– यात्रीप्रकाश पाण्डे

गजल १,
टाढाबाट प्रहार गरेर तिमिले जित्न ढिलो हुन्छ
मेरै काँधमा बस यो टाउकोमा हान्न सजिलो हुन्छ

आफ्नाले चोट दिए भनेर किन दुखी बन्नुभएको ?
फलामले जति पिट्यो उति फलाम धारिलो हुन्छ

लुटिनेहरु रुँदैमा यो दुखीको देश हो नठान्नु
लुट्नेहरुको अनुहार यहाँ सँधै हँसिलो हुन्छ

मायाले सँधै खुशी दिन्छ भनेर कहिल्यै नसोच प्रिया
सँधै मह खानेको मन त बेलाबेला अमिलो हुन्छ ।

पीडामा छु भन्दैमा सक्कियो भन्न कसरी सक्यौ ?
डढेलो लागेकै जमिन अन्तभन्दा मलिलो हुन्छ ।

एकछिनमै सुकेर जान्छ जताततै बढार्ने खहरे
बगरलाई हेर्नुस् बढारिएरै कति फराकिलो हुन्छ !

गजल २,
बनाउनेले बनाइदियो नालायक के लाग्छ
लडाई लडुन्जेलसम्मको नायक के लाग्छ

बन्दुक बोक्ने हातले मल्हमपट्टी समाउँदैछु
दुश्मनकै घाऊ भएपछि पीडादायक के लाग्छ

काम नजाने पनि कोटामा छिर्नेहरू हाकिम छन्
म पनि त छु कार्यालय सहायक के लाग्छ

भेट्न आउनेलाई पनि मलामी आए‌झै लाग्दो हो
मेरो मृत्यु र घाटमात्रै छ घरपायक के लाग्छ

त्यो प्रतिष्प्रर्धालाई नै तिमीले उपलब्धी मान्नु
ऊ आफै उम्मेद‌वार आफैं निर्णायक है लाग्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर