– नारायण अधिकारी
थालनी
कवि श्री लालगोपाल सुवेदीज्यूको कृति “चेतना प्रवाह” गद्य शैलीमा आएको दोस्रो कविताकृति हो । योभन्दाअगाडि “….अनि प्रतित्यसुमत्पाद” भनेर लामो कविताकृति पनि आइसकेको छ । चानचुन एक वर्षको छोटो समयमा फेरि अर्को लामो कविताकृति आउनु पक्कै पनि नेपाली कविता साहित्यका लागि ठूलो उपलब्धि हो । यसमा कविले अथक श्रम गर्नुभएको प्रस्ट छ ।
कवितामा कविले नेपाली साहित्यको इतिहास चौधौं शताब्दीबाट “खसहरूको हुड्ढारमय पदचाप, नेपालमण्डलसम्म गुन्जन्छ, घन्कन्छन् छत्तिस नगरा, सायद नेपाली काव्यको कखरा चौधौं शताब्दीबाट सुरु हुन्छ ।” भनेर भएको हो भनेर इतिहासको उत्खनन् गर्नुभएको छ ।
मानव समाजमा साहित्यको विकास भाषाको उत्पत्ति भएपछि मात्र भयो तर सङ्गीत सृष्टिसँगै जन्मिएको हो । प्रकृतिजन्य ध्वनि तरंगले सङ्गीतको उत्पादन गरिरहेको हुन्छ ? बतास चल्दा, चराचुरुंगी कराउँदा, खोलानाला सुसाउँदा स्वभाविक सङ्गीतको प्रवाह भएकै थियो । यसैगरी, मानव समाजमा भाषा साहित्यको विकास पूर्व प्राचीनकालदेखि नै वृक्षका पातहरूलाई मुखमा हालेर मानिसले ध्वनि सिर्जना गर्न सिकिसकेका थिए । त्यसैगरी, बाँसका साना साना प्वाल भएका हाँगाहरूबाट सङ्गीतको धुन निकालेका थिए । त्यसका लागि मुरली, बाँसुरी जस्ता साधनहरू साहित्यको खोजअगाडि नै भइसकेको थियो । “हाम्रा आदिम सङ्गीत आज पनि कर्णालीतिर घन्किरहेछ । हाम्रा आदिम गीत आज पनि कर्णालीले गाइरहेछ । हाम्रो आदिम गीतको रन्को उच्च हिमालबाट आइरहेछ, हिमनदी र खोलाबाट आइरहेछ, जङ्गलबाट आइरहेछ ।” भन्दै ती ध्वनिहरूमा “ए कर्ड”, “ई कर्ड”, “जी कर्ड” अर्थात् “धैवत”, “पञ्चम”, “मध्यम”, “सा नि ध प”, “सानि निध धप” जस्ता सङ्गीतका प्राविधिक शब्दावलीहरू राखी हाम्रो प्राकृतिक सङ्गीतलाई काव्यात्मक रूप दिनुभएको छ कविज्यूले । सङ्गीतको स्वरूप त प्रकृतिमा पहिल्यै थियो, त्यसलाई मानिसले धेरैपछि मात्र “सारेगमपधनिस”मा सूत्रबद्ध गरे भन्दै कृतिभित्र को हुन् हाम्रा आदि–गीतकार ? को हुन् हाम्रा आदि–गायक ? को हुन् हाम्रा आदि–सङ्गीतकार ? भनी कन्चनजंघा, कोशी, कर्णाली, गण्डकी र नदीकिनारलाई प्रश्न गरेका छन् । प्रकृतिबाट उत्पन्न साङ्गीतिक प्रश्नहरू प्रकृतिका तिनै अवयवहरूलाई सोध्नुपर्छ, तिनैले त्यसको उत्तर दिनेछन् ।
सारेगमको अर्थ
जीवन मानिसले जानेर वा नजानेर बाँचेको हुन्छ । जीवनको लय के हो ? जीवनको गति, चरित्र, निर्माण, यात्रा, उद्देश्य, गन्तव्य के हो ? धेरै मानिसलाई थाहा हुँदैन । थाहा पाउने थोरैले पनि स्पस्ट परिभाषा गर्न सक्दैनन् । त्यसैले जीवनको एकमुष्ट परिभाषा हुँदैन । जीवन वस्तु हो भनेर मान्दा यसको वस्तुता भेटिँदैन । केवल प्रतीति भएको कुरामा मानिसले आफ्ना धारणा बनाउँदै जान्छन् । त्यसैले हरेक मानिस जीवनको परिभाषा खोज्दछन् तर कसैले परिभाषा भेट्न सक्दैनन् । सङ्गीतमा सारेगमको अथाह रूप जस्तै हो जीवन र यही नै जीवनको सारेगम पनि हो ।
कवितामा सारेगम
