्यसैले मैले यहाँ केही त्यस्ता प्रंसगहरू लेख्दैछु , जुन म कहिल्यै लेख्दिन होला भनेर सोच्थे । म यथार्थवादी बन्दै छु सायद । उसो त लुकाउनु पर्ने पनि अब के नै रहयो र । त्यस दिनहरूमा मेरो किर्तिपूरमा क्याफे थियो । मेरो अंकलको घर छ किर्तिपूरमा , म आउँदा तपाइलाई भेटछु त भन्थे तर यो कुरा यसै बितिरहेको थियो । उनी अरूलाइ दुख दिने, चर्चा चाहने र अरूसँग गुनासो राख्ने कहिल्यै गर्दैनथे । उनी उच्च संवेदनशील कवि थिए । आफ्नो काव्य साधनामा लिप्त थिए । सायद साथीहरूलाई दुख नदिउँ उनको चाह हुँदो हो । उनी आउँदा पनि खबर गर्दैनथे । एकदिन मैले यसै देखेँ क्याफेबाहिर उनलाई । उनी नै हुन लागेर बोलाएँ पनि । त्यो पहिलो भेट थियो । निकैबेर गफियौ । उनको मुख क्यान्सरले गर्दा निकै क्षतविक्षत थियो त्योबेला । उनी सुनाउथेँ, कविता किताब प्रकाशन गर्छु सरकार म अब । म पनि अब ल्याउनुपर्छ भनेर जोडबल गर्थे । सुरुमा मुखमा सामन्य घाउ देखिएको र पछि ठूलो हुँदै गएको उनी बताउथे । आफू अझैसम्म परिवारमै आश्रीत रहेको र जचाँउन जाँदा पाँच हजार रुपैयाँ लाग्ने भएपछि  परिवारलाई किन दुख दिनु सानो घाउ होला बिस्तारै निको भैहाल्ला नि भनेर नगएको कुरा उनी दु:खसाथ बताउँथे । यही सोचेर समयमै जँचाउन  नजानू नै ठूलो भुल भएको उनी सुनाउथे । घाउ देखिएपछिको उनको आफ्नो जन्मदिनमा  घर परिवार उत्वसको मुडमा हुँदा उनी चाहिँ पीडा र दुखाइले हृदय मुर्छित भइरहँदा  पहिलोपटक आफूलाई क्यान्सर भएको र म अब कति नै बाँचुला र भनेर परिवारलाई सुनाएको उनी बताउथे । परिवारले थाहा पाएपछि उनको उपचारको पहल भयो । कच्ची रोडसँगै पक्की चोटहरू बोकेर बाँचेको कवि परिवारलाई अतिरिक्त भार थोपर्न चाहँदैन थिए । यसैपनी करोडपती रोडमा आउने क्यान्सरजस्तो महँगो र जटिल रोगाको उपचार उनको सामन्य परिवारलाई पनि उपचार खर्च जुटाउन गार्है थियो । उनी , परिवारलाई बोझ नहोस भनेर केही पटक आत्महत्याको प्रयास गरेको किस्सा सम्म   दुखित हुँदै सुनाउँथे । क्यान्सरसँग लडदालडदा थकित भएर दुखित भएर किमोले थिलोथिलो पारेर दुखाइ कम गर्न र ओभरथिन्किङ, सुसाइडियल थट आउन नदिन मानसिक तनाव कम गर्न एउटा चुरोटमा आधा चुरोट गाँजा भरेर गाँजा तानेर सुत्ने गरेको पनि उनी सुनाउथे ।  देवकोटाले समेत क्यान्सर हुँदा मलाई कसैले पोटासियम साइनाइड दिए निकै भलो हुनेथियो त्यसै भनेका थिएनन् । यसको दर्द सहनु भन्दा बरू मानिस इच्छामृत्यु चाहन्छ । तरपनि म आत्मविश्वास बलियो बनाउनुहोस सरकार तपाईं छिट्टै निको हुनुहुनेछ भन्थेँ । मैले जीवनमै सबैभन्दा ठूलो भुल गरेको पश्चाताप अहिले गर्दैछु, जस्लाई जे कारणले क्यान्सर भएको हो म उसैसँग बसेर चुरोट पिइरहेको थिएँ । नपिउनु भनेर सम्म भन्न सकिँन उनको दुखित अवस्था देखेर । म तपाइसँग मात्र हो सरकार अब ठ्याक्कै छुँदै छुँदिन मैले क्यान्सरलाई जित्नु छ भन्थे । उनी नेपालमा राम्रो उपचार नभएपछी भारत पनि गए । हरेक संवादमा आफू तपाइहरुकै मायाले ठिक भइरहेको र क्यान्सर जितेरै आउने बाचा गर्थे । उनले अस्पतालको शैय्याबाटै आफ्नो अन्तिम कविता  पनि लेखेका थिए “म्याद सकिएको औसधि” , जुन अत्यन्तै मर्मस्पर्शी थियो । मेरो स्मरणमा रहिरहने एउटा कुरा उनी विश्रामलिनु चार पाँच दिन पुर्व एउटा मुस्कानसहितको पुरानै तस्वीर राखेर ” उत्तर कोरियाले पनि बनाउन नसकेको मिसायल पडकिनुपुर्व ” क्याप्सन लेखेर फेसबुकमा राखेका थिए । उनी जाँदाजाँदै पनि मानिसहरुलाई जीवनप्रती कृतज्ञ रहनुपर्छ भन्ने प्रेरणा दिएर गएका थिए । म अब जान्छु भन्ने मृत्युवोध कविलाई भैसकेको थियो सायद , त्यसैले लेखेका थिए – ” मै दर्द कि हद दिखना निकंला हुं नरकके राश्ते , कृपया मेरी मौत पर ना लिखें स्वर्गीय कोई” ।

हामीलाई  उनले  क्यान्सरसँगको लँडाई जित्नेछन नै लाग्थ्यो तर अकस्मात विपरित अप्रिय खबर आयो । उनको उपचार्थ सहयोग स्वरुप साहित्यिक सर्कलमा केही सहयोग संकलन पनि गरिएको थियो । संस्थागत र ब्यक्तिगत तवरबाट पनि गरिएको थियो  । दोस्ताज र मैले आफ्नो इबुक पनि विक्रीमा राखेका थियौ र संकलित  रकम उसैलाई सहयोग गरेका थियौ । सहयोगार्थ कार्यक्रम पनि गरिएका थिए  । पछि केही व्यक्तिले अस्पतालमा  मृत्युसँग जुधिरहेको मानिसको उपचारार्थ उठेको सहयोग रकमै पचाएर सर्म्पर्कविहिन भए। त्यो सम्मका घटना पनि भएको थियो।

उनी आफूलाई भारतमा जन्मिएको भए ठिक हुनेथियो भन्थे । उनको रुचि भारतीय साहित्य र चलचित्रमा बढी थियो । निको भएपछी म मुम्बै जान्छु सरकार भन्थे । उनी नेपालीमा भन्दा हिन्दीमा लेख्न तुलनात्मक बढी रुचाउँथे ।

अन्तत !  कच्ची रोडसँगै पक्की चोटहरू बोकेर बाँचिरहेका कवि  हामीबाट बिदा भए ।  धेरै शिर्षकहरू विकल्पमा थिए  तर पनि उनको कविता कृतिको शिर्षक मैले यही नै जुराएँ ।
उनी नरहे पनि आफ्ना कविताहरूमा बाँचिरहनेछन उनी । म भित्र एउटा प्रचण्ड भाष्कर सधैं सधै बाँचिरहनेछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर