– तारा दिप्साली राई
मुक्तक १
अन्जानमा हैन जानीजानी गरें
घाटाको व्यापारमा लगानी गरें
लाग्थ्यो सब ठिक गर्छु सम्हाल्छु
ऐले आएर थाहा भो नादानी गरें ।
मुक्तक २
उठ्नेलाई उठ्न देउ बस्नेलाई बस्न देउ
आ-आफ्नै खुसी हो खुसीले पस्न देउ
समस्या त जून खस्यो भने हुने हो महोदय
जाबो तारा न हो खस्छ भने खस्न देउ ।
मुक्तक ३
तिम्रो मन अनि शहर देखि टाढा भएको मान्छे म
अरूलाई के भनौ खै आफै संग हारेको मान्छे म
सागर झैं बगेर गयौ कहाँ भेट्न सक्थें तिमीलाई
कठै हात खुट्टा सबै काँटिएर फालेको मान्छे म ।
मुक्तक ४
कैले सम्म झुटको खेति गर्छौ तिमी
सोझो मनलाई ढॅाटि ढॅाटि छल्छौ तिमी
डोको भित्र फस्दा मुल्य चुकाउनु पर्ला
थुम्सेमा नै कैले सम्म पर्न सक्छौ तिमी ।
मुक्तक ५
फूल नै भए भए पनि बोटबाट झरे पछि बढार्नु पर्छ
नजिक मनको जतिसुकै किन नहोस् माया मार्नु पर्छ
आँगनकै सँधियार दाजुभाईको घर भएता पनि
आफ्नो घरको सुरक्षाको निम्ति बार बार्नु पर्छ ।
***
प्रतिक्रिया
-
४