उकालो चढ्नु वा ओरालो झर्नु कुन सजिलो होला ? सामान्यतया भनिन्छ आरोलो झर्न सजिलो छ । तर यथार्थमा यो सत्य होइन भन्दै कवि अगाडि लेख्छन्— हिमालका चुचुरा, हिमनदीलाई अवगत भएको तथ्य “उकालो चढ्नुभन्दा कठोर छ ओरालो झर्न ।” सगरमाथा कैयौं विजेताहरू चुचुराबाट ओर्लने क्रममा जीवन गुमाएको तथ्यले “उकालो चढ्नुभन्दा कठोर छ ओरालो झर्न” भन्ने कुरालाई पुष्टि गर्न खोजिएको छ । अर्को दृष्टिकोणबाट हेर्दा “उकालो चढ्नुभन्दा ओरोलो झर्नु कठिन” भन्ने तथ्य एउटा विरोधाभासको रूपमा खडा भएको पनि देखिन्छ ।
सङ्गीतको सारेगम मेरो शून्य जानकारीको विषय हो । तर हिमाल आरोहण र अवरोहणको लयमा एउटा गोडामा जीवन र अर्को गोडामा मृत्युको “सा रे ग म प ध नि सा” अथवा “सा नि ध प म ग रे सा” षडज, ऋषम, गान्धार वा धैवत हो कि ! भन्दै यही लयको झंकारमा चल्ने डाँफेलाई आफू डाँफे हुनुको बोध नभए पनि यिनीहरू यही लयको गीत भएर बाँचेका छन् । बोधविनाको जीवन पनि सङ्गीतमय छ, आनन्दका साथ पंक्षीहरू खुसीसाथ बाँचेका छन् । कति कुरा थाहा पाउनुभन्दा नपाउनुमा पनि जीवन आनन्दमय छ कि, खै ! कविको चेतना यस सन्दर्भमा सन्देहात्मक छ !
कर्मका कुरा
मानिसले बाँच्न कर्म गर्दछ । ऋण भए पनि धन भए पनि कर्मले मानिस बाँच्दछ । कर्मले घैया, मकै, कोदो, गुन्द्रुक फलाउँछ हातमा ठेला उठुन्जेल ढिँडोको लागि । कर्मको उद्देश्य भनेको साहुको लागि, आफ्नो लागि, छोराको लागि, नातिको लागि । ती सबै कर्ममा फलहरू मिठो खुवाउन घोडा, खच्चर, भेडा च्याङ्ग्रा, चौंरी चढेर आउँछन् जीवनको लयमा सारेग, मपध, धपम, गरेसा, मगरेसा, सानिधप, पधनिसा, सारेगम थप्दै । कर्म र कर्मले ल्याउने कर्मफल चाहे दुःख होस्, सुख होस्, धन होस्, ऋण होस्, पुगोस् नपुगोस् यी सबै आखिर जीवनका सङ्गीत हुन् ।
यस सन्दर्भमा नेपालका अति विकट क्षेत्रहरू कर्णाली, डोल्पा आदिमा बसोबास गर्ने मानिस र राज्यका बिच कुनै नाता छैन । काठमाडौं सभ्रान्तहरूको स्थान हो, राज्य हो तर उसले आफ्नै देश चिन्दैन, आफ्नै अङ्गहरू देख्दैन । कदाचित् देखिहाल्यो भने त्यहाँका डोल्मा र मिङ्माहरूको दुःख र पीडाहरूको बोध काठमाडौं, अथवा भनौं राज्यले गर्न सक्दैन । कर्णाली र डोल्पाको सारेगमको आर्तनाद र काठमाडौंको सारेगमको मस्तीले दिने राग विपरीत हुन्छ । इतिहासले पढाउने सूत्र, प्रकृतिले पठाउने ऋतुहरू, घाम जून आउँदा सबैका लागि उस्तै भएर आउँछन् तर तिनले राग सबैका लागि एउटै हुँदैन । शहरले सुखको अमृत पिउँछ, गाउँले दुःखको विष । त्यसैको एउटा नतिजा हो अञ्जन बाबुले गाएको सुमधुर गीत—
त्यता के के हुँदै छ यता बाढी पसेर
हेर हामी दुःखीकै खायो मुटु–कलेजा
चरी लैजा समाचार
हामी भयौँ बेघरबार
चरी लैजा समाचार हामी भयौँ बेघरबार … !
यसको मतलव जीवनको सारेगम सधैं एकैखालको हुँदैन । यो दर्दनाक र घातक पनि हुनसक्छ । मानिसले बनाएको सुन्दर बस्ती एक झट्कामा बाढीमा रूपान्तर हुनसक्छ, पहिरोले बस्तीको सारेगमलाई भताभुङ्ग पारिदिन सक्छ । उपर्युक्त गीतको आशय पनि त्यही हो, गीतमा जीवनको सारेगम दर्दनाक भएर प्रतिबिम्बित भएको छ ।
सामाजिक चरित्र
कवितामा एक ठाउँमा लेखिएको छ, कोशीमा पानीको सतह बढेपछि सबै ढोका खोलिन्छ । यसपछि सुरु हुन्छ पानीको ताण्डव । एफ.एम.हरूमा समाचार आउन थाल्दछ–
“सप्तकोशीमा निरन्तर पानीको बहाव बढेपछि,
कोशी ब्यारेकका छपन्न वटै ढोका खुल्ला गरिए
…. म्याग्दी, रुवामा आएको पहिरोले
एकै परिवारका पाँच जनाको मृत्यु
धर्मबहादुर बि.क.
