– दीर्घराज प्रियसी

गजल १,
कस्ले जोड्यो हातपाउ मुस्कुराएर
बढिरहेको छ बजारभाउ मुस्कुराएर

किन उदास छ यो जीवन सोचिरहेछु
हेरिरहेकोछ मलाई तलाउ मुस्कुराएर

गाउँमा अझै पनि बाटो पुगेको छैन
सरकारलाई चिठी पठाउ मुस्कुराएर

दुःखलाई दुःख भएकोमा लाज लागोस्
दुःखका कथाहरू सुनाउ मुस्कुराएर

खोज्ने बेला पनि मुस्कुराउँदै खोजोस्
शत्रुलाई ठेगाना बताउ मुस्कुराएर

तिमीले दिएका कैयन् घाउहरू मध्ये
सन्चो भइरहेछ एउटा घाउ मुस्कुराएर।

गजल २,
पानी पानी भएन आगो आगो भएन
तैपनि छोरो कहिले आमाको भएन

कहिले हात्ती पस्यो,कहिले बाघ पस्यो
यसकारण पनि यो बस्ती बाक्लो भएन

बेलाबेला झुक्नु पर्यो ठुलो मान्छेले
सानो मान्छे कहिले सानो भएन

करेसाबारीमा फलेनन् तरकारीहरू
करेसाबारीमा मलिलो माटो भएन

उज्यालोको खोजीमा उज्यालो भयो
उ अँध्यारो भईरह्यो उज्यालो भएन

म पागल भइसके यही सोच्दा सोच्दै
यो भएन त्यो भएन यो भएन त्यो भएन।

***

प्रतिक्रिया

सम्बन्धित खवर