राममाया बि.क.
नवीन बि.क.
राजन बि.क. ….. हार्दिक श्रद्धाञ्जलि ।”
अलि मुन्तिर लेखिएको छ, “उमबहादुर गुरुङ र खुमबहादुर गुरुङलाई पहिरोको चपेटाबाट उद्धार गरियो ।”
यहाँ मेरो प्रश्न, के बाढी पहिरोले दर्जी वा बि.क.हरूलाई मात्र चपेटामा लिन्छ ? लिँदैन । प्राकृतिक विपत्तीले मानवीय सामाजिक संरचनामा भेदभाव गर्दैन । यहाँ कविभित्र रहेको परम्परागत सामाजिक र साँस्कृतिक विभेदपूर्ण चरित्रको अवशेष भेटिन्छ र बाढी पहिरोमा परेर हार्दिक श्रद्धाञ्जलि हुनेहरू बि.क.परिवार परेका छन् । यो मनस्थिति संसारका सबै मानिसमा केही न केही, कतै न कतै रूपमा अवतरित भइरहेको छ । के धर्मबहादुर बि.क.को ठाउँमा धर्मबहादुर क्षेत्री, राममाया बि.क.को ठाउँमा राममाया थापा, नवीन बि.क.को ठाउँमा नवीन जोशी, राजन बि.क.को ठाउँमा राजन सुवेदीहरू बाढीको चपेटामा किन परेनन् ? उद्धार हुँदा पनि कुनै बि.क.को उद्धार भएन, गुरुङको उद्धार भयो । यसको कारण के हो भने मानिस जुन समाजमा हुर्किएको छ, उसको चेतना पनि सामाजिक परिवेशकै सापेक्षतामा निर्माण भएको हुन्छ । कर्मले सिर्जना गरेको पेसा पछि गएर जातमा रूपान्तर भएपछि पेसाकर्मीहरू जातीय भेदभावमा परेर सामाजिक विभेदको अवस्था सिर्जना भएको हो । यो कविको दोष नै हो म भन्दिन, तर सामाजिक चेतनामा पुनर्जागरणको खाँचो भने औंल्याउन चाहन्छु ।
इतिहास, धर्म र सँस्कृतिका कुरा
कवितामा इतिहासको कुरा पनि जोडिएको छ । राजा यलम्बर र यलम्बर बाजाले दिने ऐतिहासिक र साँस्कृतिक पक्षलाई देशको सारेगममा जोडिएको छ । देशको इतिहासमा साँस्कृतिक पक्ष जोडिने नै भयो । कथा, गीत, हेच्छाकुप्पा, रिसिया, मुन्धुम हाम्रा ऐतिहासिक साँस्कृतिक धरोहर हुन् । हाम्रा धर्म संस्कृतिले भूमिपूजा तथा प्रकृतिपूजा सिकाएको छ । याङ्वा, रुइवा, खुवालुङ आदि हाम्रा प्राकृतिक तथा साँस्कृतिक सम्पदा हुन् भने किराँती गाउँ हाम्रो जातीय संस्कृति, भूगोलको पहिचान हो । यिनीहरूकै गीत गाउने हाम्रो परम्पराको कविले यहाँ वर्णन गर्नुभएको छ । खुवालुङ भनेको सुनसरीको चतराभन्दा माथि सप्तकोसीको बिचमा रहेको रक्षाका देवताको रूपमा पुजिने ढुंगा हो जसलाई कुनै भेलबाढी बगाउँदैन । यो हाम्रो किराँती धार्मिक–साँस्कृतिक परम्पराको सारेगम हो । यस्ता ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेका धरोहरलाई बेलाबेलामा सरकारले केके केके नाममा भत्काउन खोजेको कुराप्रतिक सगज गराउँदै सरकारलाई खबरदारी गरिरहेका छन् किराँती तथा त्यस सभ्यताका बासिन्दाहरू ।
इतिहास र सँस्कृतिको महिमा वर्णन गर्दा साँस्कृतिक बिम्बहरूलाई कहिले श्रृङ्गार रसमा रतिभाव, करुण रसमा शोकभाव, हास्य रसमा हासभाव, शान्त रसमा वैराग्यभाव, अद्भूत रसमा आश्चर्यभाव, रौद्र रसमा क्रोधभाव, वीभत्स रसमा घृणाभाव, भयानक रसमा भयभाव र वीर रसमा उत्साहभावमा प्रस्तुत गरिएको छ । यिनीहरूको वर्णन गर्दा अभिव्यक्तिमा पाइने नवरसहरूको प्रयोगसहित तिनीहरूको सारेगम कोरिएको तथ्य एकदमै पठनीय छ ।
यस्तै ऐ्तिहासिक सतीढुङ्गा, योगमाया न्यौपाने, बालागुरू षडाननको स्मरण गर्दै मदन भण्डारीको गाडी दुर्घटना भएको स्थान दासढुङ्गालगायत नारायणहिटी दरवारलाई ल्याएर ती सम्बन्धित ऐतिहासिक व्यक्तित्वहरूसँग संवाद गरिएको स्मृति छ । कोतपर्व, भण्डारखाल पर्व, शहीद पर्व, लाइब्रेरी पर्व जस्ता हाम्रा श्यामश्वेत इतिहासका पानाहरूलाई नपढी कसरी देश बुझिन्छ ? अतीतदेखि वर्तमानसम्मका इतिहास, धर्म र सँस्कृतिलाई काव्यमा बुनेर ठीक ठीक ठाउँमा ठीक ठीक पात्रहरूलाई खडा गर्नु कविको कला हो, बधाई छ कविवर लालगोपाल सुवेदीज्यू ।
साहित्य र कला प्रसङ्ग
नेपालीको चिनारी कहिल्यै नहार्ने जाति पनि हो । यसलाई व्यङ्ग्यात्मक अर्थमा डम्फूमा नाच्ने च्याङ्बाको कम्मर ढाकरले भाँचेको भनेर आफ्नै देशभित्र श्रम गर्ने ढाकरेको परिश्रमको सारेगम भाँचिएको छ । उसो त महाकवि देवकोटाको जीवन पनि उनको व्यक्तित्वअनुसार बितेन । आजीवन अविवाहित रहेर साहित्य साधना गरेकी पारिजातको जीवनले पनि बाँच्दासम्म शान्ति पाएन । भाडाको कोठामा बसेर जीवन बिताउनुप¥यो कोइलीदेवीले । भक्तराज आचार्य जस्ता स्वरका बादशाहको जिब्रो काट्नुप¥यो । कालिगडी कलामा निपुण कालिगडको दाहिने हात काटियो, पछि देब्रे हातले कालिगडी गर्न थालेपछि त्यो पनि काटियो । अनि खुट्टाले कालगडी गर्न थालेपछि दाहिने र अन्तमा देब्रे खुट्टा पनि काटियो । एक व्यक्तिका दुई हात, दुई खुट्टा भए पनि कलम समाउने, कुची समाउने, मूर्ति कुँद्ने, बजा बजाउने, गीत गाउने, पलामी गाउने, बाटो पुलपुलेसा बनाउने, लुगा सिउने, जुत्ता बनाउने, कम्मर भाँची भाँची नाच्ने यी सबै एक भगवातीका १८ हात भए जस्तै देशका १८ हातहरू हाम्रा साहित्य र कलाका सारेगम हुन् । लेखकका लागि उसको कलम, गायकका लागि उसको जिब्रो, कलाकारका लागि उनीहरूको हात देशका सारेगम हुन् । यस्ता खोज गर्नुपर्ने आन्तरिक विकृतिहरू कति होलान्, खोज्न अझै बाँकी छ । बाह्य पहिचानमा वीर जाति भनेर चिनिएका हामी देशभित्र भने उस्तो विजयी छैनौं । कविको कलमले यही देखेको छ ।
भौगोलिक, सामाजिक, ऐतिहासिक र प्राकृतिक सारेगम
एउटै देशभित्र हिमाल, पहाड र तराई सामान्य भौगोलिक सारेगम होइन । पूर्वपश्चिम मेची महाकाली, उत्तर दक्षिण हिमाल र तराईवेशिष्ठत भूगोल र त्यसभित्र विभिन्न जनजाति, भाषिक वैभव, साँस्कृतिक विविधता देशका विशेषता हुन् । राजधानी काठमाडौं एक साँस्कृतिक संग्रहालय हो । जनकपुरस्थित मिथिला, लुम्बिनी देशकै भूगोलभित्रका साँस्कृतिक र धार्मिक सम्पत्ति हुन् । यसै भूमिमा वेदका मन्त्रलगायत ॐ मणि पद्मे हुूँ, योग ध्यान आदि सुरु भए । हुन त देशभित्रका लयहरू सबै कहाँ एकै हुन्छन् र ? घरभित्र केही सासूआमाले छोरी बुहारीहरूलाई “अलच्छिनी” भनी गाली र अपमान पनि गर्दछन् । मृत पुत्रको मृत्युको कारण बुहारीमाथि थोपरेर “पोइ टोक्कुइ”, विभेदपूर्ण कथिल अछुत जात बनाइएका मानिसलाई देखेर कथित उच्च जातिका मानिसहरू “साइत बिग्रियो” भनेर तिनको अपमान गर्दछन् । विधवा र एकल महिलाहरूलाई “बोक्सी” आरोप पनि हाम्रो समाजमा नलाग्ने होइन । यी चाहिँ देशभित्र तुच्छ र बिग्रिएका लय हुन्, हटाउन बाँकी रहेका सारेगम हुन् ।
देशमा सुधार गर्नुपर्ने धेरै लयहरू पनि छन् । जस्तो फुर्वाले देश छोडी रेगिस्तानको बालुवामा आफूलाई सदाका लागि बिलायो । यो बिम्ब देशको सीमाना काटेर बाह्य मुलुकमा नेपालीहरूले ज्यान गुमाउने पर्ने अवस्थाको चित्रण हो । लाऊँ लाऊँ र खाऊँ खाऊँको उमेरकी मैच्याङलाई पापीको नजरले प्रेमजालमा पारी अन्तमा बलात्कार ग¥यो । यो घटनाले देशमा बलात्कारको शिकार भई मारिएका चेलीहरू चाहे नमिता, सुनिता हुन् वा निर्मला पन्त, ती आपराधिक घटनाहरूलाई सम्झाउँछ । कतिपय छात्राहरू विषय शिक्षकका कोपभाजन परी बलात्कृत भएका छन् । जस्तो ख्याती श्रेष्ठ उनकै शिक्षक वीरेन प्रधानबाट अपहरणमा परी अन्तिममा मारिन पुगिन् । योभन्दा भयानक कुरा हिजोआज नेपाली महिलाहरू वैदेशिक रोजगारमा गएका र दलालहरूबाट प्रताडित भएर बेचिएका घटनाहरू पनि यहाँ छन् । जस्तो कति खाडी राष्ट्रहरूमा घरेलु कामदारमा गएर हाम्रा महिलाहरू त्यहाँभित्रै बन्धक भएको अवस्था छ । यौनदासीका रूपमा उनीहरू पीडित छन् । यो पनि मिलाउनुपर्ने देशको लय हो ।
व्यथितिको विरोधमा कवि एक ठाउँमा आफै पात्र भएर आएका छन् । व्यक्तिले गर्न सक्ने भनेको उसको आफ्नै परिधिभित्रबाट मात्र हो । कविसँग कलम छ, कविता छ, गीत छ र त्यसैबाट कवि गीतको देशमा चरा बनेर बसेका छन् । पृथ्वीभरि रुखैरुख भएर कवि ती रुखमा पातहरू बनेका छन् र चारैतिर चरा बनेर उडेका छन् । आफैं पात्र भएको कवितामा आफ्नै चरित्रचित्रण गर्न खोजेको कुरा कविता साहित्यमा पहिलो प्रयोग हो कि ! गजलमा त तखल्लुस सदियौंदेखि चलेको छ तर गद्य–कवितामा छैन कि जस्तो लाग्छ ! आख्यानमा भने कृष्ण धरावासीले आफ्नो पुस्तक “शरणार्थी”मा आफैं कथाको पात्र बनेर कथामा उपस्थित पात्रहरूसँग संवाद गरेको दृष्य भेटिन्छ । यदि म सही छु भने यो बाटो कवि लालगोपाल सुवेदीज्यूले लामो गद्य कवितामा प्रयोग गरेका छन् । यो एउटा सुन्दर विशेषता हो यस कृतिको ।
कवितामा चरालाई निकै महत्वपूर्ण स्थान दिएको छ । चराको विषयमा भनिएको छ—
चराका गीत
चरालाई आकाश चाहिन्छ
चरालाई बतास चाहिन्छ
चरालाई प्रकाश चाहिन्छ उल्लासका लागि,
उच्छ्वासका लागि चरालाई खोलाको कलकल र जङ्गल चाहिन्छ ।
मान्छेले बनाएको वातावरण
चरा, मान्छे र रुखले बनाएको वातावरण
गाएकै हो वेदले
चरालाई चैत्यका टुँडाल, गजुर, आँखीझ्याल र कलात्मक आँगन
फुकिदिएका छन् चराहरूले
भक्तहरूका अन्तर्आवाज र भगवान्हरूका कान
चराहरू चखेवा–चखेवी बनेर
प्रेम जोडीका प्रेमिल गीतहरू गाइदिन्छन्
हाँस, उल्लू र मयूरहरू देवी–देवताका वाहन नै हुन्
आउँछन् एकाबिहानै कौवाहरू
टौवा–टौवामा शुभ समाचार ल्याउँछन्
मधेसबाट हिमाली प्रदेशतिर उडान भरेको
मैले पनि देखेकै हुँ क¥याङकुरुङ
टाढा–टाढा साइबेरियाबाट पाहुना बनेर आएका छन् चराहरू
अझै पनि हजुरबा हजुरआमाहरू
कर्णालीतिर काँक्रो, फर्सी रोप्ने आएको मौसम सम्झन्छन् ।
कविताका यी पङ्क्तिमा कविले चराहरूको वास्तविक दिनचर्या र जीवनचर्या देखाउँदै मेची महाकाली जाने चराहरू, देश छोडी जाने चराहरू भनेर एक देशबाट अर्को देशमा अवसरका लागि, धन कमाउनका लागि, सुखी जीवन जिउनका लागि एक ठाउँबाट अर्को ठाउँमा, एक देशबाट अर्को देशमा चरा बनेर गएको बिम्ब एकै ठाउँमा मिसाएर प्रस्तुत गर्नुभएको छ । चरा र मानिस पनि मौसम बदलिएपछि बसाइ सर्ने गर्दछन्, थातथलो छोड्दछन् । चराहरू अन्तरदेशीय यात्रा गर्दा उनीहरूलाई कुनै सीमानाले नछेक्ने विषयको उठान गरी यस्तो सीमाना मानिसका बिचमा मात्र रहेको भनेर मानिसले कोरेका सीमानामाथि गतिलो प्रहार गरेको छ । चराहरू त प्रकृतिमा ऋतु परिवर्तनसँग जाने आउने गर्दछन् तर ऋतु परिवर्तनले मानिसका दुःख परिवर्तन हुँदैनन् । थातथलो छोडेर उडेको मानिस यदाकदा मात्र फर्केर आउँछ तथापि यहाँ चराको बिम्बले मानिस र चरा दुवैलाई एकै स्थानमा उभ्याइदिएको छ ।
नेपालको इतिहासलाई पनि कविताले सम्झेको छ । देशको एकीकरणपछि राजेन्द्र वीरविक्रम शाह, साम्राज्यलक्ष्मी, राज्यलक्ष्मी, भीमसेन थापा, रणजङ्ग पाण्डे, माथवरसिंह थापा, गगनसिंह, अभिमानसिंह, फत्तेजङ्ग, वीरकिशोर पाण्डे, देवीबहादुर कुँवर, रणेन्द्र वीरविक्रम शाह, सुरेन्द्र वीरविक्रम शाह, बालनरसिंह कुँवर जस्ता ऐतिहासिक पात्रहरूलाई नछुटाइन समेटिएको छ । यी प्रसङ्गले इतिहासका ती पाटादेखि वर्तमान नेपालको चर्चित होली वाइन काण्डको घटना–विवरणलाई पनि सम्झाउन पुग्दछ ।
साहित्यिक चर्चाको छनोट पनि कविताको विशेषता हो । लेखिएको छ–
कसैले बुनेको कथाको बुनोटमा
कहिले भयानक रसको भोक्ता हुन्छौं
कहिले हास्य रसमा लतपतिएर
खित्कै छोडी हाँसिदिन्छौं
आई.बी. राईको लीला अवधारणाजस्तो
हिजोको राम आजको रामलखनजस्तो
हिजोको कृष्ण आजको कृष्णबहादुरजस्तो
वेद, त्रिपिटक, कुरान, बाइबल, मुन्धुम
अर्कै मुकुण्डो भिरी
तिनको आवरणमा मान्छेहरू आफूलाई प्रस्तुत गर्छन् ।
यस कृतिले तेस्रो आयामको समग्रता, सम्पूर्णता जस्तो अवधारणापछि इन्द्रबहादुर राईको लीला अवधारणाको बिम्ब पनि राखेको छ । कविले हिजोको राम आज रामलखन, हिजोको कृष्ण आज कृष्णबहादुर जस्तो भनेर लीलाबोधी अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
चेतन प्रवाहले “राजामति कुमति जिके वसा पिरती, हाय बाबा राजामति चा, राजामति मबिल धासा काशी वनेतेल बुबा, हया ब्यू राजामति चा ।” भनेर हाम्रो भाषिक विविधतालाई पनि समेट्न भ्याएको छ ।
++
एउटा नागरिकका लागि देशको भूगोल कति मूल्यको हुन्छ ? यसको अनुमान देशको स्वाभिमानको लडाइ लडिरहेका देशलाई थाहा हुन्छ । अरुको उपनिवेश बनेका र स्वतन्त्रताको लडाइ लडिरहेका देश वा लडिसकेका देशलाई थाहा हुन्छ । तिनीहरूको औपनिवेशिक इतिहासले त्यो राष्ट्रलाई वर्तमानमा झक्झक्याइरहेको हुन्छ ताकि भविष्यका लागि सजग हुन सकियोस् । हाम्रो देश कहिल्यै उपनिवेश नबनेको देश हो । हाम्रो इतिहास भनेको टुक्रिएका राजा–रजौटाहरूलाई एकीकृत गरेर बनेको विशाल देश हो । यसका लागि बहादुर शाह, भक्ति थापा, अमरसिंह थापा आदिको अमूल्य योगदान छ । त्यसैले यो देश भनेको झागल गुरुङ, शेख जरवर, रोठे राई, मन गन्धर्व, मणिराम लामा र बिसे नगर्चीको पनि हो । नेवार, लिम्बु, मधेशी, क्षत्री, बाहुन, तामाङ, मगर सबै जातिको साझा भूमि हो देश । जेठमा मकै गोड्न, असारमा धान रोप्नु, साउनमा धान गोड्नु, कोदो रोप्नु आदि हाम्रा भोजनका प्रबन्धहरू हुन् । यी हाम्रा कर्मशीलतालाई यस कृतिमा रोपाईं गरी गोडमेल पनि गरिएको छ र त्यसैको फसल हो चेतना प्रवाह पनि ।
सङ्गीतको सारेगम
नेपाल चीन र भारतबिचको सानो देश भनेर भन्ने र प्रचार गर्ने हाम्रो बानी नै भइसक्यो तर नेपाल सानो छैन । नेपालभन्दा साना कैयौं साना देशहरू विकसित राष्ट्रहरूको तालिकामा छन् तर हामीलाई देशै सानो छ भन्ने लघुताभासले कहिल्यै नछोड्ने भयो । देशको उत्तर र दक्षिणको छिमेकीसँग तुलना गरेर हामी साना छौं भन्ने हीनताले हामीलाई ग्रसित ग¥यो तर हामीभित्र भएका धार्मिक, सामाजिक, जातीय र वातावरणीय लगायत अन्य थुप्रै विशेषताले धनी बनाएको कुरा गर्व गर्न सधैं बिर्सियौं । झलकमान गन्धर्व जस्ता सङ्गीतका पारखीहरूले सारंगीभित्रबाट सङ्गीतको सारेगमलाई बाहिर ल्याई सधैं जीवन्त बनाएको कुरामा गर्व गर्नु भुलिरहेका छौं । हाम्रो जस्तो लोकलयी भाकाका कालजयी गीतहरू शायदै अन्य देशमा पाइन्छन् । झलकमान गन्धर्वको गीत जस्तै–
हे बरै ! दसी धारा पो नरोए आमा
बाँची पठाम्ला तस्बिरै खिचेर
कस्तो लेख्यो नि भावीले, करिम लीला ठैमलौ हजुर ! — २
बाबाले सोध्लान् नि खोइ छोरा ? भन्लिन्
रन जित्तै छन् भन्दिए !
आमाले सोध्लिन् नि खोइ छोरा ? भन्लिन्
रज है खुल्यो भन्दिए !
यस्ता सङ्गीतको कुनै पनि बिकल्प छैन देशभित्र । यस गीतले समेट्न खोजेको कुरा पनि उति नै महत्वपूर्ण छ । यो एउटै गीत परदेशी छोरो अथवा लाहुरेले युद्ध मैदानमा मृत्युवरण गर्नुअगाडि आफ्ना आमा–बुबा, पत्नी, छोरा–छोरी, दाजु–भाउजू, भाइ, दिदी–बहिनी तथा साथीभाइहरूलाई सम्बोधन गरी लेखिएको अन्तिम पत्र हो यो । देशभित्रका नागरिकहरूको आजको हालत पनि यस गीतले भन्न खोजेको कुराभन्दा फरक छैन । कविले यो कुरा भन्नलाई यो गीतको सहारा लिएका छन् । यो उहाँको लेखनकला पनि हो ।
लाहुरे हाम्रो सामाजिक परम्परामा एउटा संस्कृति नै बनेर बसेको छ । २००७ सालभन्दा अगाडि ब्रिटिशले भारतमा शासन गर्दादेखि नै नेपाली युवाहरू ब्रिटिश सेनामा भर्ना भएर भारतलगायत, हङ्गकङ्ग हुँदै बेलायतको मूल भूमिसम्म पुगेका थिए र आज पनि यो सारेगम यथावत् चलिरहेको छ । यी सबै लाहुरेहरूको एकमुष्ट सारेगम हो माथिको गीत ।
यहाँ कविले परदेशीहरूको परदेशमा भएको अवस्थाको बारेमा गुमानसिंह लामाकृत जर्मनेली युद्धबन्दीले गाएको गीत गोर्खाली युद्धबन्दीको लोकभा र कथाबाट सभार गरी चेतन प्रवाहमा जोडेका छन् । त्यो सुन्दर गीत यस्तो छ—
भातैमा पाक्यो ज्यान गुदुगुदु तिहुन त करेला
तपाईंको दन्त दारिमको बियाँ नकले परेला
आकाशै ज्यानको गड्याङैगुडुङ पातालमै असिना
प्यारीको हातमा कुसुसेरुमाल पुछिदेऊ पसिना
++
यस्तै अर्को गीत पनि छ—
टिस्टै खोला बाढीकन बगायो कुन भूलले
जर्मनी देशमा आइपुग्यौ“ हामी अङ्ग्रेजको हुकुमले
एक सुन सुन, सुन लाउने चरी अङ्ग्रेजको हुकुमले
म्लेच्छजनले मोर्चालाई हान्यो पानीमा बुडेर
युरोपको देशमा कति दिन बस्नु मन गयो उडेर
यो गीत चाहिँ कविले जसबहादुर राई, फ्रान्स, गोर्खाली युद्धबन्दीका लोकभाका र कथाबाट साभार गरेका छन् ।
यी सबै प्रसंगहरूको एकमुष्ट निचोड के हो भने झलकमान गन्धर्वको गीतमा प्रतीत भएको कुराभन्दा फरक केही छैन । यो हाम्रो वास्तविक यथार्थ पनि हो । त्यसैले कवि एक ठाउँमा एक भन्छन्, “झलकमानको सारङ्गी हो मेरो देश ।”
सङ्गीत: देशको पहिचान
चेतन प्रवाहले देशको पहिचानबारे पनि बोलेको छ । कृतिले भन्छ, “कवितैकविताको देश मेरो, गीतैगीतको देश मेरो, बजाउँछु डम्फू, नगरा, झ्याली, शङ्ख, घण्ट आदि सङ्गीतका वाद्यवादनले हाम्रो देशको साङ्गीतिक पहिचान दिएको छ । कविताबारे हाम्रो सनातन धर्म शास्त्र ऋग्वेदमा उल्लेख गरिएको छ— कविः कवित्वा दिवि रूपमासजदप्रभुती वरुणो निरपः सृजत् (ऋग्वेद १०/१२४/७) । हाम्रो कवितासाहित्य यसरी वेदबाट प्रारम्भ भएको भन्ने कुरालाई कविले सप्रमाण पेस गरेका छन् ।
अन्तमा,
कवि लालगोपाल सुवेदीज्यूको यो कविताकृति चेतन प्रवाहको बारेमा मैले संक्षिप्तमा प्रयास गर्दा पनि यति हुन गयो । मैले मेरो बुद्धिले भ्याएको लेखें । दोहो¥याएर पढ्ने समय भएन । त्यसो गर्न सकेको भए अझ गहिराइमा जान सकिन्थ्यो । तर यसको पनि संक्षेपमा भन्ने हो भने उहाँले देश र विदेशसम्ममा प्राचीन र आधुनिक सबै विषयवस्तुहरूलाई समेट्नु भएको छ । यसलाई आधार मानेर यसभित्र उल्लेख भएका विषयको बिस्तृतीकरण गर्ने हो भने निकै मोटो इतिहास बन्न सक्दछ । कविताले यसै पनि बिम्ब र प्रतीकमा संकेत गर्दै अगाडि बढ्नुपर्ने भएकोले सभ्यताको लामो इतिहासलाई यति छोटो “लामो कविता”मा टुङ्ग्याइएको छ । समग्रमा, यसभित्र हाम्रो धर्म, संस्कृति, जातीय विविधता, वैदिक परम्परा, गीत, सङ्गीत साथै तिनका लोकभाका र सामाजिक परम्परामा उभिएर विकसित हुँदै गरेको सभ्यतालाई जुरुक्क उठाएर साहित्यमा कलात्मक तरिकाले उतारिएको छ । यस कलालाई यहाँ यो समग्र स्थितिको सारेगम हो । सारेगमको अर्थ यहाँ प्रसंगमा विविध तरिकाले लगाउन सकिन्छ । यस वाक्यमा अहिलेलाई समाज विकासको क्रम हो भन्ने बुझे पनि हुन्छ ।
बाँकी कृतिका बारे हरेक पाठक, समीक्षक–समालोचकहरूले आफ्ना दृष्टिकोणहरू राख्नेछन् । पुस्तक हातमा छ, बजारमा छ र हरेक व्यक्तिका लागि यो जस्तो प्रतीति हुन्छ, त्यस्तै छ । अर्को शब्दमा पाठकहरूभन्दा पर यो नोमिनल (Noumenal) रूपमा छ, जो मानिसको दृष्टिकोणमा आउने बित्तिकै फेनोमिनल (Phenomenal) बन्दछ । यो पुस्तक मानिसको धारणामा आउने एक प्रतीति हो र अलग अलग व्यक्तिका लागि अलग अलग रूपमा नै प्रतीति हुन्छ । त्यसैले, एउटा प्रतीति मैले राखें । अरु कसैले उनीहरूको प्रतीति राख्दै जालान् ।
अब म कृति र कृतिकारको प्रशंसाको लामो पुल बाँध्न चाहन्न । जान्नका लागि कृतिको अन्तिममा “दृष्टिकोण” शीर्षकमा प्रा.डा.अभि सुवेदी, भूमिका प्रा.डा.गोविन्दराज भट्टराईले लेख्नुभएको छ । उहाँहरू साहित्यको विषयविज्ञ पनि भएकोले उहाँहरूको दृष्टिकोण र भनाइले कृतिलाई थप प्रमाणित गर्दछ ।
पुस्तक पठनीय छ, ज्ञानवर्धक छ । पढेर बोध गर्नुहोस् ।
इति …..
***
प्रतिक्रिया
-
४
